सवारी साधन चोरी गरी खरिद बिक्री गरेको अभियोगमा ६ जना पक्राउ

3

२०७८ असार १३ गते

जननी खबर

भक्तपुर । मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा चार जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा दुई जना गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त सवारी साधन चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भई हाल भक्तपुर नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर नगरपालिका-२ दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका-८ लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाइबा र भक्तपुर नगरपालिका-८ लिवाली घर भएका २० वर्षीय साइन भन्ने रमेश कोजु रहेका छन् ।

यसैगरी चोरीको स्कुटर खरिद गर्नेहरू काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१० पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१० पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेका छन् ।

भक्तपुर नगरपालिका-१० कमविलनायक डेरा गरी बस्ने लक्ष्मणबहादुर विकको भे७प ४४१३ नम्बरको मोटरसाइकल गत जेठ ३० गते हराएको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा७१प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा कीर्तिपुर नगरपालिका-१५ बस्ने रवीन्द्र नेपालको बा३६प १५८८ नम्बरको स्कुटरसमेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपछि स्कुटर खरिद गर्ने दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

SHARE