डेल्टा प्लस भेरिएन्ट देखिएपछि भारत चिन्तित, रोकथामको तयारी

68

२०७८ असार १२ गते शनिबार

जननी खबर

नयाँदिल्ली । नयाँ संक्रमिमतमा देखिएको कोरोना भाइरसको डेल्टा प्लस भेरिएन्टले भारत सरकारको चिन्ता बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आठ राज्यलाई पत्राचार गरी डेल्टा प्लस भेरिएन्टको प्रसार रोकथामका उपाय उपायहरू तत्काल लागु गर्न सुझाव दिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले तमिलनाडु, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, कर्नाटक, पन्जाब, जम्मुकश्मीर र हरियाणालाई कन्टेनमेन्ट र कन्ट्य्राक ट्रेसिङजस्ता उपायहरू अपनाउन भनेका छन् ।

ती आठ राज्यका मुख्य सचिवहरूलाई लेखेको पत्रमा केन्द्रीय स्वास्थ्य सचिवले डेल्टा प्लस भेरिएन्टले फोक्सोमा छिटो संक्रमण गर्ने एवं एन्टिबडी रिस्पोन्सलाई पनि कमजोर बनाउने भएकाले यो बढी संक्रामक छ, त्यसैले यसको प्रसार रोक्नैपर्ने उल्लेख छ ।

डेल्टा प्लस भेरिएन्टका संक्रमित भेटिएका जिल्लाहरूका तत्काल रोकथामका उपायहरू अपनाउन राज्यहरूलाई अपिल गरिएको एएनआईले जनाएको छ । ती क्षेत्रमा भिडभाड गर्न रोक लगाउन, परीक्षण बढाउन, ट्रेसिङ गर्न र खोपलाई तीव्र बनाइनुपर्छ । संक्रमित व्यक्तिहरूको अधिकतम नमुना जिनोम परीक्षण गराउन पनि भनिएको छ ।

आफ्नै देशमा खोप बनाउने भारतले कोरोनाविरुद्ध लड्न यस्ता योजना बनाउँदै छ भने नेपाल सरकारले न राम्ररी खोपको प्रबन्ध गर्न सकेको छ न कोरोना प्रसार विरुद्ध विशेष योजना ल्याउन सकेको छ । कोरोनाबाट बच्न र अरूलाई पनि संक्रमण नसार्न स्वास्थ्य मापदण्ड व्यक्ति स्वयंले पालना नगर्ने हो भने भगवानका भरमा बाँच्नुबाहेक अन्य उपाय देखिन्न ।

SHARE