जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

34

२०७८ जेठ २८ गते

जननी संवाददाता

काठमाडौं/भोजपुर । आफ्नै १५ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्राससमेत देखाई आफ्नै घरमा पटक-पटक जबरजस्ती करणी गर्दै आएको तथा बैशाख २२ गते राति घरमा कोही नभएको मौका छोपी जबर्जस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

त्यस्तै, रुपन्देहीकी ३८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-२ उछिटिया बस्ने २६ वर्षीय छेत्रबहादुर थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका-२ स्थित सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्रबहादुरले जबर्जस्ती करणी गरेको तथा सैनामैना नगरपालिका-२ सोरौली बस्ने २१ वर्षीय सन्तोष रानाले जबर्जस्ती करणीको प्रयास गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी, बर्दियाकी २७ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-५ बालापुर बस्ने १९ वर्षीय रूपेश थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रूपेशले ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

त्यसैगरी, गुल्मीमा चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै ४५ वर्षीय हजुरबुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

SHARE