बाँगी अब्बल बन्दैछ : अध्यक्ष भुसाल

1018

अर्घाखाँची बाँगीमा जन्मनुभएका शोभाखर भुसाल स्थानीय तहको निर्वाचनमा मालारानी गाउँपालिका–५ को वडाध्यक्षमा तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित हुनुभयो । चुनावमा नेपाली कांग्रेसले उहांलाई मतदान गरेको थियो । लामो समय शिक्षण पेशा छाडेर जनताको माग अनुसार वडाध्यक्षमा निर्वाचत भुसाल अत्यन्तै सरल, अनुशासित र विकासप्रेमी भुसाल जनताको काममा खटिनुभएको छ । आफना कार्यकालमा बाँगीवासीलाई स्वरोजगार उन्मुख, विकासमा नमुना र सम्बृद्ध वडा बनाउने लक्ष्य अनुसार काम गरिरहुनभएको छ । अध्यक्ष भुसालसंग जननी खबरले गरेको कुराकानी ।

वडाको विकास कसरी भैरहेको छ ?
मालारानी गाउँपालिकाको–५ बाँगीमा सबैभन्दा ठुलो जनसंख्या पनि भएकाले समानुपातिक बजेट विनियोजन हुने कारण सबै जनतालाई प्रत्यक्ष लाभान्वित हुने र वडाको भौगोलिक र समस्याका आधारमा सीमित बजेटबाट धेरै आवश्यक्ता पुरा गर्नुपर्ने भएकाले समान रुपमा विकास भएको छ ।

कृषि र पशुपालनका कति बजेट छ ? कसरी काम भैरहेको छ ?
पशुपालनमा बांगी राम्रो सभावना भएको वडा हो । कृषि र पशुपालन वडाको मुख्य आयआर्जनको स्रोत भएकाले कृषिलाई महत्वपुर्ण ठानी कृषि हाटबजारको व्यवस्था, कृषिकले उत्पादन गरेको वस्तुलाई संकलन गरी बजारीकरणको व्यवस्थाको लागि कृषि संकलन केन्द्र निर्माण गरिएको छ । आगामी वर्ष देखि कृषकले उत्पादन गरेको वस्तु संकलन केन्द्रमा जम्मा गरी बजारसम्म लैजाने व्यवस्था वडाले गर्नेछ । पशुसेवा केन्द्रमा निशुल्क दिशापिसाव परीक्षणको व्यवस्था मिलाइएको छ । पशुमा लाग्ने रोगहरुको सर्वशुलभ औषधि र निशुल्क बोका र गोरुलाई पनि व्यवस्था गरिएको छ र सबै बस्तीमा बोयर जातका बोका वितरण गरिएको छ ।

सडकका काम कसरी भैराखेका छन ?
विकासको मेरुदण्डको रुपमा सडकलाई पनि लिने गरिएको छ । यस वडामा सडक साविक बागी १ देखि भण्डार र प्युडाडासम्म साविक वडाहरुलाई रिङरोडमा जोडने अवधारणा अनुसार रिङरोडको बाटो बरमकोट, कर्नमारे, गुंरासे, लाकुंरीका रुख, रातामाटा, आरुखोर, आंटिघर, बझेरी, पलसपाटा, कुझेरी, पोखेडांडा हुंदै भण्डार र प्युडांडाबाटा भूमिकास्थान नगरपालिकामा जोडिएको महत्वपुर्ण बाटोको निर्माण गरिएर रिङरोड बनेको छ । प्रत्येक टोलटोलमा मोटरबाटो पुगेको छ । प्रत्येक सडकमा ट्याक्सी गुड्छन ।

सदरमुकाम नजिकको वडा, उत्पादनमुलक कार्यक्रम के–के छन ?
सदरमुकाम नजिकसंगै सालझण्डी–ढोरपाटन सडकसंग जोडिएका कारण यसको बेग्लै महत्व छ । कृषि र पशुपालनमा संभावित र उत्पादनशिल क्षेत्र भएकाले तरकारी उत्पादन गरी सदरमुकाम लैजाने गरिन्छ । मौसमी तथा बेमौसमी तरकारी बाह्रै महिना उत्पादन हुन्छ । बांगी कृषि जोनमा छनोट भएकाले पनि कृषि क्षेत्रलाई विस्तार गरी बांगीवासीलाई उत्पादनबाट आत्मनिर्भर बनाउन धेरै सहज भएको छ ।

सयमा शुरु गरिएको हाटबजार कसरी सञ्चालन हुन्छ ? कृषकले ल्याएको तरकारी कहां बिक्री हुन्छ ?
सयमा सञ्चालन भएको हाटबजारमा कृषकले उत्पादन गरेको बस्तु ल्याएर बिक्री गरिन्छ । प्रत्येक विहीबार हाटबजार लाग्छ । कृषकको दैनिक उपभोग्य वस्तुमा केही अनुदान दिएर सर्वसुलभ उपलब्ध हुने गरी व्यवस्था मिलाइएको छ । हाटबजारमा अर्घाबाट पनि सर्वसाधारण तरकारी किन्न आएपछि सञ्चालनमा राम्रो सहयोग पुगेको छ ।

