२०७८ माघ ९ गते प्रकाशित
सहयोगी बिसी
सहयोगी बिसी
आजको स्तम्भमा प्रजातन्त्रका सेनानी ज्युदो इतिहास जिम्माल टेक बहादुर भुसाल बुबाको बिषयमा केही लेख्ने कोसिस गरेको छु। जिम्माल बुबा अर्घाखाँची जिल्लाको साबिक अर्घातोष हाल सन्धिखर्क ११ जोगिमारेमा बस्नु हुन्छ ।
उहाँको जन्म १९८७ साल कार्तिक ३ गते जिम्माल खिमानन्द भुसाल र माता ज्ञान कुमारी भुसालको ६ भाइ छोरा मध्ये जेठो सन्तानको रूपमा जन्मनु भएको थियो ।
उहाँको वांङला अर्लादिकी सुमित्रा बस्नेत संग बिबाह भएको थियो । उहाँबाट ६ छोरा र २ छोरीको जन्म भएको थियो । उहाँका जेठो जम्दार रुद्र बहादुर भुसाल ,माइलो सुबेदार शालिकराम भुसाल काईँलो राम बहादुर भुसाल (शिक्षक अबकाश ) कपिलवस्तु बाणगंगा मोतिपुर बस्दै आईरहनु भएको छ भने साईलो बिन बहादुर भुसाल घाईलो कृष्ण बहादुर भुसाल र कान्छो डिल्लिराम भुसाल गाउँमै बस्नुहुन्छ ।
ज्वाइँ भेषराज कुँवर (शिक्षक सेवा निबृत्त) सन्धिखर्क ११अमिले हाल मोतिपुर कपिलवस्तु ज्वाइँ देबेन्द्र कुँवर चिदिपानी अर्घातोष हाल मोतिपुर कपिलवस्तु हुनुहुन्छ ।
उहाँले चिदिका थानेश्वर ज्ञवाली बाट प्रारम्भिक शिक्षा लिनु भएको थियो । गाउँ नजिक लिलामणी आचार्यको गोठमा स्थानिय कुलराज बन्जाडे,जीव बहादुर थापा ,कुलराज भुसाल,मुसामारेका भुवानन्द भुसाल चक्र बहादुर कुँवर जग बहादुर कुँवरसंगै उहाँले पढनु भएको थियो । पछि उहाँ वांङलाका भेषराज भट्टराई भन्ने गुरु बाट बराङदि मावल डिट्ठा मनिराम बस्याल कहाँ बसेर ३०-३५ जनाले चिट्ठी तमसुक भर्पाई लगायत ब्यबहारिक ज्ञान बारेमा सिकेको उहाँ बताउनु हुन्छ ।
त्यसपछि उहाँ १४ बर्षको उमेरमा पाल्पा तानसेनको भैरबस्थान बसेर मुद्दा मामिला निवेदन दरखास्त बादि प्रतिबादी सम्बन्धि काम गरेर केही अनुभव र केही पैसा कमाएको भन्नुहुन्छ ।
सोहि पाल्पा रहेकै अबस्थामा बुबा भारतको कलकत्ता उपचार गर्ने भनी जानू भएकोमा अस्पताल जान लाग्दा पानाघाटमा गाडिको ठक्कर बाट ३९ बर्षको कल्कलाउँदो उमेरमा बुबाको निधन भएपछि उहाँ लाई खबर गरेर घर झिकाईयो ।
उहाँको मृत्यु बारे झेंडी गोपिराम कुँवर ( केशब कुँवरको हजुरबुबा )ले झोला कपडा लिएर मावल आई घटनाको बारे आमालाई बोलाएर बुबाले सम्झाएको र त्यसपछि काजकिरिया गरेको उहाँ सम्झनु हुन्छ ।
जिम्माल खिमानन्द भुसालको मृत्युमा त्यो बेला जिल्ला नै शोकमग्न भएको जस्तो लाग्दछ उहाँ बताउनु हुन्छ।यदि उहाँको सानै उमेरमा मृत्यु नभएको भए हाम्रो परिबार नै अझ प्रगति उन्नति गरेर जान्थ्यो । मैले पुरै राजनीतिमा नेतृत्व गर्दथें भन्नुहुन्छ । के गर्नु गाउँको जिम्मेवारी छोडन भएन । जिम्माली जिम्मेवारी समाल्नु हाम्रो दायित्व र कर्तब्य थियो र हुन्थ्यो । बुबाको मृत्यु पछि मामा हरि बहादुर बस्याल संग बागलुङमा गएर बुबाको घटना सबिस्तार बताएपछि नियुक्ति लिन प्रस्ताव गरियो ।
