स्थानीयको आस्था केन्द्र सिद्धारा बाजेको थान

398

२०७८ असार १४ गते प्रकाशित

यदुप्रसाद पोख्रेल

अर्घाखाँची  सिद्धाराको पूर्वपट्टिको अग्लो डाँडो बाजेका थान नामले प्रसिद्ध छ । सयौँ वर्षअघि सिद्धारामा सिद्धिप्राप्त बुढा मगर थिए । उनी त्यस भेगकै भद्र भलादमीमा पर्थे । त्यसैले सभा कचहरीमा उनको उपस्थिति आवश्यक मानिन्थ्यो । छरिएको बस्तीका कारण कचहरीमा जानै बढी समय लाग्ने हुनाले छिटो पुग्न बाजे बाघमा चढेर जान्थे रे । सकेसम्म मानिसले देख्ने गरी बाघमा चढ्दैनथे रे । भएको कुरा कहिलेकाहीँ अपर्झट देखिने पनि भयो । बाघ देखेर मानिस तर्सिए भने उक्त बाघ तत्काल ढुंगामा परिवर्तन हुन्थ्यो रे । शिला भएको बाघ कहिलेकाहीँ बोका बनेर चर्थ्यो रे । मानिसले सताए भने उक्त बोका पनि ढुंगै बन्थ्यो रे ।

बाजेमा अदृश्य हुन सक्ने अद्भुत शक्ति थियो रे । बाजे मानिसले देख्दादेख्दै कहिलेकाहीँ अदृश्य हुन्थे रे । सामकोटमा पनि त्यस्तै अद्भुत शक्ति भएका वराह थिए रे । बाजे र वराह त्यति बेलाका मिल्ने सखा थिए रे । उनीहरू सँगै खेल्थे रे ।

मानिसको मृत्यु स्वाभाविक छ । कालान्तरमा बाजे-बज्यैको मृत्यु भयो । सबैको उद्धार गरेका बाजेप्रति सबैको श्रद्धा थियो नै । सिद्धपुरुष मरेर गए पनि उनको स्मरण गरिएन भने अनिष्ट हुने र उनीको स्मरण र सेवा गर्नाले सदैव कल्याण हुने भनी उनको सम्झना ताजा राख्न सिद्धाराको थुम्कोमा उनको थान बनाएर पूजा गर्न थालेछन् । मानिसहरूले त्यस थानमा बाजे, बज्यै र बाजेका दौतरी वराहको समेत शिला स्थापना गरे । त्यसरी पूजा गर्दा पनि समाजमा अनिष्ट आइलाग्यो रे । तत्कालीन परम्पराअनुसार अनिष्ट निवारणका लागि गाउँलेले धामी बसालेछन् । धामीले बाजे, बज्यै र वराहलाई एउटै थानमा नराखी छुट्टाछुट्टै सुझाएछन् । त्यसपछि धामीको सल्लाहअनुसार बज्यैलाई बाजेको दक्षिणतिर र वराहलाई पनि नजिकै पूर्वपट्टि स्थापना गरी पूजा गरेपछि अनिष्ट साम्य भएछ । स्थानीयले त्यस ठाउँको नाम बाजेको थान राखे । बर्सेनि मंसिर र वैशाख पूर्णिमामा बाजे, बज्यै र वराहको पूजा गर्न थालियो ।

८-१० वर्षअघिसम्म बाजेको थानमा बलि स्थलको तिल्को पुल्दा बाजेतर्फका हाँगामा सेतो र बज्यैतर्फ फर्केको हाँगामा रातो फुल फुल्थ्यो रे । केही पहिलेसम्म बाजे र बज्यैको थानका बिचमा दुइटा सल्ला थिए रे । ती सल्ला पनि बाजेतर्फको बाजेतिर र बज्यैतर्फको बज्यैको थानतिर ढल्किएका थिए रे । हाल ती सल्ला सुकेर नामनिसान पनि छैन ।

उब्जनी राम्रो होस्, गाई-भैँसी थारा नरहुन्, परिवारमा वैमनस्य नहोस् भन्ने कामनाका साथ मानिसहरूले त्यस थानमा अद्यापि पूजा गर्ने प्रचलन छ । त्यहाँ पूजा गर्दा बाजे र वराहका लागि भेँडा र भालेको भोग लगाउने चलन छ । त्यस्तै बज्यैलाई पोथीको बलि दिइन्छ । परम्परादेखि नै त्यहाँका पुजारी मगर रहेको किंवदन्ती छ । एक पटक सिद्धाराका ब्राह्मणहरूले मगर पुजारी भएको थानमा पूजा नगर्ने निधो गरेर गएनछन् । त्यसै राति पूजा गर्न नजानेहरूका धेरै गाई र भैँसी बाघले खाइदिएछ । अनिष्ट भएपछि कारण खोज्न धामी बसाउने त्यतिबेलाको परम्परा थियो । धामी बकाउँदा बाजेको अपमान गरेकाले यस्तो भएको थाहा पाएर सबै बाजेकै शरणमा जान थालेछन् । बाजेका थानमा चढाइएको प्रसाद घर लैजान हुँदैन, त्यहीँ खाएर सिध्याउनुपर्छ । नसके त्यहीँ गाडिदिने गरिन्छ । (मधुसूदन बेल्बासे र पदमबहादुर थामीको सहयोगमा)

SHARE