खानेपानीको समस्या छ : वडाध्यक्ष बस्नेत

88

अर्घाखाँची जिल्लाको हंसपुरमा जन्मिनुभएका नरेन्द्र बस्नेत विकासवादी नेता हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा मालारानी गाउंपालिका–८ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । वडाको विकास कसरी भैराखेको छ भन्ने विषयमा जननी खबरले गरेको संक्षिप्त कुराकानी ।
वडाको विकास कसरी भैराखेको छ ?
मालारानीको ८ नम्बर वडा विकासमा पछाडी नै परेको छ । मावि स्कुल, स्वास्थ्य चौकी छैनन् । सबैभन्दा खानेपानीमा हाहाकार भएको वडा हो । बस्तीमा सिधै खानेपानी योजना ल्याउन सकिने मुहान छैनन् । खोलाको पानी डांडोमा तान्ने हो । लिफ्ट योजना सञ्चालन छन् । सडकको स्तरउन्नती, शिक्षामा अंग्रेजी माध्यमबाट पढाई लगायत पूर्वाधार विकासका काम भएका छन् । जनताको भावना अनुसार काम गरेको छु । विकासमा नमूना वडा बनाउने लक्ष्य अनुसार काम भैरहेका छन् ।
खानेपानीको कस्तो समस्या छ ?
हंसपुरको रतनमारेदेखि गोखुंगासम्मको डांडोमा रहेको बस्ती सहित सबै टोलबस्तीमा खानेपानीको चरम समस्या छ । पानीका लागि घण्टौ पैदल हिडेका कुवा धाउनुपर्छ । विकराल नै समस्या छ ।
कसरी समाधान हुंदैछ ?
सबैका घरमा खानेपानी सुविधा उपलब्ध गराउन खोलाको पानी डांडोमा तान्ने योजना सञ्चालन भएका छन् । खानेपानीलाई प्राथमिकतामा राखेर वडाको बजेट विनियोजन भएको छ । खानेपानी समस्या हल भएपछि कृषि उब्जनी बढ्छ । पशुपालन वृद्धि हुन्छ । तरकारी खेती विस्तार हुन्छ । खानेपानीकै करण विरामी हुने समस्या घट्छ । त्यसैले जुन टोललाई जहांबाट पायक पर्छ त्यहीबाट लिफ्ट गरेर तान्ने अग्लो डांडोमा ट्यांकीमा जम्मा गर्ने र पानी वितरण गर्ने योजना अनुसार काम भएको छ । रतनमारे देखि रांगामारेसम्मको बस्तीमा खानेपानी योजना सञ्चालन गर्न संघ सरकारबाट साढे ३ करोड र पालिकाबाट ८० लाख बजेट परेर काम भएको छ ।
योजना कसरी सञ्चालन भएका छन ?
खानेपानीसंगै सिचाइको काम भएको छ । बाझाखर्क, दोबाटो सिचाइ योजना सञ्चालन भएका छन । एक गाउंबाट अर्काे गाउं जोड्ने आन्तरिक रिङरोडको काम भएका छन । सडक लगभग पुगिसकेका छन । भैरहेका सड्कको स्तरोन्नती गरी गाडी चल्ने बनाइएको छ । सबै स्कुलमा अंग्रेजी माध्यममा पढाई, इलेक्ट्रिकल हाजिरी सहित अन्य पूर्वाधार विकासका काम भएका छन ।
विकासमा कस्तो वडा बन्छ ?
विकासमा नमूना वडा बनाउने लक्ष्य अनुसार नै काम भएको छ । शिक्षामा अब्बल, सबैका घरमा खानेपानीका धारा सञ्चालन, बाह्रै महिना सरर गाडी चल्ने सड्क, पशुपालनमा बाख्रापालनको लागि सबै टोलमा बोयर बोका वितरण भएको छ । बाख्रापालेर खसीबोका उत्पादन गरी वडावासीलाई स्वरोजगार बनाउने लक्ष्य छ । कृषिमा तरकारी उत्पादनको लागि वडाबाट टनेल वितरण भएको छ ।

SHARE