फरक क्षमताले रचेको इतिहास

21

०२ असोज २०७८

विष्णु थापा

‘मुभिङ फरवार्ड : वि ह्याभ विङ्स’
अर्थात्
अगाडि बढ्यौं : हामीसँग पखेटा छ

एउटा मात्र पंखा भएको सानो विमानले आफ्नो हिम्मत हारिसकेको हुन्छ। दुई वटा पंखामध्ये एउटा मात्र पंखाले काम गर्ने भएका कारण उड्न सकिन्न भनेर विमानले सपना परित्याग गरिसकेको हुन्छ । तर, विमानले धैर्य भने गुमाएको हुँदैन। त्यसपछि उसले साहस र हिम्मत देखाउँछ र एउटै पंखाको भरमा पनि उडान भनेर आफ्नो सपना पूरा गर्दछ।

उड्ने सपना त्यागिसकेको एउटा सानो विमानको कथाले संसारमाझ सकारात्मक सन्देश प्रवाह गरेको थियो, टोकियो पारालिम्पिक २०२१ को उद्घाटन समारोहमा। अगस्ट २४ को भव्य समारोहमा मञ्चन गरिएको यो नाटकले संसारभरका मानिसलाई साहस, हिम्मत र आत्मबल भएमा जस्तोसुकै सपना पूरा गर्न सकिन्छ भन्ने सन्देश मात्र दिएन, अपांग (फरक क्षमता) भएका १ सय ६२ राष्ट्रका ४४ सयभन्दा बढी पारा खेलाडीलाई पनि आत्मबल र आत्मविश्वास प्रदान गरेको थियो।

उद्घाटन समारोहको यही ऊर्जावान् सन्देशसँगै आशा र भरोसा बोकेर संसारभरका पारा खेलाडीले ५ सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। कुनै एउटा अंग नभएर के भो त अर्को अंग त छँदैछ भन्ने हौसला र प्रेरणा खेलाडीहरूले १३ दिनसम्म देखाएका थिए। जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियमलाई विश्वभरबाट जम्मा भएका खेलाडीले आशा, भरोसा र एकताको सूत्रमा बाँधिदिएका थिए। विश्वलाई आफ्नो क्षमता, कौशलता अदम्य साहसको अद्भुत कला देखाएका थिए।

‘छोरी मलाई हेर। मेरो हात नभए पनि यति छिटो पौडिन सक्छु’, टोकियो पारालिम्पिकमा चार स्वर्ण जितेपछि चिनियाँ खेलाडी झेंग ताओले आफ्नी छोरीलाई पठाएको भावुक भिडियो सन्देश हो, यो। उनको यो भिडियो सन्देश अहिले चीनलगायत अन्य देशमा पनि निकै भाइरल भइरहेको छ। यो भिडियो भाइरल हुनुको मुख्य कारण हो, टोकियो पारालिम्पिकमा उनको अद्भुत प्रदर्शन। दुवै हात नभएका झेंगले गत सेप्टेम्बर ५ मा सम्पन्न भएको टोकियो पारालिम्पिकमा चार स्वर्ण जित्दै सबैलाई आश्चर्यचकित पारिदिएका थिए। दुवै हात नभएका झेंग फरक क्षमता भएका व्यक्तिहरूको प्रेरणा र गर्वको स्रोत बन्न सफल भए।

विश्वभरबाट जम्मा भएका खेलाडीले आशा, भरोसा र एकताको सूत्रमा बाँधिदिएका थिए। विश्वलाई आफ्नो क्षमता, कौशलता अदम्य साहसको अद्भुत कला देखाएका थिए।

बाल्यकालमै करेन्ट लागेर दुवै हात गुमाएका उनले पौडीको फ्रिस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा स्वर्ण पदक जितेका थिए। त्यो पनि विश्व र पारालिम्पिक कीर्तिमानसहित। सेप्टेम्बर १ मा उनले जितेको ५० मिटर फ्रिस्टाइल चीनका लागि अझ विशेष बन्यो। किनभने उनकै पदकले चीनले पारालिम्पिकमा पाँच सय स्वर्ण पदकको कोसेढुंगा पूरा गरेको थियो। सन् १९८४ देखि पारालम्पिकमा सहभागिता जनाएको चीनले ३७ वर्षको अवधिमा पाँच सय स्वर्ण जित्न सफल भएको छ।

