अर्घाखाँचीमा सरकारपिच्छे सडक

59

अर्घाखाँची — घरघरै सडक, टोलैपिच्छे गाडी । टोल–टोलमा गाडी पुगेपछि स्थानीयलाई सुविधा हुने नै भयो । सडककै कारण दैनिकीमा परिवर्तन पनि आइरहेकै छ ।

६ स्थानीय तहमा साना–ठूला गरी १ हजार ७ सय ५६ वटा सडक निर्माण भइरहेका छन् । त्यसका लागि मनग्गे बजेट छुट्याइएको छ । प्रदेश सरकारबाट ११ र संघबाट ८ वटा सडकका लागि बजेट परेको छ । केही नयाँ योजना छन् । विश्व बैंकको सहयोगमा ५ वटा सडक बनिरहेका छन् । तीनै तहको सरकारका आ–आफ्नै सडक छन् ।

प्रदेशले बजेट छुट्याएको पाल्पाको रामपुर–अर्घाखाँची हुँदै सल्यानको कपुरकोटसम्मको सडक मुख्य हो । यसलाई जीवराज आश्रित, कृष्ण सेन (इच्छुक) मार्ग नामकरण गरिएको छ । धेरै पहाडी जिल्ला समेट्ने यो सडकका लागि तत्काल ५ करोड रुपैयाँ छुट्याइएको छ । सन्धिखर्कनजिकै गच्छे–भालुबाङ सडकलाई ५ करोड र बाँकी ९ वटा सडकलाई एक करोड ३१ लाखका दरले बजेट पारिएको प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए । विगतमा निर्माण सुरु गरिएका सडक पूरा गर्न बजेट परेको हो ।

१० वर्षदेखि निर्माणाधीन सालझन्डी–अर्घाखाँची–ढोरपाटन सडक राष्ट्रियस्तरको बहुवर्षीय योजना हो । यसका लागि अहिले २३ करोड बजेट परेको छ । प्यूठानको ऐरावती–अर्घाखाँचीको जुकेना, हल्दे–डाँडाकटेरी–पाल्पा हुँदै तनहुँ जोड्ने र लुम्बिनी सर्किटअन्तर्गत तौलिहवा–गोरुसिंगे–सन्धिखर्क–तम्घास–पाल्पा सडक नयाँ हुन् । ‘अरू पुरानै सडकको निर्माण पूरा गरिँदै छ,’ पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले भने । नयाँ सडकले पहाडी जिल्लाको दूरी छोटो हुने र उत्पादन सहजै एक ठाउँबाट अर्काेमा पुग्ने उनले बताए । प्रदेशबीच सम्बन्ध गाँसिनेछ ।

सालझन्डी–ढोरपाटन सडकको ट्रयाक केही वर्षअघि खुलेको हो । डबल कटिङ गर्न, चौडा बनाउन, नाली काट्ने, वाल उठाउने र कजवे बनाउने काम भएको छ । केही ठाउँमा धमाधम पिच हुँदै छ । ‘यो पर्यटकीय सडक हो,’ रायमाझीले भने, ‘लुम्बिनी आएका पर्यटकलाई पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी ल्याएर घुमाई बागलुङको ढोरपाटन सिकार आरक्ष पुर्‍याएर त्यतैबाट पोखरा पठाउने लक्ष्य छ ।’

हिमाल, तराई र पहाड एकै दिन घुम्न सकिन्छ । जिल्लामा निर्माण भएका मुख्य सडक पिच गर्नका लागि पहल भइरहेको उनले बताए । प्रदेश सरकारको लगानीमा सुरु हुने रामपुर–कपुरकोट सडकले पहाडी जिल्लाका हिल स्टेसनसम्म पुग्न सहज हुने सांसद घिमिरेले बताए । ‘अन्तरजिल्ला जोड्ने भएकाले पर्यटकीय हिसाबले र उत्पादन आयात–निर्यात गर्न सहज हुन्छ,’ उनले भने ।

स्थानीय सरकारका आफ्नै सडक छन् । केही नयाँ टोल र बस्ती जोड्ने छन् । धेरै पुरानै सडकको स्तरोन्नतिका लागि बजेट छुट्याइएको छ । ‘स्थानीय सडक धेरै भए, अब कम गर्नुपर्छ,’ प्रदेश

सांसद घिमिरेले भने, ‘तीन नगर र तीन गाउँपालिकाका ६१ वडामा रहेका सडकलाई पिच गर्ने र नयाँ सडकको स्तरोन्नति गरेर मजबुत बनाउने हो ।’

शीतगंगा नगरपालिकाबाहेक पाँच स्थानीय तहमा बाह्रै महिना गाडी चल्छन् । भौगोलिक जटिलता र जंगल क्षेत्र धेरै भएकाले वर्षामा सडक खाल्डाखुल्डी पर्ने, पहिरोले बिगार्ने गर्छ । बाह्रै महिना गाडी चल्ने पालिकामा आवतजावत सुविधा मात्रै होइन, कृषि, खाद्य र पशुपालनमा वृद्धि पनि भएको छ । उत्पादित वस्तु अन्तरजिल्ला र सदरमुकाममा सहजै पुग्ने गर्छ । फलफूललगायत वस्तुलाई भण्डार गरेर राख्न कोल्ड स्टोरको आवश्यकता छ । प्रदेश सरकारबाट एउटा कोल्ड स्टोर बनाउन पाँच करोड बजेट आएको र थप बजेट पालिकाले राखेर बनाइने प्रदेश सांसद चेतनारायणआचार्यले बताए ।

गाउँमा किसानको घरबाट संकलन केन्द्रसम्म ल्याइपुर्‍याउन सडक चाहिन्छ । टोलैपिच्छेका सडक स्तरोन्नति गर्ने र नपुगेको बस्तीमा नयाँ सडक निर्माण गरेर सहजै आफ्नो उत्पादन संकलन स्थानसम्म गाडीमै लैजान सक्ने बनाएपछि कृषिप्रति आकर्षण बढ्ने पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।

पाणिनिबाट दूध, तरकारी र खसीबोका तानसेन र बुटवलसम्म निर्यात हुन्छ । ‘सडक, यातायात र अनुदान दिएर उत्पादन बढाउने हो,’ शीतगंगा नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘सडक र गाडी समृद्धिको आधार हो । संघ र प्रदेश सरकारले राष्ट्रियस्तरका सडक बनाऊन्, हामी स्थानीय स्तरका बनाउँछौं । हाम्रो बजेटबाट निर्माण भएका सडकले जीवनस्तर बदल्छन् ।’

गाडीले तरकारी, दूध, खसीबोका र मसला सहरमा लगिदिएपछि गाउँलेको जीवनस्तरमा परिवर्तन आएको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठले बताए । कृषिकर्मतिर रुचि राख्ने युवाको संख्या बढदो छ । पटैटी नियालीका शंकर घिमिरे वैदेशिक रोजगारमा थिए । पाँच वर्षदेखि उनी गाई पाल्न र दूध बेच्न व्यस्त छन् । ‘बस र जिपले हाम्रो दूध तानसेन लैजान थालेपछि म यतै बसेको छु,’ उनले भने, ‘गाउँमा गाडी चल्दा जीवन बदलियो । जति दूध, तरकारी र खसीबोका उत्पादन गरे पनि नबिक्ला भन्ने छैन ।’
SHARE