अतुलनीय हरिहर संस्कृत पाठशाला

14

नारायण मरासिनी
संस्कृतका आदिकवि एवं रामायणका रचयिता महर्षि वाल्मिकी, पुराण एवं महाभारतका रचयिता वेदव्यास, कपिल, कणाद, गौतम, जैमिनी, विश्वामित्र, ऋष्यश्रृङ्ग, याज्ञवल्क्य जस्ता कैयौँ मनिषीहरूको तपोभूमि वा आध्यात्मिक ज्ञानको केन्द्र रहेको यस हिमालय क्षेत्रअन्तर्गत पर्ने हरिहर क्षेत्र खिदिमको शिरोभाग दहमा संस्कृत व्याकरणका प्रणेता महर्षि पाणिनीको तमोभूमि रहेको छ ।  यसै हरिहर क्षेत्रको गुल्मी रेसुङ्गा पर्वतमा योगीश्वर शशिधर स्वामीले तपस्या गर्नुभएको थियो र उहाँले अनेकौँ दार्शनिक ग्रन्थ रचना गर्नुभएको थियो ।  उहाँका पुत्र आवाल ब्रह्मचारी लक्ष्मीनारायण स्वामीले रेसुङ्गामै तपस्या गर्नुभएको थियो ।  यसै ऐतिहासिक पृष्ठभूमिमा उनै शशिधर स्वामीका चौथो पुस्ताका वंशज महापण्डित दधिराम मरासिनीले पाणिनी तपोभूमिको आधार क्षेत्र खिदिममा जन्म लिनु अवश्य पनि संयोग मात्र नभएर यसको पछाडि महान् गूढ उद्देश्य निहित रहेको अनुमान गर्न सकिन्छ ।
श्रोत्रीय–व्रह्मनिष्ठ–विद्वान् गुरु र आदर्श–आज्ञाकारी–सक्षम शिष्यको पवित्र मिलन एवं उनीहरूको अप्रतिम योगदानबाट जस्तोसुकै महान् कार्य सम्पन्न हुन सक्छ भन्ने कुराको उदाहरण महापण्डित दधिराम मरासिनी र महामना हरिहर गौतमको योगदानबाट अर्घाखाँची खिदिमजस्तो अनकन्टार दुर्गम क्षेत्रमा राणाकालीन कालरात्रिमा प्रज्वलित शिक्षाको तेजोमय ज्योतिले प्रस्तुत गरेको छ ।  एउटा आदर्श शिष्यले आफ्नो प्रचुर सम्पत्ति गुरु अर्पण गर्नु र गुरुले सो सम्पत्ति आफ्नो व्यक्तिगत सुख सुविधामा उपयोग नगरी अशिक्षाको अन्धकारमा पिल्सिएका आफ्ना ग्रामीण समुदायलाई शिक्षाको ज्योति प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापनाका लागि उनै शिष्यलाई अभिप्रेरित गरेको प्रसङ्ग कुनै काल्पनिक कथा थिएन ।  गुरुको अप्रतिम त्याग तपस्या र गुरूपथगामी–आज्ञाकारी शिष्यको शिक्षाप्रतिको लगाव र प्रबल मनोकाङ्क्षाको परिणामस्वरूप खिदिममा हरिहर संस्कृत पाठशालाको प्रादुर्भाव हुन सम्भव भएको हो ।
वि.सं. १९३१ मा राजराजेश्वरीमा स्थापित संस्कृत पाठशाला जुन अद्यावधि रानीपोखरी संस्कृत मा.वि. को रूपमा सञ्चालित छ ।  त्यसलाई नै नेपालमा संस्कृत शिक्षाको संस्थागत थालनीको रूपमा लिइन्छ ।  वि.सं. १९३२ मा भोजपुरको दिङ्ला र १९८४ मा दाङमा संस्कृत पाठशाला खुलेको पाइन्छ ।  पछि क्रमिक रूपमा तौलिहवा, पोखरा, लम्जुङ, मटिहानी, जनकपुर, धरान, कलैया, रिडी, खिदिम, तानसेन, अर्चले, मणिग्राम, स्वर्गद्वारी आदि स्थानमा जनताको प्रयास र सरकारी सहयोगबाट संस्कृत पाठशाला स्थापना हुंँदै गएर संस्कृतको पठनपाठन चल्दै गयो ।

