सिकार आरक्ष बनाएर सिद्धाराको उन्नति गर्न सकिन्छ

166

२०७८ असार २१ गते

मधुसूदन बेल्बासे

मनग्ये कृषियोग्य जग्गा हुँदाहुँदै पनि बँदेललगायत जंगली जनावरबाट बाली जोगाउन नसकेर उर्वर सिँचित भूमि बाँझो राखी दक्षिणखाँची (विशेष गरी तत्कालीन सिद्धारा गाउँविकास समिति) का अधिकांश किसान थातथलो छाडेर मदेस पलायन भएका छन् भने जीवनको उत्तरार्धमा जन्मस्थान छाड्न नचाहनेहरू बेसाहाका भरमा बाँच्न विवश छन् । खेती लगाएर आफ्नै उपर्जनमा बाँचेकाहरू किनेको अन्नले छाक टार्नुपर्दा दिउँसै सपना देख्ने अवस्थामा पुगेका छन् ।

जंगली सुँगुर बँदेलले देशभर नै आतंक मच्चाएका समाचार बेलाबेला सञ्चार माध्यममा पनि आउने गरेका छन् । सिद्धारा र वरपरका गाउँमा बँदैल आतंकले बसिनसक्नुको अवस्था सिर्जना गरिदियो ।

खेतीबाट जीविका नचलेपछि सन्ततिले विदेशमा पसिना बगाई पठाएको रकमको ७० प्रतिशत बेसाहामा जाँदा जीवनको उत्तरार्धका लागि सम्पत्ति जोड्ने युवाको सपना बेसाहाले चकनाचुर पारेको छ । धान, मकै, गहुँ, कोदोजस्ता जमिनमाथि फल्ने अन्न बाली मात्र हैन, जमिनमुनि फल्ने तरुल, पिँडालु, सखरखण्डसमेत बँदेलले बाँकी राख्दैन । बँदेल आतंकका कारण अन्नसँग माटोमुनि फल्ने पदार्थको खेती लगाउन छाडेपछि केराका खम्बा पनि बाँकी रहेनन् ।

खेती जोगाएर खाने विकल्प नभएपछि यहाँको संस्कृति जोगाउने हो सरकारले उत्साहजनक योजना ल्याउनु आवश्यक छ । यहाँको अधिकांश भूभाग जंगल रहेकाले सितगंगा नगरपालिका पूर्व सिमलपानीदेखि पश्चिम राप्तीसम्म र दक्षिण कपिलवस्तुसम्म रहेको जंगल समेटेर सिकार आरक्ष विकास गर्ने हो भने यो भेगले पुनर्जीवन पाउन सक्छ । यहाँ विचरण गर्ने चितुवा, भालु, यदाकदा झुल्किने बाघ, लोपोन्मुख पन्छी, सरिसृपलगायतको सिकारमा सख्त प्रतिबन्ध लगाई जनावरमा बँदेल, राते, हरिण, घोरल, दुम्सी, खरायो, थार अनि पन्छीतर्फ कालिज, तित्रा, हलेसाको सिकार खोल्न सकिन्छ । मानिसले खान रुचाउने पशुपन्छीको संख्या हेरी निश्चत मात्रा सिकार संख्या खुलाउँदा यहाँको विकासले नयाँ स्वरूप लिन सक्छ ।

कानुनी रूपमै व्यवस्थापन मिलाई सिकारीलाई क्षेत्र, समय, जनावर वा पन्छीको सिकार शुल्क तोक्ने कामचाहिँ हुनुपर्छ ।

यहाँका खोला र खोल्साखोल्सीमा समेत विभिन्न प्रजातिका माछा पाइन्छन् । यहाँ आइपुगेका सिकार सौखिनहरूलाई माछा समात्ने इच्छा पनि हुन सक्छ । यहाँका खोलामा दुवाली थुनेर माछा समात्ने प्रतियोगिता आयोजना गर्न सकिन्छ । त्यस्तै यहाँ आएका आगन्तुकहरू खोला कञ्चन पानीमा पौडिन पनि रुचाउन सक्छन् । सिकारुका लागि ससाना र सौखिनका लागि ठुला रहमा व्यवस्थापन गर्न सकिन्छ ।

यसो गर्नाले सिकारीबाट प्राप्त हुने दस्तुरबाहेक खानबस्नका लागि होमस्टे, घुमाउन लैजाने पथप्रदर्शनजस्ता व्यवसाय गरी यस क्षेत्रका मानिसले आम्दानी गर्न सक्छन् । यसरी व्यवसाय चल्ने भएपछि स्थानीयले आगन्तुक सिकारी र तिनका सहयोगीका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराएर पनि आम्दानी लिन सक्छन् । स्थानीय खपतका लागि उत्पादन गर्दा लागत महँगो पर्ने हुँदा बारबन्देजको व्यवस्थापन गर्न नसकेका हुन् । आरक्षण बनेको अवस्थामा भने विशेष व्यवस्थासहित यहाँको खेतीपातीले पनि पुनर्जीवन पाउन सक्छ ।

सिकार आरक्ष बनाएर सञ्चालन भएमा नगरपालिकाको ख्याति विश्वमै फैलिन्छ । सिकार खेल्नकै लागि आउनेले यहाँको व्यावसायिकताको सुझाव दिन सक्छ । स्वयंले व्यवसायमा चासो दिन सक्छ । त्यस अवस्थामा यहाँ सम्भावना भएको तर हामीले नदेखेको सस्तै गर्न सकिने नयाँ व्यवसायको पनि सम्भावना रहन्छ ।

यसले हाम्रा वनपाखामा रहेका बहुउपयोगी मूल्यवान् तर हामीले नचिनेका वनस्पति, जडीबुटी एवं पत्थरको पनि पहिचान हुने सम्भावना रहन्छ ।

SHARE