२०७८ पुस २१ गते प्रकाशित
जननीखबर संवाददाता
अर्घाखाँची– स्थानीय तहको चुनावमा एमालेबाट पाणिनि गाउँपालिका उपाध्यक्षमा जितेकी प्रभावशाली महिला नेतृ लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेर कांग्रेस राजनीतिमा क्रियाशिल हुन थालेकी छिन् ।
कांग्रेस पाणिनिको आयोजना भएको बृहत आमसभामा गौतमलाई १९ गते कँंग्रेस महामन्त्री गगन थापाल, केन्द्रीय सदस्य सदस्य पुष्पा भुसाल, सञ्जय गौतम, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), जिल्ला सभापति केशव श्रेष्ठ पूर्वसभापति कमलप्रसाद भुसाल लगायतका कांग्रेस नेताले पाटीमा स्वागत गर्दै प्रवेश गराए ।
‘मेरो विगतमा एमाले पृष्ठभूमि भएपनि कम्युनिष्टमा विचलन आएको र देश बनाउने पाटी कांग्रेस भएकाले म प्रवेश गरेकी हुँ,’ लक्ष्मी गौतमले भनिन, ‘राजनीतिका हरेक अन्दोलनमा सक्रिय हुँ। अब कांग्रेसको राजनीतिमा सक्रिय भएर जनताको काममा सक्रिय हुन्छु ।’
गौतम एमालेका जिल्ला सदस्य समेत भइन । एमाले विभाजनपछि समाजवादी पाटीले उनलाई केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्जको जिम्मेवारी दिएको थियो । गौतम सहित एमाले, माओवादी केन्द्र र समाजवादीबाट गरी ४ सय ७५ जना कांग्रेसमा प्रवेश गरे ।
स्थानीय तहको चुनावमा एमालेका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला गाउँपालिका अध्यक्षमा कांग्रेसका नेता अच्युत गौतमसित पराजित भए । लक्ष्मी गौतम यस क्षेत्रकै लोकप्रिय नेता भएकै कारण उपाध्यक्षमा विजयी भएकी थिइन ।
यसअघि पनि कांग्रेस जिल्ला सचिव एवं पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम लगायतका कांग्रेस नेताको पहलमा सयौं जना कम्युनिष्टबाट कांग्रेसमा प्रवेश गरेपछि पाणिनिमा अब कांग्रेसले स्थानीय तहको चुनावमा जित्ने बलियो आधार बन्दै गएको छ ।
युवा नेताहरु पाणिनि सभापति लुल्सी पौडेल, उपसभापति अर्जुन पोखरेल, युवा नेता टोपलाल गैरे लगायतका नेताहरु कांग्रेसको संगठन निर्माणमा लागिपरेका छन् ।