रानीपोखरी संस्कृत पाठशालामा वि.सं. १९५५ देखि मध्यमा र १९७३ देखि शास्त्री एवं आचार्यको अनौपचारिक अध्यापन प्रारम्भ भई २००८ देखि मात्र उक्त पाठशालाले औपचारिक रूपमा संस्कृत महाविद्यालयको स्वरूप ग्रहण गरेको पाइन्छ ।  सरकारी स्तरमा स्थापित रानीपोखरी संस्कृत पाठशाला नै काठमाडौँमा संस्कृत शिक्षाको केन्द्रबिन्दुको रूपमा रहेको देखिन्छ । यता जनस्तरबाट महामना हरिहर गौतमको एकल लगानी र महापण्डित दधिराम मरासिनीको निर्देशनमा पहिले स्थापित तीनवटा विद्यालयलाई संयोजन गरी १९९४ सालमा एकीकृत विद्यालयको रूपमा खिदिम पोखराथोकमा स्थापित हरिहर संस्कृत पाठशालाले संस्कृत शिक्षामा पु¥याएको योगदान र उसको ऐतिहासिक महŒव स्वर्णाक्षरमा लेख्न योग्य छ ।  अर्घाखांँची खिदिमजस्तो विकट स्थानमा तत्कालीन समयमा उच्च गुणस्तरीय पठनपाठन एवं अत्यन्त व्यवस्थित आवासीय महाविद्यालयको रूपमा खुलेको यस विद्यालयका संस्थापक, अध्यापक एवं व्यवस्थापकको राज्यतर्फबाट यथोचित कदर एवं सम्मान हुन नसके पनि हाल आएर त्यस विद्यालयका पूर्व छात्रको सक्रियतामा स्थापित दधिराम मरासिनी स्मृति प्रतिष्ठानको पहलमा नेपाल सरकारले महापण्डित दधिराम मरासिनी चित्र अङ्कित हुलाक टिकट र महामना हरिहर गौतम चित्र अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याइएको कुरालाई भने कम महŒवपूर्ण मान्न सकिँदैन ।  प्रतिष्ठानकै सक्रियतामा दधिराम मरासिनीद्वारा रचित अप्रकाशित कृति प्रकाशन एवं विभिन्न स्मृतिग्रन्थ–स्मारिका आदि प्रकाशनको माध्यमबाट महापण्डितमा रहेको अलौकिक विद्वता, साहित्यिक क्षमता र आध्यात्मिक गहनता र उहाँहरू दुवैको शैक्षिक योगदानको प्रचारप्रसार हुँदै आएको छ ।  त्यसैगरी, प्रतिवर्ष भव्य रूपमा मनाइँदै आएको जन्मजयन्तीमा विभिन्न विद्वान्लाई सम्मान गर्ने कार्य सम्पन्न हुँदै आएको छ ।  उहाँबाट स्थापित हरिहर संस्कृत विद्यालयको प्राङ्गणमा महापण्डित दधिराम, महामना हरिहर र विद्याकी अधिष्ठात्री देवी सरस्वतीको शालिक स्थापना भइसकेको छ भने हाल कपिलवस्तुको कपिलधामस्थित साहित्य चौतारीमा नेपाल सरकारको आर्थिक सहयोगमा महापण्डित दधिरामको शालिक स्थापना गर्ने भइरहेको छ ।
तत्कालीन समयमा त्यस्तो दुर्गम क्षेत्रका सर्वसाधारण जनताका छोराहरू राजधानीमा आई अध्ययन गर्न सक्ने अवस्था थिएन ।  हरिहर संस्कृत पाठशालाले त्यस क्षेत्र र पश्चिम नेपालकै जनतालाई गाउँमै स्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान ग¥यो ।  महापण्डित दधिराम मरासिनी जस्ता महान् विद्वान् त्यस क्षेत्रमा जन्मनु र आफ्नै ग्रामीण जनतालाई शिक्षाको ज्योतिले प्रकाशित गर्ने अठोट लिनु एवं उहाँकै धनाढय शिष्यले आफ्नो प्रचुर सम्पत्ति लगानी गरी त्यस्तो अपूर्व विद्यालय स्थापना भई त्यस भेगका जनताले अध्ययन गर्ने अवसर पाउनु ठूलो सौभाग्यको कुरा थियो ।

