ठाडामा अब दुना–टपरी

138

अर्घाखाँची — वरिपरी तारबार गरिएको डमरु दह । एका छेउमा बगैंचा, अर्काेतिर सन्धिखर्क–गोरुसिंगे सहायक मार्ग । दक्षिणी क्षेत्रको केन्द्र शीतगंगा नगरपालिका–३ मा रहेको यो दह अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्छ ।

घर होस् वा होटल । दैनिक उत्र्सजन हुने सडेगलेका वस्तु र प्लास्टिक स्थानीय दहमाफ्याँक्छन् । सडक छेउको नाली र दह नजिक बजारमा यत्रतत्र प्लास्टिक भेटिन्छन् ।

दह फोहोर बनेपछि सफा र सुन्दर बनाउन शीतगंगा नगरपालिकाले बजार र स्थानीय बासिन्दालाई अब प्लास्टिक प्रयोग गर्न नदिने भएको छ । सामान ल्याउँदा र बेच्दा प्लास्टिकका थैली प्रयोग गरिन्छ । प्लास्टिकमुक्त बनाएर डमरु दहलाई सफा र सुन्दर पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले यस क्षेत्रका महिलालाई दुना– टपरी खुट्न सिकाएको छ ।

यस क्षेत्रको करिब ४ सय मिटरको दूरीमा अब प्लास्टिक देख्न पाइने छैन । त्यसका लागि दुना–टपरीको सुरुवात गरिएको हो । यस क्षेत्रका १७ जना महिलालाई तालिम दिएर दुना–टपरी बनाउन लगाइएको छ । दह वरिपरिका बजार र घरमा प्लास्टिकका साटो दुना–टपरी प्रयोगसँगै स्वरोजगर बनाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

‘सुपादेउरालीदेखि चक्लासम्म प्लास्टिक मुक्त क्षेत्र बनाउने लक्ष्य छ,’ नगर प्रमुख सूर्यप्रसाद अधिकारीले भने, ‘सुन्दर र सफा पार्ने हो । १२ दिन तालिम दिएका महिलाले दुना– टपरी उत्पादन गर्नेछन् । ती प्रयोग गराइन्छ । बाहिर बिक्री भएमा आम्दानी हुन्छ ।’

नगर क्षेत्रमा चिउरी र सालका प्रशस्त रूख छन् । सन्धिखर्क नगरपालिकासित समन्वय गरेर धार्मिक पर्यटकीयस्थल सुपादेउराली मन्दिरलाइ पनि प्लास्टिकमुक्त बनाएर टपरी प्रयोग गर्न पहल गर्ने शीतगंगा-३ का वडाध्यक्ष हेमनाथ भुसालले बताए । देउरालीमा दर्शन र घुम्ने आन्तरिक पर्यटकले डमरु दह अवलोकन गर्छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण डमरु दहलाई व्यवस्थित गरेर धेरै पर्यटकलाई अवलोकन गराउने लक्ष्य नगरको छ । डुंगा चलाउन नगरबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको छ, हिउँद/वर्षा पानीको सतह घटी–बढी हुने भएकाले हिउँदमा पानी ल्याएर दहमा राख्ने विषयमा छलफल अगाडि बढेको छ, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले भने ।

यस वर्ष टुना–टपरी बनाउन थालिएको छ । आउँदो वर्ष प्लास्टिक मुक्त क्षेत्र बनाइने उनले बताए । दह संरक्षणका लागि चुरे संरक्षणबाट १४ लाख रुपैयाँ बजेट माग गरिएको भण्डारीले बताए । नगरले स्थानीय सगरमाथा महिला सहकारी संस्थाका महिलालाई तालिम दिएको छ ।

‘दुना–टपरी बनाएर बजारमा बिक्री गर्ने र स्वरोजगार उन्मुख हुने खालले हामी अगाडि बढेका छौं,’ समूहकी अध्यक्ष लक्ष्मी बेल्बासेले भनिन् ।’ विवाह, पूजापाठलगायतका कार्यमा बजारका प्लास्टिकका थाल, गिलास, कचौराले नयाँ पुस्ताका युवतीले दुना टपरी खुट्न बिर्सेका छन् ।
SHARE