बेलायतमा कोरोना संक्रमण एक्कासि वृद्धि भएपछि प्रतिबन्ध खुकुलो नबनाउन चेतावनी

78

२०७८ असार २७ गते

जननी खबर

काठमाडौँ । बेलायतमा कोरोना संक्रमण एक्कासि बढ्न थालेको छ । १९ जुलाईदेखि कोरोना प्रसार रोक्न गरिएका प्रतिबन्धहरू खुकुलो बनाउने योजना रहेको बेलायत सरकारलाई फेरि विज्ञहरूले हतार नगर्न भनेका छन् । शुक्रबार त्यहाँ 35 हजार नयाँ संक्रमित थपिएका छन् । पाँच महिनायता एकैदिन देखिएको सबै भन्दा उच्च संक्रमण हो। यसैबिच एकेडेमी अफ मेडिकल रोयल कलेज (एएमआरसी) ले प्रतिबन्ध नहटाउन चेतावनी दिएको छ । खुकुलो गरिएमा अवस्था बिग्रन धेरै समय लाग्दैन । बेलायत र आयरल्यान्डका विज्ञहरूले निकालेको संयुक्त विज्ञप्तिमा कोरोनाको तेस्रो चरणको सम्भावनालाई ध्यानमा राखी प्रतिबन्धहरू जारी राख्नुपर्ने उल्लेख छ ।

महत्त्वपूर्ण कुरा के छ भने गत केही साता ब्रिटेनमा प्रति एक लाखमा औसतमा ४१० जनामा संक्रमण भएको थियो । विश्वव्यापी रूपमा हेर्ने हो भने यो डरलाग्दो अवस्था हो । यसैबिच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुलाई १९ देखि प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । विज्ञहरूले उनको भनाइमा चिन्ता व्यक्त गरेका छन् । एएमआरसीका अध्यक्ष प्रोफेसर हेलेन स्टोक्स लम्पार्डले यसबारे बिबिसी रेडियो ४ मा बताएका हुन् ।

उनले भने, ‘१९ जुलाईदेखि जीवन सामान्य रूपमा आउनेछ भन्ने घोषणामा हतार भएको छ ।’ लाम्पार्डका अनुसार यदि त्यस दिनपछि सतर्कताहरू घटाइयो भने यसले जनताका लागि समस्याहरू बढाउनेछ ।

‘हामी यो कुरा सुनिश्चित गर्न चाहन्छौं कि मानिसहरूलाई थाहा छ, महामारी अझै समाप्त भएको छैन,’ ल्याम्पार्डले भने, ‘१९ जुलाईपछि पनि मानिसहरू जिम्मेवारी र सावधानीका साथ बस्नुपर्छ ।’ एएमआरसीका अनुसार मुलुकमा फेरि कोरोना संक्रमण वृद्धि हुँदै छ । हिन्दुस्तान टाइम्सका अनुसार यसले राष्ट्रिय स्वास्थ्य सेवामा पनि दबाब दिन्छ ।

पुरानै संक्रमणबाट पूर्ण मुक्त हुन समस्या भएको समयमा मानिसहरूलाई होसियार रहन आग्रह गर्दै उनले जुलाईलाई शीतकालीन खराब महिना बनाउन नहुने बताए ।

SHARE