छत्रदेव खरका छानो मुक्त गाउँपालिका

243

जननी संवाददाता
अर्घाखाँची– राष्ट्रिय तथ्यांक विभागका अनुसार देसभरका ४ सय ६० गाउँ र २ सय ९३ नगरपालिका मध्ये छत्रदेव गाउँपालिका मात्रै खरको छाना मुक्त पालिका छ । काठमाडौ महानगरपालिकामा पनि केही घरको छानो खरकै रहेको जनाएको छ ।
एकै वर्षमा पालिकालाई खरको छानो मुक्त छत्रदेव बनाएको हो । नमुना बस्ती भन्दै हेर्न आउने बढेका छन । घर फरक मोडल तर, छानो ढुंगा र टीनको मात्रै भएपछि बस्ती पनि चिटिक्क देखिएको छ । घुम्न आउने धेरैले तस्बिर खिचेर समाजिक सञ्जालमा नमुना बस्तीमा भन्दै स्टाटस लेखेर पोष्ट गर्ने गर्छन । मध्य तराई जस्तो समथर भुगोल भएकाले धेरैले राम्रो बस्ती मान्छन ।
धनीको घरमा जस्ता पाता र ढुंगाको छानो छ । अति विपन्न गरिब परिवारकाको थिएन । खरको छाना भएका ३ सय ३४ घरलाई जस्तापाता वितरण गरेर सबै घरको छानोमा टीन लगाइयो । अब पालिका भित्रका घरको छानोमा खर देख्न पाइदैन । छत्रदेवलाई खरको छाना मुक्त पालिका बनाउन एक करोड १९ लाख ९७ हजार रुपैयाँ बजेट खर्च भएको छ । सबैलाई एकै नासको निलो रंगिन छत्रदेव गाउँपालिका अंकित छाप लगाएको ४६ एमएमको ९ फुटे जस्तापाता उपलब्ध गरएको थियो । प्रतिघरदुरी ३.२७ वण्डलका दरले वितरण गरियो ।
‘एकै वर्षमा पालिकालाई खरको छाना मुक्त बनायौं,’ अध्यक्ष लेखनाथ पोखरेलले भने, ‘अब छत्रदेवमा खर (भुस) को छानो भएको घर देख्न पाइदैन ।’ टीन लगाउन नसक्ने अति गरिब परिवारलाई निशुल्क जस्तापाता दिएको उनले बताए । घरमा टीन र ढुंगाको छानो धनीले मात्रै लगाएका थिए । खरको छानो गरिबको मात्रै थियो । ‘भित्र जे जस्तो भएपनि खरको छानो देख्दा गरिब हो भन्ने हुन्थ्यो,’ पोखरेलले भने, ‘अब घर हेर्दा सबै समान देखिए ।’ खरको छाना भएका मध्ये दलित ६६, जनजाती एक सय ६८, ब्राहमण ६७, क्षत्री २० र मुस्लिम ३ घर थिए, प्रमुख प्रशासकीय अधिकृत भेषराज पंथले भने ।
छत्रदेव–३ का टुल्के कामीको घरको छानो अहिले हरियो रंगको जस्ता पाताले चिटिक्क छ । घर सफा सुग्गर छ । पहिले खर (भुस) को छानो थियो । छत्रदेव गाउँपालिकाले जस्तापाता दिएपछि उनी फुरुङ भई घरमा टीन लगाए । ‘जस्ता पाता किन्ने मसँग पैसा थिएन,’ उनले भने, ‘जनप्रतिनिधिले टीन दिएपछि धनी परिवारको जस्तै मेरो घर देखियो ।’
खरको छानो मुक्त भएपछि पालिका नमुना भएको छ । जनप्रतिनिधिको जताजतै चर्चा छ । पालिका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले घरका हिसाबले धनी गरिब कोही नदेखिएको बताइन ।

SHARE