टोकियो पारालिम्पिक झेंगको अन्तिम सहभागिता हो। ३० वर्षीय झेंगले यही पारालिम्पिक आफ्नो अन्तिम भएको बताएका छन्। ‘म कुनै पछुतोबिनै अलआउट भएँ। टोकियो पारालिम्पिक मेरो अन्तिम सहभागिता हो। मलाई लाग्छ, यो अहिलेसम्मकै सबैभन्दा विशेष सहभागिता हो’, झेंगले चार स्वर्ण पदक जितेपछि भनेका थिए।

पारालिम्पिक अन्तर्राष्ट्रिय मल्टी स्पोर्ट्स इभेन्ट हो। जसमा शारीरिक रूपमा अशत्ताm (फरक क्षमताका) खेलाडीहरूले प्रतिस्पर्धा गर्दछन्।

झेंगले १३ वर्षको उमेदेखि पौड्न सुरु गरेका हुन्। उनले पारालिम्पिकको तयारीका लागि दैनिक १० किलोमिटरसम्म पौडिने गरेका थिए। सन् २०१२ देखि पारालिम्पिकमा सहभागी भएका उनले अहिलेसम्म नौ वटा पदक जितेका छन्।

जसलाई बुवाले मार्न चाहन्थे, उनै विश्वभरको प्रेरणा बनिन् भियतनामकी १८ वर्षीया हेभन सेफर्डले सानो छँदै बम बिस्फोटमा परेर आफ्ना दुवै खुट्टा गुमाइन्। कुनै विद्रोहीको एम्बुस वा उग्रवादी समूहले गराएको बम बिस्फोटमा उनले खुट्टा गुमाएकी होइनन्, आफ्नै बुवाले आफ्ना परिवार मार्नका लागि पड्काएको बमले सेफर्डले दुवै खुट्टा गुमाउन पुगेकी थिइन्। बुवाको आत्मघाती बम हमलाबाट १६ महिने शिशु सेफर्ड बाँचिन् तर, उनको दुवै खुट्टालाई बमले उछिट्ट्यायो। उनले आफ्ना आमाबुवा दुवैलाई गुमाइन् पनि। पारिवारिक कलहका कारण हेभनका बुवाले परिवारलाई नै बमले उडाउन खोजेका थिए। उनले हेभनको पेटमा बम बाँधेका थिए। तर, भाग्यको खेल !

हेभन दुवै खुट्टा गुमाएर भए पनि बाँचिन्, उनका बुवाआमाले भने संसार छाडे।

उड्ने सपना त्यागिसकेको एउटा सानो विमानको कथाले संसारमाझ सकारात्मक सन्देश प्रवाह गरेको थियो, टोकियो पारालिम्पिक २०२१ को उद्घाटन समारोहमा।

यो घटनापछि रगतले लत्पतिएकी हेभनलाई स्थानीयले उद्धार गरे। उनलाई तत्कालै अस्पताल भर्ना गरियो। तर, उपचारका लागि उनका हजुरबुवासँग पैसा भएन। त्यहीबीचमा एक अमेरिकन दम्पती आशाको किरण बनेर अस्पताल पुगे। जो कोहीलाई विक्षिप्त पार्ने घटना सुनेर अस्पताल पुगेका अमेरिकी नागरिक शेली र रब सेफर्डले अस्पतालको सबै खर्च बेहोरे। परिवारकै आग्रहमा उनीहरूले हेभनलाई धर्मपुत्री बनाएर अमेरिका लगे। अमेरिकामा हेभनको थप उपचारसँगै कृत्रिम खुट्टा पनि जडान गरियो।

शेली र रबले उनलाई खेलकुदमा लाग्न प्रेरित गरे। कृत्रिम खुट्टाकै भरमा पनि उनी सानैदेखि खेलकुदमा सक्रिय भइन्। कृत्रिम खुट्टाकै भरमा उनले पौडी र एथलेटिक्सका खेल खेल्न थालिन्। त्यसैलाई निरन्तरता दिँदै उनले टोकियो पारालिम्पिकसम्मको यात्रा तय गर्न सफल भइन्। मेहनत, लगन, साहस र धैर्यले आफ्नो परिचय संसारभरका मानिसलाई दिन सफल भइन्। पौडीको पाँच स्पर्धामा प्रतिस्पर्धा गरेकी उनले पदक भने जित्न सकिनन्, तर, आफूजस्तै धेरैका लागि भने प्रेरणाको स्रोत बन्न सफल भइन्।

