पणेनामा घरैपिच्छे स्वरोजगार : वडाध्यक्ष भट्टराई

663

अर्घाखाँची पाणिनि गाउँपालिका पणेनामा शालिकराम भट्टराई पाका जनप्रतिनिधि हुनुहुन्छ । समाजसेवा र मुलुकको राजनीति परिवर्तनको लागि अनवरत लागिरहनु भएका उहां स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिका –१ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडाको विकासको बारेमा जननी खबरले गरेको संक्षिप्त कुराकानी

तपाई अध्यक्ष भएपछि वडाको विकास के भयो ?
म अध्यक्ष भएपछि वडाको विकासमा केही सुधार आएको छ । विगतमा थन्किएका विकास निर्मँणका काम केही पुरा भए । केही बांकी छन । तिनलाई पुरा गर्ने योजना छ । मोटरबाटोको स्तरउन्नती, निर्माणका काम भए । कृषि, पशुपालन र उत्पादनमुखी कार्यक्रमले कृषकमा उत्साह जागेको छ ।

बजेट कसरी खर्च भयो ?
आर्थिक वर्षको बजेट यो वडालाई झण्डै १ करोड जति थियो । त्यसले एक घर एक खानेपानी धारा जडान गरी पिउने पानीको सुविधा वडावासीलाई उपलब्ध गराउन खानेपानी योजना सञ्चालन भएको छ । कषि उत्पादनमा अनुदान दिएका छौं । सुन्तला खेती विस्तार, मोटरबाटो निर्माण लगायतका योजना सञ्चालन भए । अहिलेसम्म ९० प्रतिशत काम पुरा भयोे ।

कस्तो वडा बनाउने योजना छ ?
पाणिनि गापा–१ पणेना कृषि उत्पादनमा अब्बल बन्दै गरेको वडा हो । सबैका घर–घरमा खानेपानीका धारा खस्नेछन् । कृषि सडक बस्तीपिच्छे हुनेछ । सिम्लेमा जिल्लाकै धेरै सुन्तला उत्पादन हुन्छ । यसलाई विस्तार गरेर सिंगो वडा नै सुन्तलाखेतीमय बन्नेछ । दालचिनी पनि हुन्छ । यसको विस्तार गरी वडावासीले दालचिनीबाट मनग्य आम्दानी गर्नेछन् । तरकारी उत्पादनमा वृद्धि हुनेछ । सुन्तला, दालचिनी र तरकारी खेतीबाट वडाका सबै वासिन्दा स्वरोजगार बन्नेछन् । सुन्तला पकेट क्षेत्र छ । सबैमा जग्गामा सुन्तला खेती गर्ने र वडालाई सुन्तला उत्पादनमय बन्नेछ ।

आउंदो बजेट कस्तो ल्याउदै हुनुहुन्छ ?
मोटरबाटालाई कम बजेट हुन्छ । एक घर एक खानेपानी धारालाई पुरा गर्ने बजेट हुन्छ । कृषिभूमी भएकाले सिचाइ योजना सञ्चालन गर्ने, सुन्तला खेतीलाई विस्तार गर्ने, नयां विरुवा रोप्ने र कृषि उत्पादन वृद्धि गर्ने योजनाको बजेट आउंछ । सबै स्कुलमा अंग्रेजी माध्यमबाट पढाइलाई विस्तार गरी शैक्षिक गुणस्तरमा वृद्धि गरिनेछ ।
वैदेशिक रोजगारमा रहेका युवालाई आफनै बारीमा कृषि उत्पादन गरी स्वरोजगार बनाउने योजना छ । सुन्तला खेती, तरकारी, मसलाबाली र दालचिनीबाटै आम्दानी बढाएर रोजगारी खोज्दै विदेश जानेको संख्या घटाएर कृषिकर्मबाट वडावासीलाई स्वरोजगार बनाउने योजना छ । प्रदेश सरकारबाट चिस्यान केन्द्र स्थापना गर्न बजेट परेको छ । त्यसलाई प्राथमिकता दिइन्छ ।

SHARE