संस्कृत जोगाउन युवा सक्रिय

5

अर्घाखाँची — यहाँ दलित र जनजातिले पनि संस्कृत पढिरहेका छन् । संस्कृत भाषा संकटमा परेपछि जोगाउन युवापुस्ता सक्रिय बनेका हुन् । अंग्रेजी र प्राविधिक शिक्षाले यो भाषा लोप हुन लागेकाले जोगाउन सक्रिय बनेको उनीहरूले बताए ।

उनीहरूले संस्कृत विषय पढेर विभिन्न मठमन्दिरमा पुरोहितको काम गर्न थालेका छन् । पहिले ब्राह्मण जातिकाले मात्रै पुरोहितको काम गर्ने परम्परा थियो । यहाँ अहिले क्षत्री, जनजाति र दलितले संस्कृत अध्ययन गरिरहेका छन् । गाउँ र सहरका पूजापाठ, विवाह, व्रतबन्धलगायतका कार्यक्रम पाका उमेरका व्यक्तिसँगै युवाले पनि पुरोहित्याइँ गरिरहेका देखिन्छन् ।

जिल्लाको पाणिनि गाउँपालिकाको पोखराथोकस्थित हरिहर संस्कृत तथा साधारण मावि र सिद्धेश्वर शिवालय मन्दिरमा संस्कृतका कक्षा सञ्चालनमा छन् ।

हरिहरबाट यस वर्ष ३२ जनाले परीक्षा दिए । यहाँ ६ देखि १० कक्षासम्म पढाइँ हुन्छ । पाणिनि वेद विद्याश्रम स्कुलमा १७ जना विद्यार्थीले संस्कृत पढिरहेका छन् । मन्दिरमा दुई वर्षदेखि संस्कृत पढदै गरेका गुल्मी मदाने गाउँपालिका–७ का १६ वर्षीय नवराज घिमिरेले संस्कृत भाषा बचाउने उद्देश्यले पढ्न आएको बताए । ७ कक्षा उर्त्तीण गरेर उनी यहाँ पढ्न आएका हुन् ।

‘धर्म र संस्कृति जोगाउनु छ । मैले पढेपछि पुरोहितको काममा लाग्नेछु,’ उनले भने, ‘वेद, कर्मकाण्ड, भाषा, व्याकरण र रुन्द्रीसम्बन्धी अध्ययन गरिरहेको छु ।’ अध्ययन गरेकामध्ये केहीले पुरोहितको काम गरिरहेका छन् । संस्कृत शिक्षक मदन पौडेलले संस्कृत पढ्नेमा धेरै दलित र जनजाति समुदायका रहेको बताए ।

यस शैक्षिक सत्रमा परीक्षा दिएका ३२ जनामध्ये २५ जना दलित र जनजाति छन् । छात्रा पनि छन् । कक्षा ६ मा ५ जना, ७ मा ८ जना, ८ मा ६ जना र ९ कक्षामा ३ जना छात्राले परीक्षा दिएको उनले बताए । ‘गाउँमा पुरोहितको काम गरेर जीवन धान्न अलि गाह्रो छ,’ उनले भने, ‘व्यावसायिक कृषि, कुनै व्यावसाय र जागिर पाए मात्रै बस्ने र पुरोहितको काम गर्ने भेटिन्छन् । धेरै पुरानै पुस्ताले पूजापाठमा पण्डित छन् ।’

व्याकरण जान्नका लागि संस्कृत भाषा पढिरहेको उनले बताए । भाषाविज्ञ बन्न सहज हुन्छ । ऐच्छिक विषय भएकाले पढनप्रति रुची बढदो छ । सरकारले संस्कृत भाषा पढाइप्रति ध्यान नदिएकै कारण लोप हुन लागेको उनले बताए । ‘ संस्कृत भाषा जोगिने झिनो आशा छ,’ उनले भने, ‘छुट्टै पढ्ने कक्षाकोठा र ल्याबको व्यवस्था हुनुपर्ने हो तर त्यो छैन ।’

गाउँ र सहरमा पूजापाठ गर्ने क्रम बढदो छ । शान्ति प्रक्रियापछि सहरमा गल्ली कब्जा गरेर गरिने रुन्द्रीलगायतका पूजापाठले रौनक ल्याएको छ । मन्दिरमा भीडभाड, र्‍यालीलगायतमा जमघट देखिन्छ । ‘द्वन्द्वले असर गर्‍यो,’ पण्डित रुन्द्रप्रसाद घिमिरेले भने, ‘गाउँमा पुरोहितको काम बढेको छ ।’

विद्यालयको वार्षिकोत्सव, रजत र हिरक महोत्सव, महोत्सवमा पनि पुरोहितबाट शान्ति पाठ गराइन्छ । विकास निर्माणका कामका शिलान्यास र उद््घाटन पनि पुरोहितबाट गराइन्छ । यस्तो कामबाट आम्दानी राम्रै हुने भएकाले युवा आकर्षित भएका छन् । रुन्द्री, ग्रहदशा, विवाह, व्रतबन्ध गरेबापत १ हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । अन्य सामान दिन्छन् । गाउँमा गुरुबा भनेर सम्मान पाइने र पैसा पाइने भएकाले काम राम्रो मानिने उनले बताए ।

परम्पराअनुसार जन्मेको ११ दिनमा न्वारन गर्ने चलन छ । त्यतिबेला नाम र जनै राखिदिएका गुरुलाई सधैं सम्मान गरेर ढोगिदिने चलन छ । सधैं शुभकार्यमा बसेर पूजापाठ गर्न पाइने भएकाले बेग्लै आनन्द आउने युवा पण्डित घनश्याम मरासिनीले बताए । विवाह, व्रतबन्ध, विभिन्न पूजापाठसँगै मृत्यु भएका घरमा गएर काम गर्छु, उनले भने ।

संस्कृत भाषा लोप हुन नदिन पुरोहितको काम गरेको उनले बताए । पुरोहितका कामबाट वर्षमा एक लाख रुपैयाँ कमाइ हुने र गाउँमा गएपछि सम्मान पनि पाइने उनले बताए । संस्कृत भाषाको संरक्षण, गुरु र चेलाबीच आदार–सत्कार मात्रै नभएर समाजलाई अनुशासनमा बाँध्ने विधि पनि भएको पण्डित रुद्रप्रसार घिमिरेले बताए । शैक्षिक रूपमै मान्छे अनुशासनमा बाँधियो भने समाज शान्त, व्यवस्थित र राम्रो बन्छ, उनले भने । विकास पनि हुन्छ । मान्छेलाई कर्मशील, नम्र, विनम्र समाज बनाउन संस्कृत भाषा जोगाउनैपर्ने उनको भनाइ छ ।

SHARE