विकासमा नमूना बन्दै मालारानी

22

अर्घाखाँची मालारानी गाउँपालिकाका कृषि, पर्यटन, पशुपालन र उत्पादनमा प्रचुर संभावना बोकेको मालारानी गाउंपालिकामा विकासको गति तीव्र रुपमा अघि बढेको छ । पालिकाको ९ वटै वडामा बाह्रै महिना मोटर चल्छन् । भौगोलिक हिसाबले सहज देखिएको मालारानी सदरमुकामको सन्धिखर्क नगरपालिकासंग जोडिएको छ । पालिकाबसीहरु सहजै सदरमुकाम आवतजावत गर्न सक्छन् ।

बांगी, हंसपुर, गोखुंगा, खन, खनदह र डांडोकटेरीको भूभाग समेटिएर बनेको मालारानीको पहिचान पर्यटकीय हिसाबले मालारानी मन्दिर, मनचिन्ते पानी, जालकांडाको लेक, बामरुक नृसिंहस्थान मन्दिर, रांगामारे मन्दिर, गोखुंगा लगायतका स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएका छन । यस्ता पर्यटकीय स्थलको विकास र सम्बृद्धिको लागि मालारानी गाउंपालिकाले बजेट विनियोजन गरेर संरचना निर्माण धमाधम गरिरहेको छ । मालारानी र नृसिंहस्थानमा दैनिक आन्तरिक तथा बाहय पर्यटक आउने गर्छन । उनीहरुलाई बास बसाल्न मालारानी मन्दिर नजिकै भवन निर्माण गरिएको छ । जंगलको बीचमा मन्दिर भएकाले धेरै हरियाली डांडाकांडामा रमाउन आउने गर्छन । पालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षत्रीले यसको विकासको लागि संघ र प्रदेश सरकारसंग पनि योजना बनाएर बजेट माग गर्नुभएको छ ।

नृसिंहस्थान मन्दिरमा दर्शनको लागि आउने भक्तजनलाई बास बसाल्न बामरुकमा होमस्टे तयार गरिएको छ । केही दिनमा उद्घाटन गरेर होमस्टे सञ्चालन गरिनेछ । पर्यटकलाई बास बसाल्न सकेमा पर्यटनबाटै बामरुकबासी स्वरोजगार हुने अपेक्षा जनप्रतिनिधिको रहेको छ । वामरुकमा उत्पादन पनि राम्रो हुन्छ । कृषि उत्पादन, पशुपालनमा राम्रो संभावना भएको वडा हो । होमस्टेमा बस्न, खाजा खान आउने पर्यटकलाई स्थानीय उत्पादनका खानाका परिकार नै खुवाउने अध्यक्ष आचार्यको योजना रहेको छ । गोखुंगामा पनि अग्लो बस्ती भएकाले पर्यटकीय संरचना निर्माण गरिनेछ । दसैको सराय नाच रांगामारे मन्दिरमा चर्चित छ । मन्दिरलाई व्यवस्थित गरि सहजै सराय नाच गर्न मिल्ने बनाइनेछ ।

कृषि क्षेत्रमा पनि मालारानी अगाडी नै छ । बांगीबाट दैनिक दूध, तरकारी, फलफुल, कुखुरा, खसीबोका सन्धिखर्क बजारमा आउंछ । मोटरसाइकल र गाडीबाटै किसानले बोकेर बजार ल्याई बिक्री गरेर घर फर्कन्छन् । वैदेशिक रोजगारमा जाने युवा गाउंमै कृषिबाट राम्रो कमाई हुने भएपछि यतै रोकिदैछन् । हंसपुर, गोखुंगा खन, खनदहमा बाख्रापालन कार्यक्रम पालिकाले सञ्चालन गरेको छ । मालारानीका सबै वडामा बाख्रापाल्ने संभवना भएकाले बोयर जातको बोका वितरण गरेको छ । छिटो तौल बढने बोयर जातको बोकाबाट उत्पादन हुने पाठापाठी छिटो हुर्कने, बढने र तौल धेरै हुने भएकाले यसलाई विस्तार गरिएको छ । गाइभैसीपालन गरेर दूध उत्पादन गर्ने योजना अनुसार पालिकाले काम गरेको छ । मुर्रा भैसी र जर्सी गाई पालन गराएर पालिकावासीलाई स्वरोजगारी बनाउने लक्ष्य छ ।सदरमुकाम नजिकै भएकाले दूध बिक्री गर्न समस्या छैन । दूधबाट, छ्रुर्पी लगायतका परिकार बन्दछन् । पशुपालनबाट राम्रो संभावना बोकेको मालारानीमा वामरुकबाट पनि दैनिक दूध सन्धिखर्क आउंछ । पालिकाले कृषि सम्बन्धी विभिन्न तालिम, प्राविधिक ज्ञान र फरक तरिकाले उत्पादनमा वृद्धि गर्ने तरिका सिकाएपछि कृषकमा बेग्लै उत्साह छाएको छ । कृषकलाई अनुदान, कृषि औजार वितरण भएको छ । प्लाष्टिक टनेल वितरण गरिएको छ ।

