सुन्तला खेती पेन्सनसरह 

14

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्लामा तीन दशकअघिसम्म सुन्तला बेचेर आम्दानी लिने चलन थिएन । यहाँका बासिन्दा नातेदार, इष्टमित्रलाई कोसेली लैजान र आफैंलाई खान भनेर बारीका डिलमा २/४ बोट हुर्काउँथे । अहिले व्यावसायिक रूपमा उत्पादन हुन थालेको छ ।सुन्तला बेचेर सर्वसाधारण मालामाल भइरहेका छन् । अन्य बालीको तुलनामा सुन्तला ५/६ गुना फाइदा दिने नगदेबाली बनेको छ ।

गुल्मी र अर्घाखाँचीका पाखोबारीमा उत्पादित अर्गानिक सुन्तलाको माग स्वदेशमा उच्च रहेकाले आम्दानीको गतिलो स्रोत बन्न थालेको छ । एकपटक रोपेपछि वर्षौंसम्म फल लाग्ने भएकाले सुन्तलाको आय किसानलाई ‘पेन्सन’ बनेको छ ।

अहिले सुन्तला खेतीमा शिक्षित युवाको आकर्षण छ । सुन्तला जहाँ पायो त्यहीँ फल्दैन । ८ सयदेखि १ हजार ४ सय मिटर उचाइमा उत्पादन हुने गर्छ । ओसिलो र पारिलो जग्गामा राम्रो फल्छ । अर्घाखाँची र गुल्मीका यस्ता उपयुक्त ठाउँमा लटरम्म दाना लाग्ने गरेको छ । बिरुवा रोपेको ३/४ वर्षमै फल्न थाल्छ । त्यसैले यहाँका बासिन्दा अन्नबाली छाडेर सुन्तला रोपिरहेका छन् । रोजगारी खोज्दै विदेश गएका युवा फर्किएर सुन्तला खेतीमा रमाएका छन् ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत बुद्धि भट्टराईका अनुसार सुन्तलाको आयु अधिकतम ८० र न्यूनतम ४५ वर्ष हुन्छ । मलजल, स्याहारसुसार, चिसो र पारिलो जग्गामा लटरम्म फल्ने र धेरै वर्ष बोट बाँच्ने भएकाले किसानलाई पेन्सनसरह भनिएको हो । फुलेको ६/७ महिनामा दाना पाक्छन् । टिपिसकेपछि शीत भण्डारमा राखेर बिक्री गर्न सकिन्छ । जति मल, पानी र स्याहार गर्‍यो त्यति धेरै फल दिने भएकाले सुन्तला खेतीबाट किसानको भविष्य उज्ज्वल हुने भट्टराईले बताए ।

५१ करोडका सुन्तला उत्पादन

गुल्मी र अर्घाखाँचीमा यस वर्ष ५१ करोड रुपैयाँभन्दा बढीको सुन्तला कारोबार भएको छ । असिना र रोगबाट बचेकाले अघिल्लो वर्षभन्दा दोब्बर फल्यो । बोटमा ठूला र लटरम्म दाना लागेपछि टेका लगाएर जोगाउनुपरेको थियो । दुई जिल्लाको हावापानी र मौसम मिल्दोजुल्दो भएकाले उत्पादनमा वृद्धि भएको हो । दुवै जिल्लामा ९० प्रतिशत सुन्तला टिपिसकिएको छ ।

गुल्मीमा ६ सय ६० हेक्टर क्षेत्रफलमा ६ हजार ४ सय ६८ टन सुन्तला उत्पादन भएको छ । प्रतिकिलो ४० रुपैयाँका दरले कृषकको घरबाटै बिक्री भएको छ । यसबाट २५ करोड ८७ लाख २० हजार रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख सनबहादुर रानाले बताए ।

गत वर्ष ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । उत्पादित सुन्तला तम्घास, पाल्पा हुँदै बुटवललगायत तराईमा जान्छ । सहरबाट व्यापारीले कृषकको घरमै गएर बोट ठेक्का लिन्छन् । बिक्री भएको सुन्तला कृषकले रेखदेख गरिदिन्छन् ।

