महामारीको समयमा गरिब महिलाले रोजगारी गुमाए, पर्याप्त खाना पनि पाएनन्

14

२०७८ असार २२ गते

जननी खबर

काठमाडौँ । डलबर्गको परामर्श फर्मले कोरोना संकटको समयमा भारतमा न्यून आम्दानी गर्नेहरूको रोजगारीको अवस्थाबारे एक अध्ययन गरेको छ । अध्ययनअनुसार कम आम्दानी गर्ने घरपरिवारका पुरुषले भन्दा बढी महिलाले जागिर गुमाएका छन् । महिलाहरूले खानेकुरा र विश्राममा कटौती गरेर पनि बढी काम गरे तर त्यसको भुक्तानी भने पाएनन् । यस अध्ययनमा भारतका १० राज्यका १५ हजारभन्दा बढी महिला र २ हजार ३ सय पुरुष सहभागी गराइएको थियो ।

उनीहरूलाई कोरोना महामारीको पहलो लहरबाट उम्केर काम भेट्टाउन लामो समय लालेको अध्ययनले उजागर गरेको छ । महामारीभन्दा पहिले २४ प्रतिशत महिलाले काम गरेका स्थानमा महामारीपछि तीमध्ये २८ प्रतिशतले काम नै पाएनन् । त्यसमध्ये पनि ४३ प्रतिशतले गरेका कामको तलब पनि पाएनन् । त्यही समयमा ४३ प्रतिशत पुरुषले पनि तलब पाएनन् ।

यो अध्ययन गत मार्चदेखि अक्टोबरसम्मको अवधिमा गरिएको थियो । त्यस समयमा खाना उपलब्ध नभएकाले १० प्रतिशत महिलाले पर्याप्त खाना पनि पाएनन् भने १६ प्रतिशत त स्यानिटरी प्याडको पहुँचमा पनि पुग्न सकेनन् । ३३ प्रतिशत महिलाले गर्भनिरोधक चक्की पनि प्राप्त गर्न सकेनन् ।

गत केही महिनादेखि भारतले कोरोनाको विनाशकारी दोस्रो लहरको सामना गर्दै छ । यो समयमा भारतले विश्वमै सबैभन्दा तीव्र प्रकोपको सामना गर्नुपर्‍यो । त्यसैले अस्पतालमा बिरामी घाटमा शवको संख्या अत्यधिक भयो । भारतमा महामारीको समयमा धेरै महिलाहरूले विपत्तिका सामना गरेको डालबर्गको अध्ययनले देखाउँछ ।

भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउँदै छ । केन्द्रीय सरकारले यो अझै पूर्ण नियन्त्रणमा नआएको बताउँदै छ । यसैबीच एसबिआईको अध्ययनमा अगस्तसम्ममा तेस्रो लहर पनि आउने दाबी गरिएको छ । कोविड-१९ द रेस टु फिनिसिङ लाइन नामले प्रकाशित त्यस अध्ययनमा कोरोनाको तेस्रो लहर सेप्टेम्बरमा उच्च बिन्दुमा पुग्ने दाबी गरिएको छ ।

कोरोनाको अवस्थाबारे एसबीआई अनुसन्धान रिपोर्टमा कोरोनाको दोस्रो लहर मे महिनाको तेस्रो साता उत्कर्षमा रहने दाबी गरिएको थियो । भारतमा ६ मेमै लगभग ४ लाख १४ हजार नयाँ संक्रमित फेला परेका थिए । भारतमा महामारीको समयमा सबैभन्दा बढी संक्रमित भेटिएको यही दिन थियो । त्यस अवधिमा दिल्ली, महाराष्ट्र र केरलाजस्ता ठूला राज्यहरूमा अवस्था एकदम भयावह भएको थियो । एसबीआईको रिपोर्टमा कोरोनाको तेस्रो लहर दोस्रो लहरभन्दा दुई गुणा बढी भयावह हुने आकलन गरिएको छ ।

हालको तथ्यांकका आधारमा जुलाईको दोस्रो सातासम्ममा दैनिक नयाँ संक्रमितको संख्या १० हजारमा आउने टिपोर्टमा जनाइएको छ । आगामी अगस्तको दोस्रो सातादेख संक्रमण दर पुनः उकालो लाग्ने जनाइएको छ । भास्करका अनुसार गत आइतबार भारतमा ४० हजार १ सय ११ जना कोरोना संक्रमित फेला परेका थिए । त्यस दिन ४२ हजार ३ सय २२ जना संक्रमण मुक्त भएका थिए ।

SHARE