गाउंको कृषि उत्पादनलाई बजारसम्म पुराउन सबैभन्दा सहज सडक हो । सालझण्डी, सन्धिखर्क, ढोरपाटन सडक बांगी, हंसपुर हुंदै जाने भएको सदरमुकाम आउजाउ गर्ने बाटो फराकिलो छ । पोखरा, सुर्खेत सडक पनि खन खनदह, हंसपुर, गोखुंगा हुंदै जाने भएकाले यात्रा सहज छ । यी दुई ठूला सडक निर्मँण सम्पन्न भएर मोटर चल्ने भएपछि मालारानी पहाडी जिल्लाको संगम स्थल बन्ने संभावना पनि उत्तिकै छ । ९ वटै वडाको टोल टोलमा सडक खनिएका छन । केही गाउंमा बाटो लगिदैछ । मुख्य सडकमा वर्षामा पनि गाडी चल्छन् । पालिकाभरका सबै सडक पिच गर्ने योजना छ । कच्ची सडकमा पनि बाह्रै महिना गाडी चल्ने बनाइएको अध्यक्ष आचार्यको भनाई छ ।

शैक्षिक क्षेत्रमा पनि मालारानी अब्बल बन्दै गएको छ । स्कुलको शैक्षिक गुणस्तरवृद्धि गर्न सबै स्कुलमा अंग्रेजी माध्यममा पढाई सञ्चालन भएको छ । केही स्कुलको कक्षा घटुवा र मर्ज गरेर गुणस्तरवृद्धि गर्ने गरी काम भैरहेको छ । सबै बस्तीमा विद्युत विस्तार भएको छ । काठका पोल छन । अब काठका पोलमुक्त पालिका बनाउने लक्ष्य सहित काम भएको छ । टोलिफोन सेवा छ । सबैका हातहातमा मोवाइल फोन छ । सबै ठाउंमा सञ्चार सुविधा छ । गाउंमै बसेर टेलिभिजन र अनलाइन मार्फत संसारभरका खबर छिनभरमै थाहा पाउन सक्छन । इन्टरनेट सुविधा पनि विस्तार भएको छ । घरमै बसेर विदेशमा रहेको आफन्तसंग भिडियो च्याट्मा कुराकानी गर्न सकिन्छ ।

केही बस्तीमा खानेपानी समस्या छ । एक गाग्री पानी ल्याउन घण्ठौ समय खर्चिनुपर्ने बाध्यताबाट सर्वसाधारणलाई मुक्त बनाउन खानेपानी योजना सञ्चालन गरिएको छ । लिफ्ट प्रविधिबाट खोलाको पानी डांडोमा तान्ने र वितरण गर्ने योजना अनुसार काम भएको छ । खानेपानीमा प्रदेश र संघ सरकारले पनि बजेट उपलब्ध गराएर सहयोग गरेको छ ।
स्वास्थ्य क्षेत्रमा पनि वडैपिच्छे स्वास्थ्य चौकी छन । सदरमुकाम नजिक छ । सबै स्वास्थ्य चौकीमा औषधि उपलब्ध गराइएको छ ।

प्रदेश न. ५ अन्तर्गत अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको (१,६-९), मरेङको (१-६), खन, खनदह, बाँगी, हंशपूर र गोखुङ्गा गाउँ विकास समितिहरुलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो । मालारानी गाउँपालिकाको कूल जनसंख्या २८,०४४ रहेको छ । यसको क्षेत्रफल १०१.०६ बर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको केन्द्र साविकको खनदह गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ वडामा बिभाजन गरिएको छ ।

यस गाउँपालिकाको सिमाना पूर्वमा छत्रदेव गाउँपालिका, पश्चिममा भूमिकास्थान नगरपालिका र प्यूठान जिल्ला, उत्तरमा प्युठान र गुल्मी जिल्ला तथा दक्षिणमा सन्धिखर्क र भूमिकास्थान नगरपालिका सम्म फैलिएको छ । ५ न. प्रदेशमा अबस्थित यस मालारानी गाउँपालिका पर्यटकिय हिसाबले सम्भावना बोकेको स्थानीय तह मानिन्छ ।

SHARE