जिल्लाको रेसुंगा र मुसिकोट नगरपालिका, रुरु गाउँपालिका, छत्रकोट, गुल्मीदरबार, मदाने, कालिगण्डकी, चन्द्रकोट गाउँपालिकालगायतका गाउँमध्ये सबैभन्दा धेरै सुन्तला धुर्काेट गाउँपालिकामा उत्पादन हुन्छ । गुल्मीमा सुन्तला सुपरजोन कार्यक्रम सञ्चालित छ । पछिल्लो समय यहाँका युवा सुन्तला खेतीतर्फ लागेको रानाले बताए ।

अर्घाखाँचीमा ७ सय ६ हेक्टर क्षेत्रफलमा २५ करोड १० हजार रुपैयाँजतिको सुन्तला उत्पादन भएको छ । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर नै फलेको थियो । २० करोडजतिको बाहिर र ५ करोड रुपैयाँको सुन्तला जिल्लामै खपत भएको कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत थिरलाल गैरेले बताए ।

जिल्लाका छ स्थानीय तहमध्ये मालारानी र छत्रदेव गाउँपालिकासहित सबैभन्दा धेरै पाणिनि गाउँपालिकामा उत्पादन हुन्छ । पणेनाको सिम्ले गाउँका अधिकांश किसानलेसुन्तला खेती गरेका छन् । यहाँ यसपालि सुन्तला बिक्रीबाट अढाई करोड रुपैयाँ भित्रिएको छ ।

किसानको भनाइ

‘सुन्तलाको आम्दानी किसानका लागि पेन्सनजस्तै छ, जति धेरै ठूला दाना र धेरै फल्यो त्यति आम्दानी हुन्छ,’ सिम्लेका रेवती पौडेलले भने । यस वर्ष ७ लाख रुपैयाँको कारोबार भएको उनले बताए । फूल फुल्ने बेला असिना आयो र रोग लाग्यो भने कम फल्छ । बेलैमा पानी परे र सबै मिल्यो भने लटरम्मै फल्ने उनले बताए । ‘विदेश थिएँ, फर्किएर अन्न उब्जने बारीमा १ हजार २ सय सुन्तलाका बोट लगाएँ,’ उनले भने, ‘तिनैले अहिले फल दिइरहेका छन् ।’

अर्का युवा चिरञ्जीवी पौडेल रेवतीका छिमेकी हुन् । आआफ्ना बारीमा सुन्तलाका बोटलाई स्याहारसुसार, ठूला दानासहित लटरम्मै कसले फलाउने भन्नेमा प्रतिस्पर्धा छ । उनले १ हजार १ सय बोट लगाएका छन् । कुन बोटमा कति फल्यो भनेर गाउँलेबीच छलफल चल्छ । पाकेपछि सबै मिलेर कृषक समूहमार्फत बाहिर पठाउँछन् । ‘सुन्तलाले ऋण मुक्त गरेर बैंकमा केही रकमको जोहोसहित स्वरोजगार बनायो । वर्षदिन दु:ख गर्दा अन्नबालीले ६ महिनालाई खान पुग्दैनथ्यो,’ चिरञ्जीवीले भने ।

गुल्मीको धुर्काेट गाउँपालिका २ पीपलधाराका विष्णु खनालले डेढ दशकदेखि व्यावसायिक सुन्तला खेती गरेका छन् । पाखो बारीमा लगाएका ७ सय बोटमध्ये ४ सय ५० बोटमा सुन्तलाका दाना लटरम्मै फलेका छन् ।

‘साढे ९ टन बिक्री गरें । प्रतिकिलो ३७ रुपैयाँमा बोटमै बिक्री भए,’ उनले भने । बाबुबाजेका पालादेखि उनको घरमा नातेदारकहाँ पाहुर लैजान र घरमा खान २/४ बोट थिए । बिक्री हुन थालेपछि गुल्मी जिल्लामै पहिलो पटक उनले अन्न उब्जनी हुने बारी मासेर व्यावसायिक खेतीको सुरुवात गरेका हुन् ।

