नरसिंह अवतार

3

अर्घाखाँचीको मालारानी गाउँपालिका– ७ बामरुकमा अवस्थित यो धार्मिक स्थल सदरमुकाम सन्धिखर्कदेखि १८ किलोमिटरको दूरीमा रहेको छ । विष्णु पुराणअनुसार सत्ययुगमा विष्णु भगवान्ले चौथो अवतारको रूपमा नरसिंह अवतार यहाँबाट लिई दैत्य राजा हिरण्यकश्यपको बध गरी भक्त प्रह्लादको रक्षा गरेका थिए ।

यस स्थानको विकासक्रमलाई नियाल्दा स्थानीय मणिराम बस्नेतलाई वि.सं. १९९० सालदेखि देहमा वैराग कष्ट भई ज्ञान वैराग भएको, २००१ सालमा दिव्य सपना भई उनले नरसिंहको दर्शन पाएको, सपनामा नरसिंहले ‘मैले पूजा पाइनँ, तैँले मेरो सेवा सुश्रुषा गर’ भनेको र २००३ सालदेखि ध्यानदृष्टिमा नरसिंहको दर्शन पाउने गरेपश्चात् उनी नरसिंह भक्तको रूपमा विकसित भए ।

उनले जीवनभर ध्यान–दृष्टि, जप–तप र नित्य पूजा गर्दै अत्यन्त सात्विक जीवन बिताए र २०५६ सालमा स्वर्गे भए । गाउँका पाका पुराना मानिसका अनुसार उनले शुरु–शुरुमा ‘राणाजीको शासन तोडिन्छ, जमिनमा डोर नक्सा आउँछ, आकाशमा हवाईजहाज उड्छन’ जस्ता ठूलाठूला भविष्यवाणी गर्दा गाउँका मुखिया–जिम्मावाल तथा भद्र–भलाद्मीहरूले यो मने बस्नेत बहुलायो आदि पनि भन्दा रहेछन् ।

कालान्तरमा आकाशमा हवाईजहाज उड्नु, राणशासन तोडिनु अनि गाउँमा नापी आउनुजस्ता कुराले उनीप्रति गाउँवासीहरूको विश्वास पनि बढ्दै गयो । स्व. बस्नेतको दिनचर्या भक्तिभावमै बितेको र नरसिंहस्थानमा विशाल शिलाछेउ, ढाक्रेपानी खरियारूख भन्ने ठाउँमा नरसिंह शिलाको मुढनजिक, द्वारेखोलामा गणेश कुम्भ देवताको र आफ्नो घरको आँगनमा पनि मन्दिर बनाई चार ठाउँमा एक्लै पूजाआजा गरेको बुझिएको छ ।

उनले त्यसबेलाको समयअनुसार नरसिंह भगवान्का मूर्ति तामाका, नाग तथा चक्रहरू फलामका बनाएर पूजाआजा गर्ने गरेका थिए जुन अहिले पनि यथावत् प्रचलनमा छन् । वि.सं. २०२५/०२६ सालतिर गोविन्दराम आनन्द नाम गरेका एकजना भारतीय व्यक्ति शिक्षकको रूपमा बामरुकमा आएका बेला उनले सो समय नरसिंहबारे कपडामा तयार पारेको एउटा चित्रपटसमेत हालसम्म सुरक्षित रहेको छ ।

नरसिंहस्थान परिसरको प्राकृतिक दृश्य अत्यन्त मनमोहक एवम् दर्शालु र भक्तजनको मनलाई लोभ्याउने खालको छ । वरिपरिको घना जङ्गल र विविध प्राकृतिक रूपका शिलाहरू यस स्थानका विशेषता हुन् । यहाँ रहेको प्राकृतिक चारढोके गुफा, नरसिंह उत्पत्ति हुँदा फुटेको फटिकको मौलो, नरसिंह उत्पत्ति हुँदाका बखतको भयानक रूप स्वरूप ५२ हात अग्लो र ५२ हात फेरो भएको विशाल प्रस्तरशिला र नरसिंहले हिरण्यकश्यपलाई आफ्नो काखमा राखी मारेकाले शिलाको काखमा हिरण्यकश्यप राक्षस रहेको प्राकृतिक दृश्य यहाँ प्रस्टसँग देख्न सकिन्छ ।

यिनै प्राकृतिक वस्तुहरू नरसिंहस्थानका सम्पदा हुन् । मुलुकमा महाभूकम्प हुँदै गर्दा यस क्षेत्रको वरपरका गाउँहरूसमेत प्रभावित बनेका भए पनि यहाँनिर रहेका ठुल्ठुला कुनै पनि शिलाहरूलाई महाभूकम्पले समेत कुनै क्षति नपुऱ्याएको मालारानी गाउँपालिकाका सवइन्जिनियर हरिशचन्द्र पाण्डेको भनाइ छ ।

