मौरी भित्र मह क्रान्ति

53

वीरेन्द्र केसी

अर्घाखाँची — आफ्नै रफ्तारमा मौरी कोही घारभित्र, कोही बाहिर घाम तापेका थिए र केही रस बोकेर भित्र पस्दै थिए । घार खोलेर चाका निकाल्दा सबै मौरी तितरवितर भए । घारवरिपरि उडेका केही मौरी प्रतिकारमा उत्रिए ।

मह काढ्दै अर्घाखाँची ढिकुराको सुप्रकाश खनाल परिवार ।  तस्बिर : वीरेन्द्र/कान्तिपुर

भूमिकास्थान नगरपालिका ९ ढिकुराका सुप्रकाश खनाल मौरीको घार खोलेर महका चाका झिक्दै थिए । रिसाएर आक्रमणमा उत्रिएका मौरीले खनालका हात र मुखमा टोकिहाले । उनी महको चाकै छाडेर भागिहाले ।

जालीवाला टोपी लगाएर पूरै अनुहार छोपे । हातमा पञ्जा लगाए र कपडाको धूवाँ लगाइदिए । मौरी लुपुक्क बसे । त्यही मौकामा ९ वटा महका चाका झिकिहाले । एकैछिनमा खनालका शरीरमा टोकेका ठाउँ सुन्निए । चाका झिक्न साथ दिएकी खनालकी पत्नीका गालामा टोकिदिए । उनी आत्तिँदै दौडिन् ।

चाकाविहीन भएपछि मौरी घारवरिपरि कराउँदै घुमे । सबै चाकामा मह भरिभराउ थिए । झन्डै ५ किलो मह रहेछ । मेसिनबाट मह (रस) झिकेपछि खाली चाका पुन: घारमै राखिदिए । त्यसपछि मौरी अलि शान्त भए । ‘मह खान धेरैले मन पराउँछन् । खाँदा गुलियोसँगै स्वाद कति मीठो हुन्छ †’ सुप्रकाशका ८० वर्षीय बुबा कुलराजले भने, ‘यसले जिब्रोलाई मीठो मात्रै होइन स्वास्थ्यलाई समेत फाइदा गर्छ ।’

भाँडोमा राखिएको मह खानलाई सजिलो हुन्छ । तर, मौरीको गोलोभित्रबाट खोसेर ल्याउन त्यति सहज छैन । ‘मह झिक्न नजान्ने हो भने त जोखिम छ । मौरीले टोकेपछि त्यसको विषले मान्छे नै मर्न सक्छ,’ उनले भने ।

घारबाट मह झिक्ने समय कात्तिक, मंसिर र फागुन, चैत महिना हो । ६/७ महिनासम्म मौरीले जंगल तथा रूखका फूलमा पुगेर रस बोकेर ल्याउँछन् । दिनभर धेरै टाढा धाएर रस ल्याएपछि आफैं खान्छन् र बचेको चाकाभित्र सुरक्षित राख्छन् ।

‘हामीले खेतबारीमा अन्न उब्जनी गर्छौं,’ उनले भने, ‘कसैले पाक्दै गरेको र भित्र्याएको अन्न चोर्‍यो भने हामीलाई कस्तो हुन्छ, हो त्यस्तै मह चोर्दा मौरीलाई पनि रिस उठ्छ,’ उनले भने । ‘दु:ख गरेर संकलन गरेको रस मौरीले खाएर बढी भएको चाकामा बन्द गरेर सुरक्षित राख्छ,’ कुलराजले भने, ‘अल्छी र थकाइ लागेका बेला त्यसैलाई खान्छ ।’

छोरा (सुप्रकाश) ले चाका झिक्ने र उनले मह झार्ने काम गरे । ‘मह बेच्दा पैसा कमाइ हुन्छ, वास्तवमा हामीले अन्न भण्डार गरेर राखेजस्तै मौरीले पनि रस राखेको हुन्छ,’ उनले भने, ‘खोसेर खाइदिँदा उनीहरूलाई कति रिस उठको होला !’