शैक्षिक गुणस्तर सुधारको लागि योजना के छ ?
शिक्षालाई महत्वपुर्ण अंगको रुपमा हेरिएको हुनाले शिक्षामा गरिएको परिवर्तनले नै सबै क्षेत्रमा महत्वपुर्ण असर पारेको हुन्छ । यही कारणले गर्दा शिक्षा क्षेत्रलाई महत्वपुर्ण रुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता देखिएकाले शिक्षाको लगानी र परिवर्तन धेरै समयमा यसको विकास हुन नसकेर केही समय लाग्ने भएकाले यसको निम्ती वडाबाट विद्यालयमा कालोपाटीलाई हटाई सेतोपाटीको व्यवस्था गरिएको छ । सबै विद्यालयमा राष्टिय झण्डा र विद्यालयको झण्डा अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । विद्यालयमा बालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई टिफिन, कक्षा ६ देखि १२ सम्म दलित विद्यार्थीलाई स्टेशनरी र झोलाको व्यवस्था गरिएको छ ।

प्राथमिक उपचारको लागि फसटेड बक्स सहित औषधि र मावि सञ्चालन विद्यालयमा प्याड, शैक्षिक गुणस्तरको लागि मुख्य विषयका विषयगत अन्तरक्रिया, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच अन्तरक्रिया तालिम सञ्चालन गरी विषयगत समिति निर्माण गरी मासिक रुपमा परीक्षा, हाजिरी जवाफ, बाल नृत्य मनोरञ्जनका क्रियाकलापका साथै विद्यालयमा नियमित अनुगमन र प्रत्येक महिनाको अन्तिम सुक्रवार प्रअ बैंठक गरी थप रणनीतिका आधारमा अगाडी बढी शैक्षिक गुणस्तर सुधारको लागि २५ प्रतिशत बजेट विनियोजन गरी अगाडी बढिरहेका छौं ।

पालिका, संघ र प्रदेश सरकारका योजना के–के छन ?
मालारानी गाउपालिकामा रहेका ९ वटा वडाहरुमा सबैभन्दा ठुलो ५ नम्बर वडा हो । पालिकाबाट समानुपातिक बजेट विनियोजन भएकाले वडाबाट वडा समितिले छनोट गरी पठाएका योजनाहरु पनि पालिका स्तरकै हुने भएकाले करिब १ करोडको भन्दा बढीका योजना सञ्चालन भएका छन । संघबाट अर्घा, ढोवाटाटारी, सातबिसे, पलसपाटा, कुझेरी भेडिराख्ने मोटरबाटोको लागि बजेट विनियोजन भएको छ । सांसद विकास कोषबाट आल्सामारी सिचाइको लागि बजेट परेको छ । सन्धिखर्क, गाजेरी, गुणथुम, प्युठान, भेडिराख्ने, बझेरी आल्सामारी, गुफा खनदहको लागि प्रदेसबाट बजेट परेको छ । आरुखोर सडक विभागबाट ५ लाख बजेट छ ।

५ वर्ष भित्रमा कस्तो वडा बन्ला ?
बांगी जिल्लामा चर्चित नाम आइरहेको वडा हो । यहांका अधिकांश व्यक्तिहरुले राजनीति क्षेत्र, प्रशासनिक, पत्रकारिता र हरेक सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका रहेको छ । यस कारण यस वडालाई सबैको चासो र चिन्ताको विषय बन्ने भएकाले सबैको सहयोग सल्लाह, सुझावलाई ग्रहण गर्दै यस वडालाई मालारानी गाउंपालिकाको मात्र नभएर जिल्लाकै नमुना वडा बनाउने लक्ष्यका साथ अगाडी बढिएको छ । आधुनिक र फरक तरिकाबाट कृषि, पशुपालन र उत्पादनलाई प्राथमिकता दिएर घरैपिच्छे स्वरोजगार उन्मुख बनाइनेछ । फलफुल, दूध, तरकारी, मसलाबाली, खसीकोबाका घरैपिच्छे उत्पादन हुनेछन् । विदेशबाट फर्किएका र विदेश जाने युवालाई कृषि कर्ममै लगाएर युवालाई स्वरोजगार बनाइने लक्ष्य छ । विकास र सम्बृद्धिमा नमुना वडा बन्नेछ ।

शुसासन र पारदर्शी कस्तो छ ?
यस वडालाई नमुना वडाको रुपमा विकसित गरी लैजाने उद्देश्यका साथ शुसासनलाई महत्व दिएर शुसासन कायम गरिएको छ । हरेक कार्यलाई पारदर्शी बनाउनको लागि जनप्रतिनिधिले कार्यविभाजन गरी काम गरेका छौं । योजना कार्यन्यवन गर्नको लागि अनुगमन समिति निर्माण गरी योजनाको रेखदेखका साथै जुनसुकै समयमा पनि गुनासाहरुको संकलन गरी सबै कार्यालाई पारदर्शी गर्न लागेका छौं ।

अन्त्यमा केही भन्नु छ ?
वडामा गरिएका कामहरुको गतिविधि र वडाका समसामयिक विषयमा आमावुवा दाजुभाई दिदीबहिनी लगायत सम्पुर्ण जनसमुदायलाई जननी खबर मार्फत जानकारी गराउने महत्वपुर्ण अवसर प्रदान गर्नुभएकोमा जननी खबर परिवारप्रति आभार प्रकट गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण वुवाआमा, दाजुभाई दिदीबहिनीको साथै जननी खबर अनलाइनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

SHARE