२०७८ असार २४ गते
जननी खबर
काठमाडाैँ । हिजोआज नेपालमा मनसुनी वायुको प्रभाव छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ । सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुँदा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न जान्छ । यस्तो समयमा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।