अड्गुरीका युवालाई गाउँमै स्वरोजगार : अध्यक्ष अधिकारी

876

अर्घाखाँची अड्गुरी जन्मनुभएका गुणाखर अधिकारी स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिका ७ को वडाध्यक्षमा तत्कालिन एमालेबाट निर्वाचित हुनुभयो । अत्यन्तै सरल, अनुशासित र विकासप्रेमी अधिकारी वडाध्यक्ष भएपछि जनताको विकासमा खटिनुभएको छ । ५ वर्षभित्रमा आफनो वडालाई नमुना बनाउने लक्ष्य अनुसार काम गरिरहुनुभएको छ । अध्यक्ष अधिकारीसंग जननी खबरले गरेको कुराकानी ः

वडाको विकास बजेट कति छ ?
वडाको मात्रै बजेटको कुरा गर्दा वडाको अनुदान ४८ लाख हो । अहिलेको अवस्थामा वडाको भन्दा पनि समग्र पालिकाबाट कार्यपालिकासभा हुंदै एकमुष्ट बजेटको नीति अघि सारेका छौं ।
कार्यपालिका तर्फकोमा आर्थिक विकास तर्फ कृषि, पशु सिचाइमा ११ लाख १७ हजार, पर्यटन विकास ३ लाख ५० हजार, खेलकूद सामाजिक विकासमा खानेपानी, शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई सहित समावेशीको १ करोड २७ लाख ४३ हजार, पुर्वाधार विकासमा सडक, भवन, विद्युत, प्रतिक्षालय, खोपकेन्द्रको लागि ६९ लाख ४४ हजार रहेको छ ।

योजनाको काम कति सकियो ?
समग्र पुंजीगत क्षेत्रतर्फको निर्माण कार्य करिब ८५ प्रतिशत सकिएको छ । काम चलिरहेको छ । भुक्तानी २५ प्रतिशत भएको छ । बांकी काम हुंदैछ ।

कृर्षि र पशुपालनको अवस्था कस्तो छ ?
कृषितर्फ पशुपालन वडा कार्यालय गाउँपालिकाबाट कृषि सम्बन्धी काम भैरहेका छन । हाम्रो वडामा विशेष गरी साविकको ६ नम्बर वडा मौलीपोखरामा कृषि हाटबजार शुरु भएको छ । शुरुवात राम्रै छ । साविकको ४ नम्बर वडामा सुन्तला खेती राम्रो फस्टाएको छ । राक्सेपानीमा फलफुल तथा तरकारी खेती शुरु भएको छ । कृषकहरुको चाहना अनुसार डेरीमा लगेर दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर दुई रुपैयां अनुदान दिन व्यवस्था गरिएको छ । भन्ज्याङमा डेरी सञ्चालनमा ल्याइएको छ । दैनिक एक सय लिटर दूध जम्मा हुन्छ । हाम्रै वडाका कृषकहरुले खुकुरेफांटमा अण्डा फार्म सञ्चालन गरी ७÷८ जनाले रोजगारी पाएका छन ।

अडगुरीवासीहरुलाई व्यावसायीकरण गराउन वडाले प्रविधिमैत्री सामाग्रहरु उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । आगामी दिनमा अनुदान र बिक्रीका आधारमा अनुदान दिने व्यवस्था मिलाइनेछ । यो आर्थिक वर्षमा प्रदेश, गापा र वडाको कार्यक्रम ९८ लाख बजेट विनियोजन गरी बोयर बाख्रा कार्यक्रम सञ्चालन गर्दैछौं । समग्र वडाको सबै टोलमा विभिन्न व्यक्तिहरुले तरकारी खेती पशुपालन व्यावसाय गर्नेको संख्या बढिरहेको छ । अडगुरीमा दुई वटा कृषि सहकारी निर्माण गरी काम अगाडी बढेको छ । कृषि समुह ६ वटा सक्रिय छन ।

पालिका, प्रदेश र संघबाट वडामा भएका विकासका कामहरु के–के छन ?
प्रदेशबाट भएका कामहरुमा भन्याङ–मुन्डेक–धातीवाङ मोटरवाटे १ करोड ३१ लाख बजेट योजनाको काम भैरहेको छ । अड्गुरी बृहत खानेपानी योजनामा १ करोड ५ लाख बजेट छ । सामाजिक विकास मन्त्रालयबाट सिलाई कटाई बेमौसमी तरकारी, घुम्ती पाल्पा मोटरबाटोको लागि ८५ लाख ५० हजार बजेट परेको छ । काम भैरहेको छ । संघबाट घुम्ती पाल्पा मोटरबाटोमा २ करोड ९१ लख बजेट छ ।

बजेट पारदर्शी कत्तिको भएको छ ?
समग्रमा उपभोक्ता समिति मार्फत भएका काम राम्रै भएका छन । हामीले निरन्तर अनुगमन र खबरदारी गरेका छौं । हाम्रो वडामा भएका कामहरु पारदर्शी भएका छन । सबै पक्षलाई समेटेर काम गरेका छौं । सबै कार्यक्रमको सार्वजनिकीकरण गराएर मात्रै सिफारिस गर्नेछौं ।