जसले बदले अपांगताको परिभाषा
यस वर्ष पारालिम्पिकमा सबैको ध्यान तान्न सफल अर्का खेलाडी हुन्, म्याट स्टुजम्यान। अमेरिकी आर्चरी खेलाडी म्याटको दुवै हात छैनन्। उनी घाँटी र खुट्टाको सहायतामा आर्चरी खेल्ने गर्छन्। म्याटको जन्मजात दुवै हात थिएनन्। तर, उनी आफूमाथि आइलाग्ने ‘अपांगता’को परिभाषा बदल्ने अभियानमा लागे। यही क्रममा आर्चरी खेल्ने मात्र होइन, गाडी चलाएर पनि सबैलाई आश्चर्यमा पार्दै आएका छन्।

सन् २०१२ को पारालिम्पिकमा रजत पदक जितेदेखि उनी अन्तर्राष्ट्रिय वृत्तमा चर्चाको विषय बन्दै आएका छन्। अझ सन् २०२० मा रिलिज भएको ‘राइजिङ फोनिक्स’ डकुमेन्ट्रीले उनको संघर्षशील परिचयलाई फैलाउने काम गर्‍यो। जापानमा आयोजना भएको टोकियो पारालिम्पिकमा प्रतिस्पर्धा गरेका म्याटबाट स्वर्णको आशा गरिएको थियो। तर, उनले सबैको आशा अनुरूप पदक जित्न नसके पनि आफ्नो परिचयलाई थप विराट बनाउने काम भने गरे।

फरक क्षमता भएकाको पर्व
पारालिम्पिक अन्तर्राष्ट्रिय मल्टी स्पोर्ट्स इभेन्ट हो। जसमा शारीरिक रूपमा अशक्त (फरक क्षमताका) खेलाडीहरूले प्रतिस्पर्धा गर्दछन्। त्यसैले फरक क्षमता भएकाहरूको विशेष पर्वका रूपमा पारालिम्पिकलाई लिइन्छ।  पारालिम्पिकमा शारीरिक अशक्ततासँगै मांसपेसी कमजोर भएका ‘पाराप्लेगिया, अक्वाड्रिपलेसिया, मस्कुलर डिस्ट्रोफी, पोस्ट पोलियो सिन्ड्रोम, स्पिना बिफिडा, धेरै हलचल गर्न नसक्ने र विशेष अंग नभएकाहरूले पारालिम्पिकमा प्रतिस्पर्धा गर्ने गर्दछन्।

अफगानिस्तानको झण्डा मात्रै सहभागी
विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका पारा खेलाडी उद्घाटनपछि मात्रै जापान पुगेका थिए। उद्घाटन सत्रमा अफगानिस्तानका कोही पनि खेलाडी र अफिसियल सहभागी नभएपछि एकताका लागि मार्चपासमा झण्डा भने सहभागी गराइएको थियो।

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका जकिया खुदादादी र हुसेन रसौली जापान पुगेका थिए। उनीहरू एक साता फ्रान्सको पेरिसमा बिताएपछि मात्रै जापान प्रवेश गरेका थिए। खुददादी पारालिम्पिकमा सहभागी हुने पहिलो अफगानी महिला खेलाडी हुन्। अफगानिस्तानले सन् २००४ को एथेन्स पारालिम्पिकबाट सहभागिता जनाउन थालेको हो। उनले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत ४९ केजीमुनिको तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन्। यसैगरी रसौलीले पुरुष चार सय मिटर दौडमा सहभागिता जनाएका थिए। यस पटकको पारालिम्पिकमा २१ देशले कोरोनालगायतका कारण देखाउँदै सहभागी जनाएनन्। यस्तै भुटान, माल्दिभ्स, पराग्वे, ग्रानडा र सेन्ट भिन्सेन्टले भने पारालिम्पिकमा डेब्यु गरेका थिए।

