गोखुंगामा सीपले बस्ती नै स्वरोजगार

16
हेडमिस्त्री हुमबहादुर पुन  ।

अर्घाखाँची — गाउँको चारैतिर अग्ला पहाड । घरमाथि र तल भीरको बीचमा सेपाने गाउँ छ । १ सय ४ घर रहेको बस्तीबाट साढे २ घण्टा उक्लेर सिमेदेउराली आइपुगेपछि बल्ल गाडी देख्न पाइन्छ । मोटरबाटो निर्माण त भएको छ तर गाडी चल्दैनन् । दुर्गम बस्ती भएकाले राज्यको उपस्थित न्यून छ । छिटफुट विदेश गए पनि धेरैजसोले घर छाडेका छैनन् ।

जताततै सरकारी भवन र निजी घर बनाउने मिस्त्री र कामदारको अभाव छ । तर, यहाँ घरैपिच्छे घर बनाउने र फर्निचरका सामग्री तयार गर्ने मिस्त्री पाइन्छन् । महिला/पुरुष घरमा प्रयोग हुने झ्याल, ढोका, दराज, कुर्ची, टेबललगायत सजावटका सामग्रीका कलात्मक कालीगढकै रूपमा प्रख्यात छन् । गाउँमा खेतबारी बाँझो र घर रित्तो देखिँदैन । खेतबारी जोत्न सबैका घरमा गोरु छन् । अन्न उब्जनीसँगै घर निर्माणको काम युवादेखि पाका उमेरकाले पनि गर्छन् ।

मालारानी गाउँपालिका ९ मा पर्ने सेपाने बस्तीको सबैजसो घरमा ढुंगाको छाना र गोठमा जस्तापाता, शौचालय र सफासुग्घरले चिटिक्क छ । १ सय ४ घरमा साढे ५ सयभन्दा बढी जनसंख्या छ । ४ समूहमा विभाजन भएर घर, गोठ निर्माणमा उनीहरू जुट्छन् । मूलकर्मीलाई समूहको नेता मानिन्छ । चिप्लेटी टोलमा मूलकर्मी सन्तबहादुर पुनको नेतृत्वमा १७ जना, लामाटोलका चुनबहादुर पुनको टोलीमा ११, पल्लाटोलका हिमबहादुर पुनको अगुवाइमा १० र साँटा टोलमा कृष्णबहादुर नेपालीको नेतृत्वमा ९ जना मिस्त्री छन् । अरू सबै मिस्त्रीलाई सघाउने कामदार छन् । फर्निचर र घर निर्माणको सीप भएका मिस्त्रीलाई व्यवस्थित रूपमा परिचालन गर्न मुख्य मिस्त्रीको नेतृत्वमा सबै काममा खटिने काठ मिस्त्री हुमबहादुर पुनले बताए ।

असार, साउन र भदौमा घरभित्रको पलङ, खाट, कुर्ची, बाख्राको खोर निर्माण, घर र गोठमा पुराना झ्याल, ढोका र काठ फेर्ने गर्छन् । अरू महिना गैंती, कोदालो, बेल्चाले घडेरी सम्याउने, गारो लगाउने, ढुंगा, माटो, बालुवा, गिट्टी बोक्ने काम गरिन्छ । महिलाले माटो, ढुंगा बोक्ने, गिट्टी कुट्ने, सामान ओसार्ने र पुरुषले अरू सबै गर्छन् । महिलाले दैनिक ५ सय, पुरुषले ६ सय र मुख्य मिस्त्रीले अलि बढी ज्याला पाउने उनले बताए । धेरै टाढा पनि घर निर्माणकालागि जानुपर्छ ।

गोखुंगा, ढाकाबाङ, धारापानी, हंसपुरलगायत पश्चिमी क्षेत्रका गाउँमा घर निर्माण गर्न सेपानेकै मिस्त्री र कामदार पुग्छन् । सहर र अन्य गाउँमा सरकारी भवन र घर निर्माणका लागि तराई र भारतका मिस्त्री भेटिन्छन् । यहाँ बाहिरका मिस्त्री देखिँदैनन् । घर निर्माणका लागि रूख ढाल्ने, चिर्ने, झ्याल, ढोका, मसी, दलिन तयारी गर्ने, सुर कुँद्ने, गारो लगाउन ढुंगा फुटालेर कुँद्ने, बोक्ने, घरको छानो जस्तापाता र ढुंगाले छाउने काम भ्याइनभ्याइ भएको पुनले बताए । गोखुंगाको सूर्य मावि, वडा कार्यालय पनि यिनै टोलीले बनाएका छन् ।

विदेश र भारतमा यो गाउँबाट ५ प्रतिशत युवा मात्रै गएको स्थानीय व्यापारी चन्द्रमणि खनालले बताए । ‘कच्ची र पक्की घर निर्माण गर्न सेपानेका मिस्त्री प्रख्यात छन्,’ उनले भने, ‘सिकर्मी र डकर्मीको सीप सबैसँग छ । सेपानेकै मिस्त्रीलाई घर बनाउन धेरैले लामो समयसम्म कुरेर बस्छन् ।’ बेरोजगार कोही छैनन् । पुराना र नयाँ डिजाइनका घर निर्माण गर्न मिस्त्री पोख्त रहेकोउनले बताए ।

कच्ची घरका कुदेर बनाएका चार ‘सुर’ चिटिक्क देखिन्छन् । ‘कच्ची घरको नयाँ डिजाइन हामी आफैं बनाउँछौं,’ मुख्य मिस्त्री नेपालीले भने, ‘पक्की घरको सहरमा गएर हेरेपछि बनाउन सकिन्छ । गाउँमा घर बनाइदिन एक वर्षअघि नै अर्डर आउँछ । सिकर्मी र डकर्मी सीपले यहीं काम र पैसा पाइएको छ, किन विदेश जानू ?’ पाका उमेरका मिस्त्रीले युवालाई सीप सिकाउने गर्छन् । उच्च शिक्षा पढेका युवा पनि विदेश नगएर मिस्त्री बनेका छन् । घरमा भैंसी पालेर दूध, घिउ, मही, खेतबारीमा अन्न, दाल र तरकारी फलाएर ताजा खान पाइएको छ, परिवारसँगै बस्न पाएपछि विदेश जाने मन छैन, युवा मिस्त्री रामबहादुर पुनले भने । सबैका घरमा दुहुना छन् । दूध घरमै खान्छन् । गोरु, बाख्रा र बंगुर पालेका छन् । सेपानेमा ५८ घर जनजाति, ८ दलित र ३८ घरमा क्षत्री/ब्राह्मण बसोबास गर्छन् ।
SHARE