पाणिनि गाउँपालिकालाई तेजपातबाट सम्बृद्ध बनाइदै

49

जननी संवाददाता
सोमबार, ३२ असार २०७५
अर्घाखाँची – पाणिनि गाउँपालिकाले बाँदरले नोक्सान नगर्ने र सर्वसाधारणलाई आम्दानी हुने तेजपात खेती गर्ने अभियानको शुरुवात गरेको छ । खेती विस्तारमा विरुवा उत्पादन गर्न पालिकाले २८ लाख रुपैयाँ यस वर्षको गाउँसभाबाट बजेट विनियोजन गरेको छ । वडा २ ले पनि एक लाख छुटाएको छ । यतिबेला वन र खरबारीमा धमाधम विरुवा रोप्ने काम भैरहेको छ ।
खर्‍यान, सामुदायिक वन र बारीमा तेजपातका विरुवा रोप्न थालिएको छ । पणेनाका खुमानन्द पोखरेलले वन कार्यालयको लगानीमा २५ हजार विरुवा उत्पादन गरे । पाँच सय आफनै जग्गामा रोपे । बारी छेउमा आम्दानी दिने ४० रुख छन । वर्षमा एक लाख आम्दानी हुने उनले बताए ।
गत वर्ष ४० हजार विरुवा पोखराथोक र पणेनाको सामुदायिक वनमा रोपिएको थियो । यस वर्ष दुई लाख विरुवा बाँझा खाली खेतबारी र खरबारीमा धमाधम रोपिदैछ ।
पालिकाले एक घर दुई सय तेजपातका विरुवा रोप्ने अभियान सञ्चालन गरेको छ । जसमा ५० विरुवा जोगाएमा तीन वर्षपछि एक घरमा वर्षमा दुई देखि तीन लाख रुपैयाँ आम्दानी भित्रिने र सिंगो पालिकामा एक अर्ब रुपैयाँ भित्राउने योजनाका साथ अभियान शुरु गरिएको पालिका अध्यक्ष अच्युत गौतमले दावी गरे । राष्ट्रिय वृक्षरोपण दिवसको दिन वडा २ को पातालेपानी वनमा अध्यक्ष गौतम, उपाध्यक्ष लक्ष्मी गौतम र वन अधिकृत दीपक ज्ञवालीले तीन सय सर्वसाधारणको उपस्थितिमा २१ सय विरुवा रोपेर अभियान शुरु गरेपछि सबै वडाका सर्वसाधारण आफनो वन र खरबारीमा तेजपातका विरुवा रोप्न भ्याइनभ्याई छ ।

SHARE