अर्घाखाँची कोरोनाको उच्च जोखिममा

220

२०७८ साउन २१ गते प्रकाशित
सचिन बाेहाेरा

अर्घाखाँची– पछिल्लो समय अर्घाखाँची कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
अर्घाखाँचीलाई १४ दिन शिल गरेपनि कोरोना संक्रमण दर दैनिक बढ्दो छ । घरैपिच्छे ज्वरो र रुघाखोकीका विरामीलाई एन्टिजेन्ट परीक्षण गर्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ । जिल्लालाई शिल गरेर कडा निषेधाज्ञाको प्रभावले सदरमुकाम र गाउँ सुनसान जस्तै देखिएपनि अस्पताल भर्ना हुने विरामीको संख्या बढ्दो छ । शनिवार देखि साउन ३० गतेसम्म आउजाउ बन्द गरेरै निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाको पहिलो दिन शनिवार ५ सय ७१, आइतवार ५ सय ८५, सोमबार ५ सय ९०, मंगलवार ६ सय २५ जना र बुधवार ६ सय ५२ जना सक्रिय कोरोना संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । अहिलेसम्म ७४ जनाले ज्यान गुमाएका छन् ।
अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमले पछिल्लो दुई साता देखि कोभिड संक्रमण दर बढ्दो रहेको बताए । कोभिड विरामीको लागि अस्पतालमा १० वेड एचडीयू र जनरल ६ वेड छ । रुघाखोकी र ज्वरोले ग्रस्त भएर अस्पताल आउने सबैजसोलाई कोभिड देखिने गरेको छ ।
सिकिस्त विरामी भएर अस्पतालमा आउने विरामीलाई अक्सिजन दिनुपर्ने भएको छ । केहीलाई भेन्टिलेटर सहितको आइसीयूमा राखेर उपचार गर्नुपर्ने विरामीलाई बुटवल र काठमाडौ रेफर गर्नुु परेको छ । संघीय सरकारले अस्पताललाई उपलब्ध गराएको दुई वटा भेन्टिलेटर जनशक्ति अभावमा महिना दिनदेखि कोठामा थन्किएका छन् ।
जिल्ला प्रशासनले निषेधाज्ञाको गाउँ–गाउँमा पुगेर अनुगमन गरेको छ । जिल्ला बाहिरबाट अत्यावश्यक कामको लागि जिल्ला प्रवेश गर्नेलाई प्रशासनको अनुमति लिनुपर्ने भएको छ । कोरोना संक्रमण दर बढेकाले नियन्त्रण गर्न १४ दिनसम्म जिल्ला शिल गरेर कडा निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । ‘अहिले जिल्ला पुरै शिल छ,’ उनले भने, ‘जताततै सुरक्षाकर्मी परिचालन गरेर कोरोना संक्रमण दर घटाउन निषेधाज्ञालाई कडाई गरेका हौं । गाउँ र शहरमा रुघाखोकी, ज्वरोका विरामी घरैपिच्छे हुनु र कोभिडका विरामी धेरै हुनु अर्घाखाँची उच्च जोखिममा छ ।’
निषेधाज्ञापनि अर्घाखाँची सदरमुकाम सन्धिखर्क सहित गाउँ सुनसान छ । विना काम घरबाहिर निस्कनेलाई कडा कारवाही गर्ने भनेपछि र जताजतै कोरोना फैलिएकाले सबै घरभित्रै बसेका छन् । स्थानीय तहका जनप्रतिनिधिलाई पालिका भित्रका सबै संयन्त्र परिचालन गरेरै कोरोना नियन्त्रणमा लाग्न अनुरोध गरिएको उनले बताए । कोरोना पुरै नियन्त्रणमा नआउँदै कोभिड बिर्सेर भीडभाड धेरै, मास्क विना हिँडडुल, स्वास्थ्य मापदण्ड पालना नगरेकै कारण फैलिएको पौडेलले बताए ।
दैनिक उपभोग्य वस्तु खाद्यान, तरकारी, फलफुल, दूध डेरी, मासु पसल हरेक दिन विहान ६ देखि ९ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइएको छ । औषधि पसल, क्लिनिकलाई २४ सौं घण्टा खुला गरिएको छ । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्था, शिक्षण संस्था बन्द गरिएको हो । मठमन्दिर बन्द छन् । भीडभाड हुने गतिविधिमा सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
निषेधाज्ञा खुकुलो भएपछि दलका नेता, जनप्रतिनिधिले भाषण गर्न विभिन्न कार्यक्रममा सहभागीता धेरै जुटाउने, नेताले नै मास्क नलगाउने र लापरवाही गरेका कारण कोरोना फैलिएको हो । सरकारी तथा गैरसरकारी संस्थाका भीड हुने कार्यक्रम पनि धेरै भएकाले संक्रमण दर बढ्नमा सघाउ पु¥यायो । गाउँमा कोरोना नियन्त्रण गर्नमा जनप्रतिनिधिको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।
गाउँमा धेरै रुघाखोकी र ज्वरोका विरामी छन् । उनीहरुको एन्टिजेन्ट परीक्षण गर्ने र कोरोना संक्रमित भएकालाई छुट्टै १४ दिनसम्म राख्ने एवं अस्पतालमा उपचार गराउने काममा जनप्रतिनिधिले सघाउनेमा वेवस्ता गरेको स्थानीयको भनाई छ ।
अर्घाखाँचीमा १८ वर्षभन्दा माथिका १ लाख १४ हजार ७ सय ५ जना रहेका छन् । उनीहरु मध्ये ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले बताए । कोभिशिल्ड पहिलो मात्र १२ हजार ९ सय ३४ लगाए भने दोस्रो डोज ३ हजार ८ सय ९ जनाले लगाए । पहिलो डोज कोभिशिल्ड लगाएका ९ हजार १ सय २५ जनाले ५ महिना देखि दोस्रो डोज लगाउन पाएका छैनन् ।
भेरोसेल १४ हजार ६ सय ३३ जनाले पहिलो डोज र ३ हजार १ सय ३२ जनाले दोस्रो डोज लगाए । बाँकीले लगाउन पाएका छैनन् । जोन्सन एण्ड जोन्सनको पहिलो मात्र ९ हजार ५ सय ५० जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका केही गाउँमा रुघाखोकीका विरामीलाई एन्टिजेन्ट परीक्षण गर्दा ५० प्रतिशत भन्दा बढी संक्रमित देखिएका छन् । पाणिनि गाउँपालिकाको पटैटी गाउँमा एन्टिजेन्ट ६२ परीक्षण गर्दा संक्रमित ३९ जना मध्ये ११ महिनाका बालवालिकालाई पनि कोरोना देखियो ।
ज्वरो र रुघाखोकीका विरामी भएको गाउँमा धेरैले एन्टिजेन्ट परीक्षण नै गर्न नमान्ने गरेको मालारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले बताए ।

SHARE