बिहीबारे औंसीका दिन अशक्तबाहेक उपवास बस्नु उत्तम

53

२०७८ जेठ २७ गते बिहीबार

 जननी संवाददाता

आज बिहीबार जेठ महिनाको औंसी, ज्योतिष शास्त्रमा जेठ महिनाको औंसीको विशेष महत्त्व दर्साइएको छ । बिहीबारको औंसीले शुभ परिणाम दिने विश्वासका कारण यस दिनलाई विशेष रूपमा लिइन्छ । यस दिन पुर्खाहरूको लागि श्राद्ध पनि गरिन्छ । यो दिन स्नान, दान गरी दिनभरि उपवास बसेर भगवान् शनिसँगै वर-पीपलको पूजा गर्दा ग्रह दोष समाप्त हुने विश्वास गरिन्छ । यदि शारीरिक समस्याको कारण उपवास बस्न सकिन्न भने स्नान, दान र पूजापछि शुद्ध भोजन ग्रहण गर्न पनि सकिन्छ । यति गरेपछि पूर्ण पुण्य प्राप्त हुन्छ । कोरोना संक्रमितले भने अन्य दिन जस्तै कृत्य गर्नुपर्छ । निको भएपछि मात्र यस्ता व्रत-पूजा गर्न सकिनेछ ।

ज्येष्ठ औंसी न्यायप्रेमी ग्रह शनिदेवको जयन्तीको रूपमा मनाइन्छ । यो दिन शनि दोषको उपचार गर्दा लाभ हुने बताइएको छ । ज्येष्ठ औंसीको धार्मिक महत्त्व पनि छ । यस दिन पुर्खाहरूको स्मरण एवं पूजा गरेर दीन-दुःखीहरूलाई दान दिनाले अज्ञानमा भएका पापहरू नष्ट हुन्छन् । ईश्वरमा भक्ति राखेर यस दिन पवित्र पानीमा नुहाएर उपवास बस्नु उत्तम मानिएको छ ।

धेरै मानिसहरूले ज्येष्ठ औंसीलाई पवित्र तीर्थमा स्नान गर्ने दिनको रूपमा पनि मान्दछन् । शनि जयन्तीका दिन आस्तिक स्त्रीले आफ्नो पतिको लामो जीवनका लागि वट-सावित्री उपवास बस्छन् । नेपाल र उत्तर भारतमा ज्येष्ठ औंसीलाई भाग्यशाली र फलदायी दिनमा रूपमा लिइन्छ ।

यदि कुनै पनि महिना बिहीबार औंसी छ भने त्यसलाई बिहीबारे औंसी भनिन्छ । ज्योतिषशास्त्रमा यो औंसीलाई शुभ फल दिने दिनका रूपमा बताइएको छ । यस्तो संयोगमा गरिएको स्नान दान र पूजाको सद्गुण फल अझ बढी हुने विश्वास छ । बिहीबार औंसी बिरलै पर्छ ।

जेठको बिहीबारे औंसी पारेर तीर्थमा गई अन्न, ब्राह्मण भोजन, वस्त्र, सुन आदि दान गर्ने चलन छ । धार्मिक ग्रन्थहरूमा यो दिन पूर्वजहरूको स्मरणमा स्नान, दान र ब्राह्मण भोजन गराउनाले उनीहरू सन्तुष्ट हुने बताइएको छ ।

यो दिन सूर्योदय हुनुअघि उठेर तीर्थस्नान गर्नु एउटा परम्परा नै छ । यस पटक भने महामारीका कारण गंगाजलका केही थोपा पानी मिसाएर नुहाउनु उत्तम छ ।

बिहीबारे औंसीमा दिनभर उपवास बसी पितृको उपासना र श्रद्धा गरिनु उत्तम हुन्छ । यस दिन घर सफा गरिसकेपछि गंगाजल वा गोमूत्र छर्कनु राम्रो मानिन्छ । बिहीबारे औंसीको बिहान सबेरै पीपलको रूखमा पानी चढाउनु राम्रो हो । बिहीबारे औंसीमा वर-पीपलको परिक्रमा गर्नाले गरिबी भाग्ने बताइएको छ ।

बिहीबारे औंसीमा कसैसँग नबोली स्नान गरेर दान गर्नाले एक हजार दान गरेको पुण्य मिल्ने बनाइएको छ । यो दिन लसुन-प्याज र मांसाहार, मादक पदार्थको सेवन गरिनुहुन्न । त्यस्तै यो दिन पति-पत्नी अलग्गै ओछ्यानमा सुत्नु उत्तम मानिएको छ ।

SHARE