अर्घाखाँचीमा अक्सिजन प्लान्टमा दुई सरकारको बजेट

403
टोपबहादुर रायमाझी कमलप्रसाद भुसाल

२०७८ जेठ ४ गते मंगलवार प्रकाशित
कृष्ण परियार

अर्घाखाँचीमा अक्सिजन प्लान्ट बनाउन कस्सिए दुई सरकार कोरोना संक्रमित विरामीको उपचारको लागि अक्सिजन अभाव हुन नदिन अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न संघ सरकार र स्थानीय सरकारले एकै दिन बजेट छुट्टाएका छन् । उर्जा मन्त्री टोपबहादुर रायमाझीको पहलमा मंगलवार अर्थ मन्त्रालयले प्लान्टको लागि १ करोड ५० लाख छुट्टाएको छ ।

सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा मंगलवार सन्धिखर्कमा बसेरको छ वटै स्थानीय तहका प्रमुख/उपप्रमुखको बैठकले पहिलो चरणमा ६० लाख बजेट छुट्टाएको छ । प्रत्येक पालिकाले १० लाख बजेट प्लान्टको लागि छुटाउनेछन् ।

छ स्थानीय तहको बैठक

दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि अर्घाखाँची अस्पतालमा विरामीलाई उपचार गर्न अक्सिजन अभाव भएपछि डा. कपिल गौतमले बुटवल र काठमाडौ धाएर नीजि क्षेत्रसित हात जोडेर ३० वटा अक्सिजन र संघको स्वास्थ्य विभागबाट स्वास्थ्य सामाग्री लिए । त्यसपछि नागरिक समाजको अगुवा समेत रहेको पत्रकार महासंघले दाता खोजेर अर्घाखाँची जापान समाजको सहयोगमा इलेक्टिकल अक्सिजन मेसिन किन्न ४ लाख ५० हजार दियो ।

केही दिन अघि चिकित्सकबाट अक्सिजन अभाव भएको भनेपछि महासंघले एक घण्टा भित्र दाता खोजेर युवा व्यावसायी दीपककुमार श्रेष्ठको सहयोगमा रु ५० हजार महासंघका अध्यक्ष अशोक खनालबाट हस्तान्तरण गरेको थियो । मन्त्री रायमाझीको पहलमा केही दिन अघि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री बोकेर स्वकीय सचिव लिला जिसीले अस्पताललाई हस्तान्तरण गरेका थिए ।

लुम्बिनी प्रदेश आन्तरिक तथा कानुन मन्त्री चेतनारायण आचार्यले पनि अक्सिजन पठाईरहेका छन् । संघ सरकारले बजेट विनियोजन गरेपछि स्थानीय तहले अन्य क्षेत्रमा खर्च गर्नुपर्ने मन्त्री रायमाझीका स्वकीय सचिव लिला जिसीले बताए । कम्तिमा एक हप्ताभित्र सक्ने गरी प्लान्टको काम बिहीवारबाट शुरु हुने र विरामीलाई अक्सिजन अभाव नहुने उनले बताए ।

छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जुन तहको सरकारको बजेट भएपनि एउटै भएकाले सहकार्यमै प्लान्ट निर्माण गरिने र कोरोना नियन्त्रण गर्न भूमिका खेल्ने बताए ।

SHARE