कांग्रेसमा युवा नेतृत्वको आधार तयार हुँदै गएको हो कि नयाँ गुटका खेती ?

59

२०७८ भदौं २४ गते प्रकाशित
भेषराज पोखरेल
नेपाली कांग्रेस संवैधानिक प्रावधानको सीमा नाघेर भए पनि मंसिरमा चौधौं महाधिवेशन गर्ने तयारीमा छ । सो तयारी अनुसार वार्ड तहको पहिलो क्रमको निर्वाचन भयो । लामो समयदेखि सक्रिय सदस्यसम्बन्धी विवाद टुंगिएर वार्ड तहदेखि माथिसम्म अधिवेशन हुने बाटो खुलेको हो । पछिल्लो समय कांग्रेसका तल्ला तहमा युवा नेतृत्वको बाहुल्यता देखिन थालेको छ ।

केन्द्रमा भने सभापति शेरबहादुर देउवा पुनः दोहोरिने योजनामा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा जाने दाउमै छन् । उनीहरुले दोस्रो तहका नेताहरुलाई नेतृत्वमा अगाडि सार्न चाहेको देखिएको छैन । दोस्रो तहका नेताहरुले शीर्ष नेताहरुको सहमति नभए पनि आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । धेरै नेताहरुले सभापतिमा उम्मेदवारी दिन चाहेको बताएका छन् । यो सक्रियताले कांग्रेसमा केही नयाँखाले अवस्था सिर्जना गर्ने आशा गर्न सकिन्छ ।
लामो समय शेरबहादुर देउवासँग सहकार्यमा रहेका उपाध्यक्ष विमलेन्द्र निधिले आफ्नो सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । पछिल्लो समय नेता कल्याण गुरुंगले पनि सभापतिमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । कोइराला परिवारबाट शशांक कोइराला र शेखर कोइरालाले आफू सभापतिका दाबेदार रहेको बताएका छन् । प्रकाशमान सिंहदेखि अन्य धेरै नेताले सभापतिमा आफ्नो दाबी रहेको बताएका छन् । गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेवारी दिने बताएका छन् । तल्लो तहदेखि युवाहरु निर्वाचित भएर आउने सम्भावना त बढेर गएको छ नै तर प्रदेश तहबाट भने मिश्रित प्रतिनिधि आउने सम्भावना देखिएको छ । यसले कांग्रेसलाई नयाँ ऊजा प्रदान गर्ने आशा गर्न सकिन्छ ।

समग्र रुपमा युवा नेतृत्व तलैदेखि आएर केन्द्रमा पनि दोस्रो तेस्रो तहका नेतामा नेतृत्व जान सके कांग्रेसको रुपान्तरण हुन सक्थ्यो कि भन्ने आशा कार्यकर्तामा छ । अवस्था त्यस्तो भने छैन । शेरबहादुर देउवा जसरी पनि सभापतिमा आउन सबै शक्ति लगाउन तयार छन् भने दोस्रो तहका नेताहरु आपसमा सहमति गरेर जानेभन्दा सबै प्रतिस्पर्धामा उत्रने मानसिकतामा देखिन्छन् । यस्तो अवस्थामा रामचन्द्र पौडेलले आफूलाई सभापतिको प्रमुख दाबेदार माने पनि उनलाई नेतृत्वमा पुर्याउन कठिन छ भने दोस्रो तहका नेताहरु कसैले पनि जित्न नसक्ने स्पष्ट छ ।

दोस्रो तहका एक से एक नेताहरु नेतृत्व लिन सक्षम छु, मेरो नेतृत्वमा कांग्रेसले रुपान्तरणको बाटो लिन्छ भन्ने दाबी गर्नुलाई सुखद नै माने हुन्छ । नेताहरुले आफूलाई नेतृत्व लिन सक्षम छु भन्नु र त्यसै अनुसार काम गर्दै अगाडि बढ्दै जानु भनेको नेताहरुमा परिपक्वताको विकास हुनु हो । यो बलियो पाटो हो भने यस्तो अवस्थाको नकारात्मक पाटो पनि गम्भीर छ । सबै नेताले आफू सभापतिमा उम्मेवार बन्ने भन्दै गुटको सिर्जना गर्दै जाने र अस्वस्थ दाउपेच अझ खतरनाक रुपमा सुरु हुन सक्छ । यसले कांग्रेसको राजनीतिलाई बलियो बनाउनुको सट्टा अझ विकृत बनाउने सम्भावना बढेर जान्छ । यतातिर कार्यकताहरु सचेत हुनु अति आवश्यक हुन्छ ।
कांग्रेसका दोस्रो तहका नेताहरु लामो समय केन्द्रीय राजनीतिको वरिपरि रहे पनि अहिलेसम्म पार्टीलाई प्रभावकारी बनाउनुभन्दा एउटा एउटा नेताको दौराको फेरो समाएर बलियो बन्ने प्रयास गर्दै आएका छन् । नेतृत्वको गल्ती र कमजोरीमा हस्तक्षेप गरेको कहिल्यै पनि देखिएको छैन । आफ्ना पक्षका नेताको बोलीमा सही ठोक्ने मात्र गरेको देखिएको छ । अहिले उनीहरुले नेतृत्व त लिन चाहना राख्न खोजे तर उनीहरुले समग्र कांग्रेसको नेतृत्व लिन सक्लान् त ? नेतृत्व लिनेले आफ्ना प्रतिस्पर्धी तथा अन्य सबै नेताहरुलाई उपयुक्त पद र जिम्मेवारी दिएर सक्रिय बनाउन सक्लान् त ? यतातिर कांग्रेसजन सचेत हुनु अति आवश्यक देखिएको छ ।

SHARE