हरिहर संस्कृत पाठशालाले आफ्नो स्थापना कालदेखि वर्तमानसम्म विभिन्न आरोह–अवरोह पार गर्दै आएको छ ।  कहिले यसले अत्यन्त गौरव पूर्ण रूपमा मौलाउने अवसर पायो भने कहिले यसले धेरै दुःख कष्ट पनि व्यहोर्नुप¥यो ।  बीचमा एकपटक त झण्डै आफ्नो अस्तित्वसमेत गुमाइसकेको यस विद्यालयले गुरु धनञ्जय मरासिनी, नारायण गौतम एवं स्थानीय वुद्धिजीवीहरूको अथक प्रयासबाट क्रमशः आफ्नो अस्तित्वलाई पुनःजीवित गर्दै आफ्नै गाउँको अनुज विद्यालयलाई समेत आफैँमा समाहित गरी विभिन्न हाँगाबिगा सहित फेरि फैलिने अवसर पाएको छ ।  यस विद्यालयमा वि.सं. १९९७ देखि २००२ सम्म मध्यमासम्मको पढाई खिदिममा गरी परीक्षा दिन बनारस जाने व्यवस्था मिलाइएको थियो ।  पछि खिदिममा प्रथमासम्मको अध्ययन सकी बाँकी अध्ययनका लागि बनारस जाने र बनारसमा पनि हरिहर गौतमद्वारा स्थापित हरिहर संस्कृत महाविद्यालयमा छात्रवृत्तिसमेत पाई पढ्ने व्यवस्था मिलाइएको थियो ।  यसरी शिक्षाको ज्योति प्रज्वलित गर्ने महापण्डित दधिराम मरासिनीको दृढ प्रतिज्ञा र महमना हरिहर गौतमको आर्थिक योगदानको कारण एउटा महाविद्यालयले विश्वविद्यालयकै स्तरको गुरुतर दायित्व निर्वाह गरेको कुरा सर्वविदितै  छ ।
स्थानीय शिक्षक एवं बुद्धिजीवीहरूको सुझबुझपूर्ण प्रयास स्वरूप आर्थिक सबलता एवं गुणात्मकतालाई संयोजन गर्ने उद्देश्यले २०३१ सालमा दुवै विद्यालयलाई एकीकरण गरी श्री हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयको रूपमा स्वीकृति प्राप्त गरिएको थियो ।  यसरी संस्कृत र साधारण विद्यालयलाई संयोजन गरी एउटै विद्यालयको रूपमा सञ्चालन गरिएको घटनालाइ प्रथम प्रयोगको रूपमा लिन सकिन्छ ।

यस विद्यालयबाट उत्पादित हजारौँ विद्वान् अहिले शिक्षा, स्वास्थ्य, साहित्य, प्राविधिक, राजनीति क्षेत्र र निजामती सेवामा क्रियाशील छन् ।  वर्तमानमा संस्कृतको अध्ययन–अध्यापन तथा अनुसन्धानमा आएको शिथिलताको सन्दर्भमा संस्कृत भाषाका अपूर्व ग्रन्थनिधि र तिनमा रहेका अमूल्य रत्नलाई समय सापेक्ष रूपमा जनसाधारणमा ल्याई तिनीहरूको उपयोग तथा प्रयोग गराउने, सर्वसाधारणलाई संस्कृतप्रति रुचि जगाउने तथा यस भाषालाई पूर्ण वैज्ञानक एवं व्यवहारमूलक विद्याका रूपमा विकशित गर्ने दायित्व अहिले हरिहर संस्कृत विद्यालयका पूर्वछात्र र हाल जीवित रहेका संस्कृतका विद्वान्को काँधमा आइपरेको छ ।

SHARE