२०७८ वैशाख १७ गते प्रकाशित
जननीखबर संवाददाता
अर्घाखाँची– चार दलीय गठबन्धनको तर्फबाट सन्धिखर्क नगरपालिका प्रमुखमा कांग्रेस नेतृ शान्ता भण्डारी र उपप्रमुखमा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र भुसाल १२ वटै वडाका गाउँ–गाउँमा मतदाताको घरदैलोमा पुगेका छन् । कांग्रेस, माओवादी, राष्टिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता तथा कार्यकर्तासँग घरदैलो गर्दै मत मागिरहेका छन् ।
गाउँमा पुगेका भण्डारी र भुसालले नगरको विकास गर्न आफुहरु सहित १२ वटै वडामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका छन् । ‘जनताको अपार माया हामीसँग छ,’ भण्डारीले भनिन, ‘विकासका एजेण्डा, नगरलाई नमूना बनाउने योजना गठबन्धनसग छ । ५ वर्षमा हामीले परिवर्तन गरेर देखाउछौं ।’
उपप्रमुखका उम्मेदवार भुसालले बेरोजगार युवालाई स्वरोजगार, शैक्षिक गुणस्तरमा वृद्धि, स्वास्थ्यमा सबै नागरिकको पहुच, घरघरमा खानेपानी सुविधा, सुन्दर सफा शहर सहित कृषि, पर्यटन, पूर्वाधार विकासमा नमूना काम गर्ने बताए ।
सन्धिखर्क नगरपालिका सहित जिल्ला ६ वटै स्थानीय तहमा गठबन्धनका उम्मेदवार लोकप्रिय उम्मेदवार भएकाले जित सुनिश्चित भएको कांग्रेस प्रचार विभाग प्रमुख सुर्यप्रसाद भुसालले बताए ।