पीपलधाराका १ सय ५० कृषकको प्रमुख आम्दानीको स्रोत नै सुन्तला हो । पीपलधाराबाट सुरु भएको सुन्तला खेती जिल्लाका १४ भन्दा बढी गाउँमा विस्तार भइसकेको छ ।

गाउँमा वर्षमा ५० हजारदेखि ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने कृषक छन् । ‘सबैभन्दा मिठो सुन्तला यहीँकै छ,’ उनले भने, ‘बोटबाटै सुन्तला बिक्री हुन्छ । पढेलेखेका युवा सुन्तलाको बगैंचा बनाएर खेती गर्न सुरु गरेका छन् ।’ यतिबेला बोटमा दाना निख्रिसकेका छन् । पीपलधारामा मात्रै ३३ हजार नयाँ बिरुवा रोपेको उनले बताए ।

‘बिक्रीको चिन्ता नभएकाले व्यावसायिक सुन्तला खेतीबाट किसानको भविष्य उज्ज्वल छ,’ सुन्तला उत्पादक संघ गुल्मीका अध्यक्ष खनालले भने, ‘एउटै बोटले बर्सेनि आम्दानी दिने गर्छ ।’

नयाँ गाउँका कमल थापाले १५ वर्षदेखि अढाई सय बोटबाट बर्सेनि आम्दानी लिइरहेका छन् । मलजल, रेखदेख र रोगकिराबाट जोगाउन सके राम्रो फल लाग्ने उनले बताए । असिना र रोग नलागेकाले यस वर्ष सुन्तला गत वर्षभन्दा दोब्बर फलेको उनले बताए ।

सुन्तलामै समृद्धि

पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले पाणिनिको चिनारी र यहाँको समृद्धिको आधार सुन्तला खेती भएको बताए । कृषकलाई थप प्रोत्साहन र नयाँलाई अनुदानसहित सुन्तला खेतीतिर आबद्ध बनाएर गाउँलाई स्वरोजगार उन्मुख बनाउने गरी योजना अघि बढाएको सुनाए । ‘सुन्तला किसानको पहेंलो सुन हो,’ उनले भने, ‘कहाँ के गरेर उत्पादन वृद्धि हुन्छ, त्यहीअनुसारको बजेट विनियोजन गरेका छौं ।’

गुल्मीको धुर्काेट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जिल्लामै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पालिका भएकाले सुन्तलाबाटै स्थानीयलाई स्वरोजगार गराउने लक्ष्यअनुसार काम भइरहेको बताए । यस वर्ष पालिकाबाट ३ करोड रुपैयाँको सुन्तला उत्पादन भयो ।

५ वर्षभित्र ६ करोड रुपैयाँ आम्दानी वृद्धि गरी थप सुन्तला लगाउने र फलाउने तरिका, आवश्यक मेसिन औजार, नर्सरी, बिरुवा वितरणलगायतमा सहयोगको कार्यक्रम विस्तार भएको उनले बताए । ‘एक सय नयाँ बिरुवा लगाउने कृषकलाई ३ वर्षसम्म ४० रुपैयाँका दरले बिरुवा जोगाउन र मलजल गर्न अनुदान दिएका छौं,’ उनले भने ।

चुनौती पनि उत्तिकै

२ जिल्लामा उत्पादन हुने स्थानीय जातको सुन्तला हावापानी नमिल्दो जग्गामा लगाए फल दिँदैन । दाना फलेपछि पनि भेट्नो कुहिने रोग लागेमा झरेर बोट रित्तो हुन सक्छ । सुन्तलामा टयांकर, सिट्रोसिला, पतेरो, कटरफलाई औंसाजस्ता रोगले बोट मार्ने, फल नदिने समस्या निम्त्याउन सक्छ । यस्तो रोगबाट जोगिन २ हजार मिटर उचाइभन्दा माथि उत्पादन गरिएका बिरुवा रोप्नुपर्ने वरिष्ठ कृषि अधिकृत भट्टराईले बताए ।
SHARE