त्यो नियुक्ति लिन १७ बर्षको उमेर हुन पर्दोरहेछ आफू बल्ल १५ बर्ष भैएको थियो । कर्मचारीले १७ बर्षको ब्यक्तिमा त जुँगाको रेखी बस्दछ उमेर पुगेको छैन भनेर भनेपछि मामाले खुसुक्क ३० रुपैया घुस दिएपछि बल्ल जिम्माली नियुक्ति लिएर आएको उहाँ भन्नुहुन्छ । त्यो बेला पनि घुस चल्ने रहेछ ।
त्यसपछि उहाँ आएर अर्घातोष मौजाको काम गर्न थाल्नु भयो ।
उहाँसंगै अडगुरीका शिव प्रसाद अर्घाका पिताम्बर भुसाल बाँगीका जिम्माल गोबिन्द पंथी मुख्खे टिकाराम पंथी , प्रेम बहादुर वाग्ले (पंथी),गुन बहादुर खड्का डिहिडाँडाका मधुलजंग शाह बल्कोटका खडानन्द वांङलाका पोम नारायण आचार्य लम्चिका शिव प्रसाद आचार्य ,कुरका टीका प्रसाद भुसाल डिभर्नाका थानेश्वर लगायतले जिम्माल मुख्खे ( खेत र पाखो) बाट उठाएको तिरो भरो बोकेर बागलुङमा गएर ८(आठ)जिल्लाको रकम बुझाएको सम्झनु हुन्छ ।
त्यत्ति बेला त्यो कामलाई गाउँको सेवा र जिम्मेवारीको रूपमा लिने गरिन्थ्यो।
जो समाजमा खान पुग्ने टाठो बाठो केही पढे लेखेको र सेवा भावना भएर खटने मान्छेले जिम्मेवारी पाउथ्यो । त्यस बापत समाजको अगुवा ( अहिलेको नेता) हुन अबसर जुटथ्यो ।
यता रोल्पा सुर्खेत प्युठानका ले असुरकोट खिल्जी,नुवाकोट गाँडसाल ,तिम्लेथुम,तल्ला हुलाक बल्कोट ,खन्निबास गैडिखुट्टा दिगाम रिडि अर्गलि हुँदै पाल्पा लगेर बुझाईन्थ्यो।यसरी राज्य चलेको थियो ।
उहाँ २००४ सालमा पार्टी सुधार समिति सदस्य हुनु भएको थियो । काशिनाथ गौतम ,शिद्वी प्रसाद आचार्य शोभाखर भुसाल समेत बसेर सो समिति बनेको थियो । त्यसपछि उहाँ २००७ साल सम्म सकृय रूपमा पार्टी काममा लाग्नु भएको थियो ।
उहाँ अर्घातोष पंचायतमा ३ पटक उप- प्रधान हुनुभयो । गाउँ फर्क अभियानमा २ पटक प्रधानपंच हुनुभयो । त्यत्ति बेला २ बर्षको मात्र कार्यकाल हुने गर्दथ्यो ।
१५ सालमा नेपाली कांग्रेसले जितेपनी२०१७ सालमा राजाले सत्ता आफ्नो हातमा लिएपछि उहाँ लगायत काशिनाथ गौतम शोभाखर भुसाल लगायतले भित्र भित्र नेपाली कांग्रेसको राजनीति गर्ने बाहिर बाहिर पंचायतको समर्थन गरेर चुनावमा भागलिने बिकास गर्ने जनता लाई सचेत बनाउने काममा लाग्नु भयो ।
शोभाखर भुसाल तम्घासमा सचीव हुँदा रु ५००। ल्याएर अर्घाखाँचीमा पहिलो बजेट बाट खानेपानी ल्याएको अनुभव बताउनुहुन्छ । २०१५ सालको निर्वाचनमा जति निर्वाचन बुँद थिए त्यो ठाउँमा स्कुल दिने भन्ने नेपाली कांग्रेसको निर्णय अनुसार देशै भरी स्कुल स्वीकृत भएका र सुर्यथुम ,छेडाकाठाँटी ,डिभर्नामा बिधालय स्थापना गरेको उहाँ सुनाउनु हुन्छ । २०३४ सालमा गम्भीरमान श्रेष्ठ जिसिअ बाट जोगिमारे स्कुल स्थापना गरेको ओखरबोट बाँसपाटा मोटरबाटो हडाखोला बाट खानेपानी ल्याएर टोल टोल पुराउन भूमिका खेल्नु भयो ।