२०३० सालदेखि मौरी पाल्दै आएका कुलराज अनुभवी छन् । मह चोर्दा रिसाएका मौरीले टोक्दा उल्टै मर्छ । २५ घारमा अहिले मौरी पालेका छन् । सबै आधुनिक घार छन् । एउटा घारबाट ५ किलोसम्म मह उत्पादन हुन्छ । वर्षमा ५ सय किलो मह सजिलै बेच्छन् । मह प्रतिकिलो १ हजार रुपैयाँमा घरबाटै बिक्री हुन्छ । यो पेसा उनले छोरालाई सिकाए । सुप्रकाश मौरीको गोलोबाट मह चोर्ने काममै भुले ।

मौरी पाल्न त्यति सहज छैन । घारमा बस्छ । आफू बसेको घार चित्त नबुझे गृह त्याग्ने गर्छ । धेरै भए मतभेद भएर विभाजन भएर जान्छन् । आफू बसेको घर उपयुक्त नठान्नु, धेरै संख्यामा रहेका मौरीबीच विवाद/मतभेद हुनु र घरभित्र अर्काे रानी (रानो) तयार हुनु । रानीबिना मौरी घारमा बस्दैन । घरमा रानी मर्‍यो भने मौरी जति छिन्नभिन्न भएर विभाजन हुन्छन् र मर्छन् । एउटै घारमा दुई वा बढी रानुकोट (राजा बस्ने ठाउँ) बनेपछि मौरीको घार फुट्ने भयो भन्ने किसानले बुझ्छन् ।

रानुकोट बनेको १७ दिनमा रानी तयार हुन्छ । १२/१४ दिनभित्रै विभाजित भएर गृहबाट बाहिरिन्छ । यसरी गृह छाडेर भाग्दा ठूलो संख्यामा घारवरिपरि एकछिन उठ्छन् । ‘भाग्दाभाग्दै पानीको फोहोरा र खरानीले हानेर नजिकै रूखमा बसाल्छौं र अर्काे घारमा राख्छौं । केही मौरी त भागिहाल्छन्,’ उनले भने ।

अर्काे घारभित्र पानी परेमा र असुरक्षित ठानेमा गृह त्याग गर्छ । अरिंगाल, बारुलोबाट मौरीलाई बचाउनुपर्छ । अरिंगालले घारभित्रै छिरेर मौरीलाई टोकेर मार्छ । सबैभन्दा चिन्ता उनलाई सल्लाका रूखको छ । ‘सल्ला अग्ला हुन्छन्, मौरी छिर्न सल्लाका पातले छेकिदिन्छ । पातमा ठोक्कियो भने मौरी मरिहाल्छ,’ उनले भने ।

वनभरि सल्लैसल्लाका रूख छन् । धेरै मौरी यही कारणले मर्ने उनले बताए । रस बोकेर घारतर्फ आउँदै गरेको मौरीलाई उडेर आउन निकै सकस हुन्छ । रात पर्‍यो भने ओडार, रूख, ढुंगाभित्र र सुरक्षित ठाउँमा बास बसेर अर्काे दिन बिहानै घाम लागेपछि रस बोकेर घारमा आउनेउनले बताए ।

आहारको पनि उत्तिकै चिन्ता छ । तोरी, फापर, लिची, चिउरी, मौसमलगायत फूल फुल्ने रूख र अमिलो जातका फलफूल मौरीका लागि उपयुक्त हुने उनले बताए । जति फूल फुल्ने रूख हुन्छन्, त्यति मौरीपालन क्षेत्र फस्टाउँछ । सुप्रकाशले मौरीपालनमै आफ्नो जीवन बिताउने बताए ।

मह बेचेर वर्षमा उनले ३ देखि ५ लाख रुपैयाँसम्म कमाइ गरेको बताए । ढिकुरा र धनचौर मह उत्पादनका गाउँ हुन् । धनचौरकी प्रमिला घमले ७ घार मौरी पालेकी छन् । मह बेचेर छोराछोरीको पढाइ र खर्च सजिलै पुगेको उनले बताइन् । ‘महबाट वर्षमा १ लाखजति आम्दानी भएको छ,’ उनले भनिन् । मौरीपालन क्षेत्रका रूपमा विकास गर्न नगरपालिका र सरकारले खरबारी र वनमा चिउरी खेती विस्तार गरिदिए मौरीपालन फस्टाउने ढिकुराका खिमप्रसाद मरासिनीले बताए ।

मह उत्पादनका हिसाबले अर्घाखाँची नेपालकै चौथो जिल्लामा पर्छ । ‘ढिकुरा, धनचौरलगायत क्षेत्रमा चिउरीका रूख संरक्षण, बिरुवा लगाउने र मौरीपालन क्षेत्रका रूपमा विकास गर्न बजेट छुट्याएका छौं,’ भूमिकास्थान नगर उपप्रमुख खडानन्द बेल्बासेले भने ।

आधुनिक घार वितरण, तालिमलगायतका कार्यक्रम रहेको उनले बताए । मुढे घारमा भन्दा आधुनिकमा तेब्बर मह उत्पादन हुन्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ७० लाख रुपैयाँको महको कारोबार हुन्छ ।प्रकाशित : मंसिर ११, २०७५ १०:३०  कान्तिपुर दैनिकबाट
SHARE