पटौटी-तम्घास सडकले पाणिनिलाई फाइदा

5

अर्घाखाँची — जिल्लाको पटौटी–दुर्गाफाँट–खज्र्याङ–सिमिचौर–तम्घास सडक धमाधम निर्माण भइरहेको छ । रूपन्देहीको सालझन्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटनसम्म पुग्ने निर्माणाधीन सडकखण्डबाट यो सडक छुट्टिएको छ । यसको निर्माणपछि बुटवल आउजाउ गर्न गुल्मीका बासिन्दा आतुर छन् । यो सडक निर्माण सम्पन्न भएपछि पाणिनि गाउंपालिकावासीलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।

सालझन्डीदेखि पटौटीसम्म डबल कटिङ सडक छ । पटौटीबाट तम्घाससम्म ३४ किमि सडक ५ वर्षदेखि निर्माण भइरहेको छ । यसै वर्ष पटौटीदेखि दुर्गफाँटसम्म ७ किमि सडक ग्राभेलको काम ६ करोड रुपैयाँको लगानीमा चलिरहेको छ । पटौटी–तम्घाससम्म १३ करोड रुपैयाँको लगानीमा सडक निर्माणको काम जारी छ । ६ करोडमा खज्र्याङ–राङवाससम्म कल्भर्ट, मेसिनरी वाल, टेबा पर्खाल निर्माणको काम पनि भइरहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाका इन्जिनियर अशोक पौडेलले बताए । सिमिचौर–देउरालीसम्मको सडक निर्माणका लागि १ करोड २५ लाख रुपैयाँको लगानीमा काम भइरहेको छ ।

सडकको काम असार मसान्तभित्र सक्नुपर्छ । तर ठेकेदारले ५० प्रतिशत मात्रै काम गरेको पौडेलले बताए । यो सडक निर्माण सम्पन्न भएर गाडी चलेपछि गुल्मीवासीलाई धेरै राहत हुन्छ । तम्घासबाट तानसेन हुँदै बुटवल आवतजावतभन्दा पटौटी हुँदै बुटवल आउजाउ गर्न दूरी छोटो पर्छ । तम्घास–तानसेन–बुटवल १ सय १५ किमि छ । तम्घास–पटौटी–सालझन्डी–बुटवल सडक ९५ किमि छ । २० किमि छोटो हुन्छ । सडक पूरै निर्माण गर्न सरकारसँग थप बजेट माग गरेको उनले बताए । निर्माण सम्पन्नपछि अर्घाखाँचीको खिदिम, चिदिकासहित गुल्मीका सर्वसाधारणलाई यात्रा सहज हुने र उत्पादिन वस्तु तराई पुर्‍याउन फाइदा हुने उनले बताए । पटौटी–तम्घास सडकको चौडाइ १० मिटर हो तर ठेकेदारले समयकै काम नगर्दा ढिलासुस्ती भएको छ ।

यो सडक छिटै निर्माण भएर गाडी सुचारु होस् भन्नेमा गुल्मीवासी छन् । ‘गुल्मीका लागि धेरै फाइदा हुन्छ,’ उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले भने, ‘दूरी छोटो भएकाले ढुवानी खर्च कम भएपछि सामान सस्तो हुन्छ । डबल कटिङ र सजिलो सडक भएकाले यात्रा सहज हुन्छ ।’ तम्घासदेखि बुटवलसम्म यात्रा जोखिमपूर्ण रहेको उनले बताए । तम्घास–रिडी झनै जोखिम छ । पाल्पाको जोर्तेको डरलाग्दो सडक पार नगर्दासम्म मन त्रसित हुने भुसालले बताए । तम्घास–पटौटी सडक निर्माण भएपछि फराकिलो र डरलाग्दो पहाडको बीचबाट सडक नभएकाले यात्रा गर्न ढुक्क हुने उनले बताए । सालझन्डी–पटौटी ४२ किमि सडकको ग्राभेल, नाली काट्ने काम धमाधम भइरहेको छ । तम्घास–पटौटी सडकमा गाडी सुचारु भएपछि पर्यटकीय स्थल रिडी र रेसुंगामा पर्यटक भित्र्याउन सजिलो हुने उनले बताए ।

लुम्बिनी आएका पर्यटक पूर्व–पश्चिम राजमार्ग सालझन्डीसम्म सहजै आउँछन् । त्यहाँबाट पाल्पाको सत्यवती र अर्घाखाँचीको पटौटीबाट सीधै खज्र्याङ हुँदै तम्घाससम्म पनि सडक सजिलो र दूरी छोरो भएपछि रेसुंगालगायत गुल्मीका धेरै धार्मिक पर्यटकीय ठाउँमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना छ । अर्घाखाँचीको खिदिम, पोखराथोक, पटौटी, नियाली कृषि उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादन तराई पुर्‍याउन धेरै सजिलो हुने देउरालीका कृषक शंकर घिमिरेले बताए । अहिले पनि यो बाटोमा बस, ट्रक चल्छन् । पिच भएपछि सजिलो हुन्छ । पटौटी–तम्घास सडक सञ्चालन गर्न सांसद भएका बेला कांग्रेस नेता चन्द्र भण्डारीको पहलमा सुरु भएको हो । गुल्मीको तम्घासबाट बुटवल जाँदा–आउँदा पाल्पाको जोर्तेमा करिब १ किमि सडक पार गर्दा सिमिचौरकी जानुका पाण्डेको मन थरर काँप्छ । डरलाग्दो भीरको छाँगोको बीचबाट छेडेर बनाइएको सडक उकालो, साँधुरो र ग्रेड नमिलेको छ । सडक पार गर्दा चालक पनि सतर्क हुन्छन् । त्योभन्दा अझै जोखिम सिद्धबाबा क्षेत्रको सडक पार गर्दा हुन्छ ।

SHARE