पदक तालिकामा चीनको बर्चस्व
टोकियो पारालिम्पिकमा एसियाली मुलुक चीनले दबदबा कायमै राख्यो। चीनले टोकियो पारालिम्पिकमा मात्रै ९६ स्वर्ण जित्यो यस्तै ६० रजत र ५१ कांस्य गरी दुई सय सात पदक जित्दै आफ्नो दबदबा कायम राख्यो। यसैगरी बेलायतले ४१ स्वर्ण, ३८ रजत र ४५ कांस्यसहित एक सय २४ पदक जित्यो। तेस्रो स्थानमा रहेको अमेरिकाले ३७ स्वर्ण, ३६ रजत र ३१ कांस्य जित्यो। चौथो स्थानमा रहेको रसियन ओलम्पिक कमिटीले ३६ स्वर्ण, ३३ रजत र ४९ कांस्य तथा पाँचौं स्थानको नेदरल्यान्ड्सले २५ स्वर्ण, १७ रजत र १७ कांस्य जित्यो।

कसरी सुरु भयो पारालिम्पिक ?
दोस्रो विश्वयुद्धका बेला थुप्रै बेलायती सैनिक घाइते भएका थिए। युद्धमा सहभागी धेरै सैनिकको स्पाइनल कर्ड इन्जुरी भएको थियो। कसैको हातखुट्टा चल्दैनथियो भने कोहीको कम्मरमुनिको भागले काम गर्दैन थियो। केहीले हात केहीले खुट्टाका विभिन्न भाग गुमाएका थिए। दोस्रो विश्वयुद्धका घाइतेहरूको दिनचर्चा पिर र चिन्तामै बित्न थाल्यो। ‘अब केही गर्न सकिँदैन’ भन्ने हीनताबोधबाट उनीहरू ग्रसित भए।

कुनै कुनामा थन्किएर बस्ने युद्धका घाइतेहरूलाई खेलकुदमा सक्रिय बनाउन सन् १९४८ मा सर गुडविग गुट्टम्यानको सक्रियतामा एउटा खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। त्यसमा धेरै युद्धका घाइतेहरू सहभागी भएका थिए। त्यही प्रतियोगितालाई सन् १९५२ मा निरन्तरता दिइएको थियो। यो प्रतियोगितामा बेलायतका साथै नेदरल्यान्ड्सका शारीरिक रूपमा अशक्तहरू व्यक्तिहरू सहभागी भएका थिए। यसकै विकर्षित रूपका रूपमा सन् १९६० मा इटालीको रोममा पारालिम्पिक खेलकुद सुरु भएको हो। पारालिम्पिक पनि ओलम्पिकजस्तै हरेक चार वर्षको अन्तरालमा आयोजना हुने गर्दछ। ओलम्पिक सकिएपछि पारालिम्पिक खेल सुरु हुन्छ।

टोकियो दुई पटक पारालिम्पिक आयोजना गर्ने पहिलो सहर बनेको छ। यसअघि टोकियोले सन् १९६४ को पारालिम्पिक पनि आयोजना गरेको थियो। त्यतिबेलाको पारालिम्पिकमा २१ राष्ट्रका ३ सय ७५ खेलाडीले नौ खेलमा प्रतिस्पर्धा गरेका थिए।

पारालिम्पिकमा सबैभन्दा बढी पदक जित्ने खेलाडी अमेरिकी पौडीबाज ट्रिस्र्चा जोर्न हुन्। उनले अहिलेसम्म ५५ पदक जितेकी छन्। उनले ४१ स्वर्ण ९ रजत र ५ कांस्य पदक जितेकी छन्। जन्मँदै दुवै आँखा नदेख्ने जोर्नले सन् १९८० को पारालिम्पिकदेखि सहभागिता जनाउन थालेकी हुन्।

दबाब झेलेर दुई स्वर्ण
ओलम्पिकजस्ता अन्तर्राष्ट्रिय मल्टी इभेन्टमा खेलाडीहरू निकै दबाबमा हुन्छन्। आफ्नो देशको प्रतिनिधित्व गरेर सर्वोच्च प्रतियोगितामा पदक जित्ने सपना सबै खेलाडीको हुन्छ। हरेक खेलाडीको सपना ओलम्पिक खेल्ने र पदक जित्ने हुन्छ। अमेरिकी साइक्लिङ खेलाडी ओक्सना मास्टर्सलाई टोकियो पारालिम्पिकमा पदक जित्ने दबाब त छँदै थियो, त्योभन्दा बढी उत्साहित पनि थिइन्। उनी दोस्रो पटक पारालिम्पिकमा प्रतिस्पर्धा गर्न टोकियो पुगेकी थिइन्। अमेरिकी टोलीकी सबैभन्दा अनुभवी खेलाडी भएका कारण उनमा अतिरिक्त दबाब त छँदै थियो।

