पर्यटकको रोजाइमा मालारानी

5

अर्घाखाँची– जिल्लाका धार्मिकसहित१६ पर्यटकीय स्थलमा पर्यटकको आकर्षण बढेको छ । सबैभन्दा धेरै सुपादेउराली मन्दिरमा आन्तरिक र बाहय पर्यटक आउने गरेका छन् । मनोकांक्षा पूरा हुने विश्वासमा मन्दिरमा दर्शन र पूजापाठका लागि दैनिक सयौं पुग्छन् ।
सन्धिखर्क–गोरुसिंगे सडकमै पार्ने भएकाले धेरैको रोजाइमा यो परेको हो । भक्तजनले चढाएको भेटी दैनिक २५ हजारभन्दा बढी हुने मन्दिर सञ्चालन समितिका सचिव यादव घिमिरेले बताए । धेरैजसो तराईका जिल्ला र भारतबाट घुम्न आउने पर्यटकको घुइँचो लाग्छ ।
लुम्बिनी आएका केही विदेशी पर्यटक पनि सुपादेउरालीसम्म आउँछन् । दाङबाट आएका सुमन केसीले इच्छा पूरा हुने विश्वास लागेर दर्शन गर्न आएको बताए । भारतबाट आएका अजिर अन्सारीले मनोकांक्षा पूरा हुने विश्वासले आएको बताए ।
सुपादेउरालीदेखि ३ किलोमिटरको दूरीमा रहेको नरपानीमा तराईबाट गर्मी छल्न आउने धेरै छन् । यहाँ पर्यटकलाई बस्न र खाने राम्रो व्यवस्था छ । स्थानीय उत्पादनका परिकार खुवाएर, नाचगान गरेर पहाडका हरियाली डाँडा देखाएर भुलाउन सके आम्दानी बढन सक्ने पर्यटन व्यवसायीको विश्वास छ ।
बाइसे चौबीसे राजा बसेका अर्घा दरबार, खाँची दरबार, छत्रगन्जको छत्रमहाराजको मन्दिर, जंगबहादुर जन्मेको वाङलाको मथुरा दरबार र धार्मिकस्थल पनि पर्यटकीय स्थलका रूपमा परिचित छन् ।
पणेनाको पाणिनी तपोभूमिमा ऐतिहासिक पर्यटकीय स्थल हो । ३ सय वर्षपहिले पाणिनी भन्ने व्यक्तिले विश्व शान्तिको कामना गर्दै तपस्या गरेका थिए । यहींबाटै नेपाली व्याकरणको सुरुवात भएको मानिन्छ । त्यसैले पर्यटकको आकर्षण बढेको पोखराथोकका अच्युत गौतमले बताए ।
वामरुकमा रहेको नरसिंहथानको महत्त्व पनि उत्तिकै छ । हिरण्यकश्यपुलाई काखमा राखेर मारेको शिला पनि यहाँ छ । ढुंगाभित्र दरबारको चारकोठे प्राकृतिक गुफा, नरसिंह उत्पत्ति हुँदा फुटेको ५२ हात अग्लो र त्यति नै फेरो भएको नरिसंहको शिला छ ।
धार्मिकस्थल हंसपुर र खनदहबीच रहेको मालारानी मन्दिर, मनचिन्ते पानी, जालकाँडाको लेक घुम्नलायक स्थान हुन् । ऐतिहासिक ठाडाको डमरु दह, धनचौरको सेङलेङ दह, खिदिमको दुर्वासेश्वर गुफा, धातीवाङ सिद्धेश्वर गुफा, बल्कोट पौवा, वाणजंगा धाम पनि आन्तरिक तथा बाहय पर्यटकको रोजाइमा पर्छन् ।

SHARE