युवालाई पाणिनिमै स्वरोजगार : अध्यक्ष गौतम

731

अर्घाखाँची पाणिनि गाउँपालिका–२ पोखराथोकमा जन्मनुभएको अच्युत गौतम विकासवादी नेताको रुपमा चिनिनुहुन्छ । नेविसंघबाट राजनीति यात्रा शुरु गर्नुभएको गौतमले हरेक परिवर्तिन आन्दोलनमा सक्रिय भुमिका खेल्नु भएको छ । कांग्रेस क्षेत्र २ को सभापति गौतम स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहांसगै पालिकाको विकास र सम्बृद्धिका योजनाबारे जननी खबरले गरेको संक्षिप्त कुराकानी

पाणिनि गाउँपालिका विकास र सम्बृद्धिमा कसरी अगाडी बढिरहेको छ ?

पाणिनि गापा विकास र सम्बृद्धितर्फ जनताको आधारभूत आवश्यक्तालाई सम्बोधन गर्दै अगाडी बढेको छ । नीति तथा कार्यक्रम पनि यसै अनुसार अगाडी बढाएका छौं । शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन पर्यटन जस्ता कुरालाई प्राथमिकतामा राखी योजनाबद्ध रुपमा काम भैरहेको छ ।

पालिका भित्र सडकको अवस्था कस्तो छ ? भैरहेका सडक पीच÷ग्राभेल गर्ने योजना छ कि छैन ?

पाणिनि गापा भित्र सबै टोलमा बाटा पुराएका छौं । सबै वडा कार्यालयबाट पालिका केन्द्र, जिल्ला सदरमुकामसम्म बाह्रै महिना गाडी चल्ने गरी निर्मँणको काम भएको छ । पालिका भित्रका मुख्य सडक सालझण्डी ढोरपाटन पर्छ । पातलाचौर पटौटी ट्रयाक बाटो पनि यसै पालिका भित्र भएर खुलेको छ । घुम्ती पाल्पा मोटरबाटो, भज्याङ, धातीवाङ, डाडाकटेरी, पणेना पोखराथोक खिदिम सादबुटा, दुर्गाफांट, चिवेक दुवीचौर बाटो पनि पालिका भित्रै पर्छ । रैनादेवी छहरा फर्सवा चिवेक, ढाक्रेवास पालिकाका मुख्यबाटा हुन । सालझण्डी ढोरपाटन सडक पालिकाभरी ग्राभेल भएको छ । आगामी आवमा कालोपत्रे हुने चरणमा छ । फाष्ट ट्रयाक बाटो पनि ८ किमी ग्राभेल भएको छ । २७ सय मिटर यसैवर्ष हुंदैछ । घुम्ती पाल्पा ३ किमी कालोपत्रे भएको छ । अरु यसै वर्ष स्तरोन्नती हुंदैछ । भन्याङ डाडांकटेरी पोखराथोक देउराली देवलचौरी, फर्सवा सडक पनि यसै वर्ष डबल कटिङ र स्तरोन्नतीको काम भैरहेको छ ।

दूध उत्पादन कति छ ? कसरी उत्पादनमा वृद्धि भैराखेको छ ? भावी योजना के छन ?

यस पालिका भित्र बिक्रीको लागि मात्र २५ सय लिटर दूध उत्पादन भएको छ । दूधमा कृषकलाई प्रोत्साहन गर्न प्रतिलिटर २ रुपैयां अनुदान यसै वर्ष देखि दिइरहेका छौं । डेरीलाई व्यवस्थित गर्ने, कृषि उद्योग प्रवद्धन गर्ने र आगामी वर्ष चिज उत्पादन गर्ने योजना छ ।

कृषि कर्ममा पढेलेखेका युवालाई कसरी आकर्षित गरिन्छ ?

कृषिमा आधुनिक र व्यावसायीक बनाउने आम्दानीको मुख्य स्रोत कृषि बनाउने काममा अगाडी बढाइने र मैले गरेको तरकारी खेतीको बारेमा कृषकलाई जानकारी गराई कृषिकलाई प्रेरणा र उर्जा दिने काम अगाडी बढेको छ ।

पशुपालन र कृषिमा पाणिनि कत्तिको संभावना छ ? कृषिमै भविष्य छ त ?