यसरी विभिन्न दबाब झेल्दै मास्टर्सले टोकियो पारालिम्पिकमा आफूलाई अब्बल सावित गरिन्। ३२ वर्षीया मास्टर्सले साइक्लिङको रोड रेस र टाइक ट्रायलमा गरी दोहोरो स्वर्ण पदक जितिन्। यससँगै उनले पारालिम्पिक पदकको संख्या १० पुर्‍याउन सफल भइन्। उनी गृष्मकालीन र शीतकालीन पारालिम्पिकमा स्वर्ण पदक जित्ने छैटौं अमेरिकी खेलाडी बन्न सफल भइन्। युक्रेनमा जन्मिएकी मास्टर्स विकिरण विषाक्तताका कारण आफ्नो हात र खुट्टा गुमाउन पुगिन्। सात वर्षको उमेरमा आफ्ना महत्त्वपूर्ण अंग गुमाएपछि बुबा आमाले अनाथालयमा लगेर छाडिदिएका थिए। उनी अनाथलयमै हुँदा अमेरिकी नागरिक गे मास्टर्सले उनलाई अपनाइन्। अमेरिका लगेर कृत्रिम हातखुट्टा लगाइदिइन् र खेलकुदमा लाग्न प्रेरित गरिन्। उनले सन् २०१२ को लन्डन पारालिम्पिकमा पहिलो पटक सहभागी भइन्। ट्रंक एन्ड आम्स मिक्स डबल्समा कास्य पदक जितेकी थिइन्।

भाग्यमानी श्रीमान् श्रीमती
टोकियो पारालिम्पिकमा स्वर्ण पदक जित्ने भाग्यमानी श्रीमान् श्रीमती हुन्, बेलायतका नील फाची र लोरा फाची। यी दम्पत्तिले १६ मिनेटको फरकमा साइक्लिङमा स्वर्ण पदक जितेका थिए। श्रीमान् श्रीमतीले नै ऐतिहासिक स्वर्ण पदक जितेपछि नीलले ‘यो आफ्नो सपनाभन्दा निकै परको सफलता’ भएको बताएका थिए। ‘यो हाम्रो सपनाभन्दा परको सफलता हो। हामी दुवै पारालिम्पिकजस्तो ठूलो प्रतियोगितामा स्वर्ण पदक जित्न सक्छौं भन्ने सोचेकै थिएनौं’, नीलले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भनेका थिए, ‘यो दिनलाई हामी कहिले पनि बिर्सन सक्दैनौं।’

फाची दम्पत्तिको सफलता बेलायती टोलीका लागि मात्र होइन, विश्व खेलकुदको मञ्चमा आफूलाई अब्बल सावित गर्ने उत्साह बोकेका हजारौं खेलाडीका लागि पनि हौसला र प्रेरणा बन्न पुग्यो। नील र म्याट रोदरहामले साइक्लिङको एक हजार मिटर रेसमा आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोड्दै स्वर्ण जिते। त्यसको केही समयपछि लोराले कोरिन हलसँग मिलेर तीन हजार मिटर रेसमा पहिलो स्थान हात पारेका थिए। यसअघि नील र लोराले आफ्नै देशमा आयोना भएको सन् २०१२ को लन्डन र सन् २०१६ को रियो ओलम्पिकमा पनि प्रतिस्पर्धा गरेका थिए। उनीहरूका लागि यी दुई संस्करणभन्दा टोकियो पारालिम्पिक विशेष बन्यो। एकै संस्करणमा दुवैले स्वर्ण पदक जित्न सफल भए। नील र लोरा दुवै दृष्टिविहीन हुन्। रियो ओलम्पिकमा लोराले स्वर्ण जितेकी थिइन् भने नीलले रजतमै चित्त बुझाउनु परेको थियो।

फरक क्षमता भएकाहरूको पर्व
पारालिम्पिक अन्तर्राष्ट्रिय मल्टी स्पोर्ट्स इभेन्ट हो। जसमा शारीरिक रूपमा अशक्त (फरक क्षमताका) खेलाडीहरूले प्रतिस्पर्धा गर्दछन्। त्यसैले फरक क्षमता भएकाहरूको विशेष पर्वका रूपमा पारालिम्पिकलाई लिइन्छ। पारालिम्पिकमा शारीरिक अशक्ततासँगै मांसपेसी कमजोर भएका पाराप्लेगिया, अक्वाड्रिपलेसिया, मस्कुलर डिस्ट्रोफी, पोस्ट पोलियो सिन्ड्रोम, स्पिना बिफिडा, धेरै हलचल गर्न नसक्ने र विशेष अंग नभएकाहरूले पारालिम्पिकमा प्रतिस्पर्धा गर्ने गर्दछन्।

अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटीले खेलाडीहरूको शारीरिक, दृष्य एवं बौद्धिकतालगायत शारीरिक दुर्बलताका आधारमा १० वटा श्रेणी छुट्टयाएको छ। त्यही श्रेणीका आधारमा हरेक खेलमा प्रतिस्पर्धा हुने गर्दछ। तर, हरेक अपांगता भएका व्यक्तिले सबै खेल खेल्न पाउँदैन। उनीहरूको शारीरिक अवस्थाका आधारमा श्रेणीहरू छुट्टयाइएको छ। श्रेणी विभाजन गृष्मकालीन र शीतकालीन दुवै पारालिम्पिकका लागि गरिएको हो। शारीरिक दुर्बलता आठ प्रहारको हुन्छ। –एजेन्सीको सहयोगमा

०००

पलेसाको पनि प्रेरणादायी प्रदर्शन


परिवारमा नयाँ सन्तानको आगमन हुँदा सबैको मन प्रसन्न हुन्छ। सबै खुसीले गद्गद् पनि हुन्छन्। बधाईको ओइरो लाग्छ। तर, काठमाडौं बागबजारका प्रदीप गोवद्र्धन र मनिता गोवद्र्धन माइली छोरी पलेसा गोवद्र्धन जन्मँदा भने खुसी हुन सकेनन्। छोरीको जन्मजात बायाँ हातको हत्केला नै नभएपछि उनीहरू निकै भक्कानिएका थिए। एउटा हातको हत्केला नै नभएको छोरीको भविष्य के होला भन्ने चिन्ताले उनीहरूलाई सताएको थियो। गत भदौ १८ गते उनीहरू फेरि भक्कालिए। गहभरि आँसु बनाए। तर, त्यो दुःखको होइन, खुसीको आँसु थियो। जन्मिँदै बायाँ हातको हत्केला नभएकी पलेसा गोवद्र्धनले टोकियो पारालिम्पिकमा गर्विलो प्रदर्शन गरेकी थिइन्।

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा ऐतिहासिक पदक जित्नबाट चुके पनि उनले कीर्तिमान बनाउन भने सफल भइन्। के–४४ विधाअन्तर्गत प्रतिस्पर्धा गरेकी पलेसा पारालिम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन्। उनले नेपाली खेलाडी अन्तर्राष्ट्रिय खेलमञ्चमा सहभागी मात्र हुने होइन, पदकका लागि प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने कुरा पनि प्रमाणित गरिदिइन्। कास्य पदकका लागि भएको रिपिचेज फाइनलमा पलेसा चिनियाँ खेलाडी युजी लिसँग पराजित भएकी थिइन्। त्यसअघि उनले रिपिचेजको क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० र सेमिफाइनलमा सर्बियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले पराजित गरेकी थिइन्। पारालिम्पिकमा तेक्वान्दो यसै संस्करणदेखि समावेश गरिएको हो। १८ वर्षीया पलेसाले वाइल्ड कार्डमार्फत सहभागिता सुनिश्चित गरेकी थिइन्। पलेसा टोकियो पारालिम्पिकमा सहभागी एक्ली नेपाली खेलाडी पनि हुन्।

सन् २००८ बाट नेपालको सहभागिता 
सन् २००८ को बेइजिङ पारालिम्पिकबाट नेपालले सहभागिता जनाउन थालेको हो। नेपालबाट सबैभन्दा पहिले जितबहादुर खड्काले पारालिम्पिक खेलेका थिए। उनले सन् २००८ को बेइजिङ पारालिम्पिकमा एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए। यसैगरी सन् २०१२ को लन्डन पारालिम्पिकमा मैयाँ विशुंखे, विक्रमबहादुर राना र मानबहादुर तामाङले एथलेटिक्समै प्रतिस्पर्धा गरेका थिए। सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा आयोजना भएको पारालिम्पिकमा विक्रमबहादुर रानाले एथलेटिक्स र लक्ष्मी कुँवरले पौडीमा प्रतिस्पर्धा गरेका थिए। अन्नपूर्ण पोष्टबाट

SHARE