उहाँ बि.पि. कोइराला ,गणेशमान सिंह ,कृष्ण प्रसाद भट्टराई ,संग काठमाडौमा गएर भेट हुने र जिल्ला भ्रमण आउँदा जिल्लाको सम्पुर्ण बस्तुस्थिती बताउने एक बिश्वास पात्र हुनुहुन्थ्यो ।
उहाँका अनुसार त्यो बेलाका आफू संग मुख्खे जिम्माल गर्ने राजनीति गर्ने कोहि पनि ब्यक्ति अहिले जिवित नरहेको सुनाउनु हुन्छ ।
उहाँ जहिले जहाँ जाँदा पनि घोडामा सबार गर्ने गर्नु हुन्थ्यो । झण्डै ७५ बर्ष एकनासले घोडा चढनु भएको उहाँले ८४ पुजा गरेपछि गरेपछी वैदिक विधि पुर्बक पुजा आजा गरि ब्राम्हण लाई घोडा दान दिएर घोडा चढन छोडनु भएको छ ।
उहाँको जिबनमा ४ वटा ठुला घटना भएका छन । आफू १५ बर्षैको हुँदा नहुँदै २००२ सालमा३९ बर्षे बुबाको भारतमा निधन (दाहसंस्कार समेत गर्न नपाउनु) २०५३ सालमा ६६ बर्षको उमेरमा श्रीमतीको निधन २०७५ सालमा जेठो छोरा जम्दार रुद्र बहादुर भुसाल र २०७८ सालमा जेठी छोरी लुम कुमारी कुँवरको ६७ बर्षमा निधन भएको छ ।
उहाँ अहिले कान्छो छोरा डिल्लीराम भुसाल र बुहारी बिष्णु माया भुसालको साथमा जन्म घरमै बस्दै आईरहनु भएको छ । उहाँ हरुको अत्यन्तै माया ममता स्याहार सुसारमा खुशी साथ जीवन बिताउनु भएको छ ।
९२ बर्षको उमेरमा पनि उहाँ अहिले पनि गाउँ घर छरछिमेकमा घुम्ने गर्नुहुन्छ ।उहाँ लाई कुनै रोग छैन । उहाँसंगको अन्तरंग कुराकानी गर्दा उहाँको स्मृतिमा जिबनकालका सम्पुर्ण कुरा हरु जस्ताको तस्तै रहेछन । उहाँले बर्ष महिना गते र बार सम्म पनि बताउन सक्नुहुन्छ । अहिले पनि देशमा के भैरहेको छ कुन पार्टीका कुन नेताले के भने लगायत सम्पुर्ण सूचना लिनु हुन्छ । रेडियो सुनिरहने गर्नुहुन्छ ।
उहाँ अहिले पनि नेपाली कांग्रेसको बिचार सिद्धान्त प्रती प्रतिबद्ध हुनुहुन्छ ।बिपिको सिद्धान्त अनुसार नेपाली कांग्रेस अगाडि न बढेकोमा चिन्ता व्यक्त गर्ने उहाँ डा.शेखर कोइराला, गगन थापा, बिश्वप्रकाश शर्मा, डा.चन्द्र भण्डारी, बिष्णु मुस्कान प्रती भने धेरै आशाबादी रहेको बताउनुहुन्छ ।
उहाँले राजनीति नै सेवा हो भन्ने लागेर डा. राम बहादुर बि. सि. राजनीतिमा त्यो बेला देखि होमिएकोले एकपटक जिल्लाको सांसद भएको देखेर मर्ने ठूलो धोका रहेको बताउनुहुन्छ ।
उहाँको सिंगो इतिहास लेख्ने हो भने एउटा पुस्तक तैयार हुन्छ । मैले त केबल ५% मात्र लेखेको छु।
उहाँ जस्तो ऐतिहासिक ब्यक्तित्वलाई राष्ट्रले सम्मान गर्नु पर्दछ बिभुषित गर्नुपर्दछ भन्ने माग राख्दै उहाँको दीर्घ जिबनको निम्ति ईश्वर संग प्रार्थना गर्दछौं ।