कृषि र पशुपालनमा यो पालिका धेरै संभावना भएको पालिका हो । भुगोल र वातावरण राम्रो छ । त्यसै अनुरुप किसान अगाडी बढनु भएको छ । पाणिनिलाई कृषि, पशुपालन र उत्पादनमा १ नम्बर पालिका बनाउने योजना अनुरुप काम भएको छ ।

तेजपात र ओखरबाट पालिका सम्बृद्ध होला ?
तेजपात खेती पाखो बारीमा हुन्छ । धेरै लगानी गर्न नपर्ने, हावापानी अति सुहाउंदो छ । २ वर्षमा ४ लाख तेजपात लगाई सकेका छौं । यसबाट पाणिनिवासीलाई मनग्य आम्दानी हुन्छ । ओखरको लागि पनि हावापानी मिल्दो छ । अघिल्लो वर्ष पनि २ हजार ओखरका विरुवा लगायौं । यो भुगोलमा क्युवी, ओखर वोदीचिल जस्ता आम्दानी हुने, जंगलमा पनि गर्न सकिने विरुवाको लागि हावापनी उपयुक्त छ । यसै अनुसार अगाडी बढेका छौं ।

 

सिम्ले लगायत पाणिनि क्षेत्रमा सुन्तला खेती विस्तार कसरी भैराखेको छ ? सुन्तला उत्पादनको अवस्था कस्तो छ ? तपाइले कस्तो बनाउदै हुनुहुन्छ ?

सुन्तलामा पाणिनि धेरै नै सफल भएको छ । वार्षिक ६ करोड भन्दा बढी सुन्तलाबाट आम्दानी भएको छ । सुन्तला खेती विस्तार गरी वैदेशिक रोजगारीमा रहेका युवालाई यही बोलाउने योजना छ ।

धेरैजसो राजनीतिज्ञले राजनीतिलाई मात्रै पेशा बनाइरहेको सन्द्रभमा तपाइले त राजनीतिसंगै कृषि यावसायलाई थप विस्तार गरिरहनुभएको छ । जनप्रतिनिधि, नेता, आम कृषक र युवापंक्तीलाई के सुझाव दिन चाहनुहुन्छ ?

कुरा भन्दा काम गरांै, अरुलाई अर्ति भन्दा पहिले आफै गरौं । गरे यही संभव छ । सकारात्मक बनौं । अनुदानमुखी भन्दा पनि व्यावसायीकमुखी बनौं ।

५ वर्ष भित्रमा पाणिनि कस्तो बनेको देख्न पाइन्छ ?

पालिकावासी सबैको घरमा खानेपानीको धारा हुनेछ । बाह्रै महिना यातायात सञ्चालन हुनेछ । कृषि र पशुपालनबाट कृषक आत्मनिर्भर बन्नेछन् । शिक्षा, स्वास्थ्यमा जनतालाई सहज र गुणस्तरीय बनाइनेछ । रोजगारीको लागि विदेशमुखी भन्दा कृषि र पशुपालनमा आकर्षणमुखी भएको हुनेछ । धार्मिक पर्यटकीय हिसाबले एक पटक पाणिनि आउनै पर्ने भएको हुनेछ ।

अन्त्यमा केही भन्नु छ ?

सकारात्मक सोचका साथ सबै अगाडी बढौं । युवा तथा किसान, बुद्धिजीवि, राजनीतिककर्मी र आम जनता यस पालिकालाई सल्लाह र सुझावको अपेक्षा गर्दछु । आजका दिनसम्म जनताले गर्नुभएको सहयोग प्रति आभार व्यक्त गर्दछु । वचन र कर्मले जनताको सेवा गर्ने प्रतिवद्धता सहित सबैबाट सकारात्मक र रचनात्मक सहयोगको निरन्तरताको अपेक्षा गर्दछु ।

SHARE