यथार्थमा विष्णु भगवान्ले नरसिंहको रूपमा चौथो अवतार लिँदा ब्रह्मा, शंकर, इन्द्रादि सम्पूर्ण देवीदेवता यस स्थानमा उपस्थित भएका र ती सबै शिलाको रूपमा परिणत भएका भनी यहाँका एक–एक शिलालाई ईश्वरका नामले नामाकरण गरिएको छ ।

विगतको समयमा, स्व. दण्डपाणि मरासिनीको सम्पर्कबाट योगी नरहरिनाथ यस पवित्र तीर्थस्थलमा आई यहाँको भौतिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पूर्ण पक्षलाई केलाई यो स्थान यथार्थमा नरसिंहको उत्पत्ति स्थल रहेको भनी यस स्थललाई पुरातत्व विभागको राष्ट्रिय अभिलेखालयमा पर्यटन विकास क्षेत्रको रूपमा दर्ता गरेको भन्ने पनि सुन्नमा आएको थियो ।

यो पवित्र स्थानको सांस्कृतिक पक्षलाई नियाल्दा यस नरसिंहस्थानस्थित मन्दिरहरूमध्ये प्रायः मन्दिरहरू शिलासँग जोडेर बनाइएका छन् । विशाल शिलाछेउ विष्णु भगवान्को चौथो अवतार श्री नरसिंह भगवान्को पूजा हुन्छ । त्यहाँ खिरको भोग चढाउनुको साथै गाईको दूधले शिलालाई नुहाइन्छ र अग्निकुण्डमा होम गरिन्छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन नरसिंह जन्मजयन्ती विशेष रूपमा मनाइनुका साथै प्रत्येक चतुर्दशीका दिन नियमित पूजा गरिन्छ । नरसिंह अवतारसँगै विशाल शिला फुटेर शिलाको शिर अलि तल ढाक्रेपानी खरियारूख भन्ने स्थानमा रहेकाले त्यहाँ पनि मन्दिर निर्माण गरी मुढ नरसिंहको पूजा गरिन्छ ।

नरसिंह जन्मजयन्ती वैखाख शुक्ल चतुर्दशीका दिन पहिले मुढ नरसिंहको पूजा गरेर मात्र विशाल शिलाछेउको मन्दिरमा पूजा गर्ने परम्परा रहेको छ । यसैगरी नारसिंहीदेवीको मन्दिर आस्था र मान्यताको हिसाबले यहाँको सबभन्दा बढी प्रचलित मन्दिर हो जहाँ नरसिंह भगवान्सँग आफ्ना विभिन्न मनोकाङ्क्षा राखी भाकल गर्ने भक्तजनहरूले भाकल चढाउने गर्दछन् ।

यस मन्दिरमा राँगा, पाठा, भेडा, कुखुरा, कुभिण्डो आदिको बलि दिइनुको अलवा परेवा उडाइन्छ । हिउँदे तथा बर्खे दुवै दशैँमा नवरात्रि पूजा गरिनुका साथै दुवै दशैँको नवमीका दिन अनि वैशाख र मङ्सिर पूर्णिमाका दिन बलि चढाउनेहरूको विशेष मेला लाग्दछ । यसअलवा हरेक पञ्चमी र पूर्णिमाका दिन नियमित पूजा तथा बलि चढ्ने गर्दछन् ।

यहाँ बलि चढाउन टाढा–टाढाबाट भक्तजनहरू आउने र भुसाल थरका पुजारी राख्ने परम्परा छ । यसैप्रकार नरसिंहस्थानस्थित दुर्गादेवीको शिलाबाट प्रत्येक असोज शुक्ल एकादशीका दिन सराहाँ नाच निकाली दिनभर गुर्दुमको चौरमा सराहाँ खेल्ने र साँझ सोही शिलामा ल्याई विसर्जन गर्ने चलन छ । दुर्गादेवीको मन्दिर आर्थिक अभावले हालसम्म निर्माण हुन नसकेको त्यस क्षेत्रका समाजसेवी व्यक्तित्व दलबहादुर भटराईबाट बुझिएको छ । नरसिंहस्थान परिसरमा रहेको शिव मन्दिरमा प्रत्येक शिवरात्रि र नागपञ्चमीका दिन विशेष मेलासहित पूजाआजा गरिनुका साथै प्रत्येक त्रयोदशीका दिन नियमित पूजा गरिन्छ । गाउँवासीले यस मन्दिरमा रुद्री पूजामार्फत शिवजीको पूजाअर्चना गर्ने क्रम वर्षैभरि चलिरहन्छ ।

