भिरपाखो गोखुंगालाई पर्यटकीय स्थल बनाउँछु : वडाध्यक्ष पुन

534
वडाध्यक्ष फनबहादुर पुन मगर ।

अर्घाखाँची गोखुंगामा जन्मिनुभएका फनबहादुर पुन मगर समाजसेवामा सक्रिय हुनुहुन्छ । स्थानीय तहको निर्वाचनमा अर्घाखाँची मालारानी गाउँपालिकाका  –९ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । वडाको विकासबारे जननी खबरले गरेको संक्षिप्त कुराकानी ।

वडाको विकास कसरी भएको छ ?
सबै जनतासंगको समझदारीमा विकास योजना विनियोजन गरी काम भएको छ । सबै योजना उपभोक्ता समिति मार्फत गरिएका छन । आफनो गाउंको विकासमा स्थानीयलाई नै सक्रियता बनाउन समिति मार्फत काम गरिएको हो । आर्थिक कारोबार सहित समिति मार्फत काम भएका छन । सबै योजना, कार्यक्रम पारदर्शी ढंगबाट छिटो छरितो रुपमा सम्पन्न भए ।

विकास गर्न भूगोलले कत्तिको साथ दिएको छ ?
वडाको भूगोल अलि जटिल र अप्ठेरो नै छ । विकासका पूर्वाधार र योजना निर्मँण गरेर काम गर्न अति गाह्रो छ । अप्ला डांडा र पाखो भूभाग भएकाले समस्या नै छ । यस्तो जटिलतामा विकासको नक्शा बनाउनै मुस्किल पर्छ । बजेट थोरै छ । विकास योजना सम्पन्न गर्न धेरै बजेट चाहिन्छ । पहाडको खोच र पाखोमा बस्ती रहेको छ । जटिल भएपनि खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, मोटरबाटो लगायत पूर्वाधार विकास लैजानै पर्ने हुन्छ । जटिल भूगोलका कारण विकास गर्न समस्या नै छ ।

यस आर्थिक वर्ष प्रमुख योजना के थिए ?
पहिलो वडाको भवन निर्माण गरियो । ४५ लाख रुपैयां खर्च भयो । अझै पुरा भएको छैन । आउंदो आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । खानेपानी योजना सञ्चालन भए । मोटरबाटोको स्तरोन्तती, निर्माणका काम सम्पन्न भए । पस्लेङमा मोटर खनियो । गोखुंगा–ढाकावाङ बाटो निर्माण भैरहेको छ । वडाभित्र रिङरोड छैन । बस्तीमा रिङरोड निर्माण गर्ने लक्ष्य छ । कृषिमा उत्पादन वृद्धि गर्न विभिन्न तालिम सञ्चालन भए । बाख्रापालन विस्तार गरियो । वडाका सबै विद्यालयमा विद्यतु जडान गरियो । तारवार गरियो । लगायत पूर्वाधार विकास र अन्य विकास निर्माणका काम सम्पन्न भए ।

५ वर्षभित्रका गोखुंगा विकास र सम्बृद्धिमा कस्तो देख्न पाइन्छ ?
जटिल भूगोलका कारण कृषि र पशुपालनमा फड्को मार्ने संभावना कमै छ । तैपनि बजेट विनियोजन गरेरै उत्पादनलाई वृद्धि गर्ने र पशुपालनलाई विस्तार गर्ने कार्यक्रम राखिएको छ । सबै बस्तीमा मोटरबाटा निर्माण गर्ने लक्ष्य छ । अग्लो चुचुरो र पहाडै पहाड पाखा पखेरा सहितको वडाको भूगोल छ । गोखुंगामा छिटफुट पर्यटक भित्रिने गर्छन । अर्घाखांची र प्युठानको केन्द्र विन्दु भएकाले पनि गोखुंगालाई पर्यटकीय स्थलको रुपमा विकास गराउने योजना छ । त्यसको लागि भ्युटार निर्मँण गर्न प्रदेश सरकारसित बजेट माग गरिएको छ । चिसो हावापानी छ । जताततै देखिन्छ । गर्मी छल्न गोखुंगा जानै पर्ने गरी विकास गर्छु । पर्यटकीय गन्तव्यको रुपमा विकास भएको देख्न पाइनेछ ।

SHARE