५ वर्ष भित्रमा विकासमा कस्तो वडा भएको देख्न पाइएला ?
५ वर्ष भित्रमा ७ नम्बर वडामा पूर्वाधार विकासतर्फ हामी एक घर एक शुद्ध पिउने पानीको धारा अभियानलाई सम्पन्न गर्नेछौं । विजुलीमा काठका पोल मुक्त गराई विद्युत आपूर्तीलाई सहज बनाइनेछ । विपन्न परिवारका खरका छाना विस्थापित गरी जस्तापाता उपलब्ध गराई सुरक्षित बसोवासको व्यवस्था मिलाउनेछौं ।

मुख्य सडक घुम्ती पाल्पा कालोपत्रे, भन्ज्याङ–झन्द्रेक–डाडाकटेरी मोटरबाटो स्तरउन्नती र साविकका वडामा जाने सडकलाई चौडा, नाली निर्माण गरी ग्राभेल सडक बनाएर सुरक्षित यात्राको व्यवस्था मिलाइनेछ । पर्यटकीय क्षेत्रहरु, संस्कृती क्षेत्रहरुको संरक्षण गरी पर्यटन विकास गर्नेछौं । ७ नम्बर वडामा दुई खेल मैदानलाई स्तरउन्नती गर्नेछौं । स्वास्थ्य क्षेत्रलाई जनताको घर पु¥याउन सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन, झन्द्रेकमा स्वास्थ्य इकाई, खोप केन्द्रहरु सम्पन्न गरी सेवा प्रवाहलाई विस्तार गर्नेछौं । बर्थिङ सेन्टर सञ्चालन गरिनेछ ।
शिक्षालाई गुणस्तरीय शिक्षा प्रदान गर्न वडामा रहेका मावि र आधारभूत विद्यालयलाई भवन, शौचालय, शुद्ध पिउने पानी, कक्षाकोठा अनुसार शिक्षक र गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिलाउन सुविधा सम्पन्न भवन, गुणस्तरीय शिक्षा प्रदान गर्न सर्वपक्षीय छलफललाई निरन्तरता दिंदै अनुगमन गरिनेछ ।

कृषि र समावेशी तर्फा पशुपालन ः कृषिमा ग्रामीण क्षेत्रमा बस्ने सवैलाई व्यावसायीक कृषिमा लाग्न अनुरोध गर्दै आवश्यक पर्ने प्रविधिमैत्री सामाग्री, उन्नत जातका फलफुलका विरुवाहरु कृषि सहकारीलाई अनुदान, कृषि समुहलाई अनुदान, कुखुरा, बोयर बाख्रा, गाइपालन, व्यावसायीक तरकारी खेती र फलफुल खेतीलाई प्रोत्साहन गर्दै अनुदानको व्यवस्था मिलाउंदै आगामी दिनमा कृषि र पशुपालनको क्षेत्रमा हुने उत्पादन र बिक्रीका आधारमा कृषकलाई अनुदान दिने व्यवस्था मिलाउन गापामा एउटा शीतभण्डार र त्यसलाई हेर्ने शाखा स्थापना गरी प्रत्येक वडामा कृषि सहकारी मार्फत उत्पादन खरिद गरी गापा शाखा मार्फत बजार र अनुदानको व्यवस्था मिलाउने नीति निर्माण गराउनेछौं । सक्रिय युवालाई सीपमुलक तालिम गाउंमै स्वरोजगारी सृजन ागर्न पहल गर्नेछौं ।

आउंदो बजेटका प्राथमिकता के–के हुन ?
१) खानेपानी र सरसफाई २) सडक ३) शिक्षा ४) स्वास्थ्य ५) सिचार्ई ६) कृषि र पशुपालन ७) विद्युत ८) वडा कार्यालयको भवन निर्माण ९) पर्यटन र खेलकूद १०) सीपमुलक कार्यक्रम प्राथमिकतामा रहनेछ ।

अन्त्यमा केही भन्नु छ ?
मलाई आफनो अमुल्य मत दिएर निर्वाचित गर्नुहुने सम्पूर्ण अड्गुरवासी वुबाआमा, दाजुभाई दिदीबहिनीहरुलाई हृदय देखि धन्यावाद टक्राउंदै मलाई सधै सकारात्मक सल्लाह सुझाव दिन अनुरोध गर्दै म जनताको पक्षमा सर्बाेपरी हितको लागि लडिरहनेछु । जनताको सधै सहयोगको अपेक्षा गर्दछु ।

विकास भनेको जहांका जनता शिक्षित र सचेत हुन्छन, त्यहां बढी विकास हुन्छ । त्यसैले सम्पुर्ण अभिभावकलाई आफना छोराछोरीलाई शिक्षामा लगानी गरी असल, कुशल, शिक्षित र समाजसेवी नागरिक बनाउन सबैलाई अनुरोध गर्दै म सुभेच्छा प्रकट गर्दछु । अन्त्यमा जननी खबरले मेरो विचार राख्ने अवसर प्रदान गरिदिनुभएकोमा धन्यावाद व्यक्त गर्दछु ।

SHARE