त्यसैप्रकार अम्बिकादेवीको शिलासँग जोडी बनाइएको अम्बिकादेवीको मन्दिर र भक्त प्रह्लादको शिलासँग जोडी बनाइएको भक्त प्रह्लादको मन्दिरमा नरसिंह मन्दिरमा पूजा हुँदा नियमित पूजा हुन्छ । नरसिंहस्थानको भौतिक पक्षलाई नियालेर अध्ययन गर्दा कहिलेदेखि पूजापाठ गरिँदै आयो भन्ने कुराको कुुनै प्रमाण नभेटिए पनि नारसिंहीदेवीको बलि चढ्ने मन्दिरमा परापूर्वकालदेखि नै पूजा हुँदै आएको बुझिन्छ ।

यो मन्दिर पहिले खरले छाएको थियो । पछि हंसपुरका प्रधानपञ्च जगतबहादुर टण्डनले ०२८/२९ सालतिर ढुङ्गाको छानो राखी मन्दिरको पुनर्निर्माण गरेका थिए । त्यसपछि साना किसान विकास आयोजनाबाट ०५१/५२ सालमा मन्दिर तथा सँगै रहेको ठाँटी कर्कट पाताले छाउने काम भयो ।

यस मन्दिरलाई आ.व. ०७१/७२ मा विस्थापित गरी नयाँ मन्दिर निर्माण गरिएको हो । भारतीय सेनाबाट सेवानिवृत्त स्थानीय क्या. बलबहादुर खड्काको पहलमा ०४५ सालमा जिविसबाट कर्कट पाता र चन्दा सङ्कलनबाट विशाल शिलाछेउ नरसिंह भगवान्को चारढोके मन्दिर निर्माण गरिएको थियो जसको ठाउँमा आ.व. ०७२/७३ मा तामाको छानो राखी सुनौलो रङले रङ्ग्याई नयाँ मन्दिर निर्माण गरिएको छ ।

यस नरसिंहस्थानलाई पर्यटकीयस्थल बनाउने पर्याप्त सम्भावना रहेको तर पर्यटन पूर्वाधार तथा प्रचारप्रसारको हिसाबले पछाडि परेको भन्दै ०७१ सालमा यहाँको स्थानीय भेलाले दलबहादुर भटराईको अध्यक्षतामा ‘श्री नरसिंहस्थान पर्यटन पूर्वाधार विकास उपभोक्ता समिति संस्था दर्ता गरी हालसम्म क्रियाशील रहेको छ ।

उक्त संस्था दर्ता भएको पहिलो आ.व. ०७१/७२ मा नारसिंहीदेवीको मन्दिर (बलि चढाउने मन्दिर), आ.व. ०७२/७३ मा नरसिंह भगवान्को चार ढोके मन्दिर तथा भक्त प्रह्लादको मन्दिर, आ.व. ०७३/७४ मा नारसिंहीदेवी मन्दिर प्राङ्गणमा रंगशाला, आ.व. ०७४/७५ मा सत्संग भवन तथा आ.व. ०७४/७५ मा शुरु गरी आ.व. ०७५/७६ मा नारसिंहीदेवी मन्दिरनजिक एउटा सार्वजनिक शौचालयको निर्माणकार्य मालारानी गाउँपालिकाको विशेष सहयोगमा सम्पन्न गरेको छ । शिवजीको मन्दिर र जगत जननी अम्बिका देवीको मन्दिर यहाँ पहिले नै निर्माण भइसकेका थिए भने दुर्गादेवीको मन्दिर निर्माणको लागि प्रस्तावित रहेको बुझिएको छ ।

नरसिंहस्थानको नजिक अर्थात् बामरुक गाउँको टापुमा रहेको माईको थान नामले प्रख्यात भगवती मन्दिर रहेको छ । यो ठाउँ भुरेटाकुरे राजाका पालाको रजौटो रहेको भनिन्छ । त्यसबेला सुरक्षा घेरास्वरूप बनाइएको ढुङ्गेपर्खालको अवशेष अहिले पनि देख्न सकिन्छ । अग्लो स्थानमा रहेकोले यहाँबाट वरिपरिका विभिन्न स्थानका साथै हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

नरसिंहस्थानभन्दा अलि तल द्वारेढुङ्गा भन्ने स्थान छ जहाँ गणेश–कुम्भ देवताका शिला रहेका छन् । बामरुकस्थित यी स्थानको सेरोफेरोमा रहेका अर्घा भगवती मन्दिर, मालारानी मन्दिर, हंसपुरको बराह मन्दिर र गढीको लेक, हंसपुरमै राँगामारे मन्दिर तथा हंसपुर कोट र गोखुंगामा चौबाटीको लेक दर्शनीय स्थलको रूपमा रहेका छन् ।

यी सबै स्थलमा यातायातको सुविधा पुगेको र होमस्टेको समेत कार्य अगाडि बढेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यवाट जानकारी मिलेको छ ।

SHARE