भारतमा ब्ल्याक फंगस संक्रमण तीव्र भएको समयमा औषधीको कालोबजारी

26

२०७८ जेठ ५ गते

काठमाडौँ । भारतका धेरै राज्यहरूमा म्युकरमाइकोसिस भनिने ब्ल्याक फंगसको उपचारमा उपयोग हुने एन्टी-फंगल औषधीको अभाव देखिएको छ । एम्फोटेरिसिन बी नामक यो औषधी भारतका धेरै कम्पनीहरूले उत्पादन गर्ने भए पनि उपभोक्ता भने कालोबजारीकै भरमा छन् ।

कोरोना संक्रमणकै समयमा म्युकरमाइकोसिसको संक्रमण बढ्दै जाँदा सामाजिक संजालमा यस औषधीका लागि आपतकालीन अनुरोध गर्न थालिएको छ । चिकित्सकहरूका अनुसार कोरोनाका गम्भीर बिरामीहरूमा स्टेरोइडको प्रयोग बढेको कारण यो संक्रमण भएको हो । म्युकरमाइकोसिस अत्यन्त दुर्लभ संक्रमण हो । माटो, बोटबिरुवा, मल, सडेका फल र तरकारीहरूमार्फत म्युकर फंगसको संक्रमण हुने गर्छ ।

साइनस, मस्तिष्क र फोक्सोलाई असर गर्ने यस संक्रमणले मधुमेह भएका व्यक्ति वा कम प्रतिरोधक क्षमता भएका व्यक्ति तथा क्यान्सर वा एचआईभी/एड्सबाट प्रभावितहरूलाई बढी जोखिमपूर्ण हुन सक्छ।

धेरैजसो यसबाट संक्रमितहरू ढिलो मात्र उपचारका लागि आइपुग्छन् । त्यति बेला उनीहरूको आँखाको ज्योति कम हुन थालिसकेको हुन्छ । यस्तो अवस्थामा संक्रमण मस्तिष्कमा पुग्न नदिन शल्यक्रिया गरी आँखा निकाल्नुपर्ने हुन्छ ।

गत साता महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले भनेका थिए, ‘प्रदेश (राज्य) मा १ हजार ५ सय म्युकरमाइकोसिस संक्रमित छन् ।’ त्यति बेला महाराष्ट्र कोरोनाको दोस्रो चरणबाट सबैभन्दा बढी प्रभावित राज्यहरूमध्ये एक थियो ।

राज्यका एक वरिष्ठ स्वास्थ्य अधिकारीले समाचार एजेन्सी पिटिआईलाई गत वर्षदेखि म्युकरर्माइकोसिसका कारण त्यहाँका ५२ जनाले ज्यान गुमाएको बताए ।

गुजरातका अधिकारीहरूले पनि गत महिनामा राज्यमा झन्डै नौ सय ब्ल्याक फंगस संक्रमित फेला परेको बताएका छन् ।

उत्तर प्रदेशको गाजियाबादमा एउटा ठूलो औषधी कम्पनीका मालिकले पहिले यसको खोप सजिलै उपलब्ध भए पनि तीन सातादेखि माग बढेका कारण फेला पार्न समस्या भएको बताए ।

यो खोपको अभावका कारण धरै मानिसले ट्विटरमा अपिल गर्दै आएका छन् । चिकित्सकहरूका अनुसार म्युकरमाइकोसिसबाट पीडित बिरामीहरूलाई आठ हप्तासम्म हरेक दिन एम्फोटेरिसिन बी वा एम्फो बी खोप दिनुपर्छ ।

यो औषधि स्ट्यान्डर्स एम्फोटेरिसिन बी डिअक्सिकोलेट र लिपोसोमल एम्फोटेरिसिनका नाममा दुई प्रकारमा उपलब्ध छ ।

मुम्बईस्थित आँखा शल्यचिकित्सक डा. अक्षय नायरले बिबिसीलाई भने, ‘सुरक्षित र बढी प्रभावकारी भएकाले महँगो भए पनि हामी लाइपोसोमल चलाउँछौं । यसको साइड इफेक्ट पनि कम छ ।’

म्युकारमाइकोसिसको बढ्दो चिन्ताका कारण केही मानिसहरूमा आर्थिक दबाब पनि बढ्दो छ । त्यसै महँगो उपचारका लागि कालाबजारीबाट यो औषधी किन्दा मानिसले लाखौं रुपैयाँ बढी खर्च गर्नुपरेको छ । बिबिसी

SHARE